सुनको मूल्यमा नयाँ कीर्तिमान

देखिन छाड्यो निकुञ्जमा बाह्रसिंगे

चितवन – चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा राखिएको बाह्रसिंगे गतअसोज महिनादेखि देखिन छाडेको छ ।  निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अर्नासँगै रहेका बाह्रसिंगे खुल्ला खोरमा नभेटिएको हो । उहाँले भन्नुभयो “गत असोजदेखि खोरभित्र देखिएको छैन  । कतै झाडिमा लुकेको, बाघले खाएको वा खोर बाहिर भागेको भन्ने बारे एकिन हुन नसकेको  छैन । ”

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विसं २०७४ मा पाँच पोथी र दुई भाले गरी  सात बाह्रसिंगे स्थानान्तरण गरी यहाँ ल्याइएको थियो । ती मध्ये दुई पोथी ल्याउने वित्तिकै   र अन्य  चार  विभिन्न कारणले मरिसेका छन् । अर्नासँगै रहेको बाँकी रहेको एक  बाह्रसिंगे पनि लामो समयदेखि देखिन छाडेको हो । 

    तत्कालिन अवस्थामा कञ्जनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट यहाँ  ५ भाले सहित २५  बाह्रसिंगे ल्याउने योजना थियो । यहाँ ल्याए लगत्तै बाह्रसिंगे मरेपछि थप ल्यााउने काम रोकिएको थियो । निकुञ्जको पदमपुर क्षेत्रमा खुल्ला खोर निर्माण गरी अर्ना र बाह्रसिंगे राखिएको छ ।  सरकारले प्रजाती संरक्षण र विस्तारका लागि वन्यजन्तु स्थानान्तरण गर्दै आएको छ । यहाँ कोशीबाट अर्ना ल्याइएको छ भने यहाँका एकसिंगे गैंडा बर्दिया र शुक्लाफाँटा स्नानान्तरण गरिएको छ । 

रासस

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  १ : १६ बजे