भुईँको टिप्ने स्वार्थमा खल्तीको खसाल्दै माधव नेपाल 

विचारधारात्मक हिसाबले नेपालमा वामपन्थी विचारधाराको वर्चस्व रहेको छ । विश्व परिप्रेक्ष्यमा वामपन्थी आन्दोलन रक्षात्मक अवस्थामा हुदापनि नेपालमा वामपन्थीहरूको उपस्थिति २०४७ यता सडक वा सदनमा उल्लेख्य रहँदै आएको छ । २००६ साल वैशाख १० गते विदेशी भूमिमा पुष्पलाल श्रेष्ठ सहित पाँच जनाले गठन गरेको नेपाल कम्युनिस्ट पार्टी अहिले झन्डै एक दर्जन बढी पार्टीमा विभाजित छ ।

पार्टी स्थापना कालको एक वर्ष नबित्दै सुरु भएको राजनीतिक,सङ्गठनात्मक विवाद २०१७ साल पछि विभाजन र फुटको पर्याय बन्यो । व्यक्तिपिच्छेका समूहमा आक्रान्त कम्युनिस्ट आन्दोलन २०४७ सालमा जब नेकपा(एमाले) को गठन भयो त्यसपछि मात्र विभिन्न समूहहरू पार्टीमा विकास हुँदै आएका देखिन्छन् । रणनीति र कार्यनीतिक हिसाबले पनि एकमत हुन नसकेको कम्युनिष्ट आन्दोलन २०४७ साल यता मुलत दुई धारमा स्पष्ट विभाजन भएको देखिन्छ ।

 नेकपा(एमाले) ले अख्तियार गरेको शान्तिपूर्ण सङ्घर्षको कार्यनीति र नेकपा(माओवादी) ले अख्तियार गरेको दीर्घकालीन सशस्त्र विद्रोहको  कार्यनीति जुन कार्यनीतिका कारण यी दुई पार्टीको बिचमा एकले अर्कोलाई रूपान्तरण गर्ने प्रक्रिया लामै चल्यो । अन्ततोगत्वा २०५२ सालमा नेकपा माओवादीद्धारा सञ्चालित एक दशक लामो सशस्त्र विद्रोहको असफलता पश्चात् माओवादी पार्टी शान्ति सम्झौता गर्न बाध्यभयो ।

युद्ध शान्तिमा रूपान्तरण भइसके यता नेपालका सबै वामपन्थी दल नेकपा(एमाले)ले विकास गरेको जनताको बहुदलीय जनवाद र त्यसले अख्तियार गरेको शान्तिपूर्ण सङ्घर्षको र सहकार्यको बाटोमा यात्रा गरिरहेका छन् । पछिल्लो समयमा आउँदा वामपन्थी विचार बोक्नेहरूको भौतिक शरीर जहाँ र जुनसुकै पार्टीमा भए पनि वैचारिक हिसाबले सबै वामपन्थी दल नेकपा(एमाले) कै विचारको नजिक रहेको यथार्थता नेपालको छ । 

आत्म केन्द्रित सोच र माधव नेपाल
सिद्धान्त,सङ्गठन र नेतृत्वको उचित छनौट र व्यवस्थापनले मात्र आमजनताले पार्टीलाई देख्ने,बुझ्ने र अनुभूति हुने बनाउन सकिन्छ । जब पार्टीका कामहरू आम जनताका सरोकारका विषय बन्दछन् अनि मात्र त्यो पार्टी लोकतान्त्रिक पार्टी बन्न सक्छ ।

नेपालको सन्दर्भमा नेपाली कम्युनिस्ट आन्दोलन आमरुपमा देखिने बुझिने छ । तर पार्टीको शीर्ष तहमा बसेका नेताहरूको व्यवहार,स्वभाव र शैली अलोकतान्त्रिकता र जडतामा जगेडिएको देखिन्छ । लामो समय पार्टीको नेतृत्वमा रहिरहन अनेकन खालका प्रपञ्च गर्ने, आफू प्रमुख नेता नहुँदा कार्यकर्ता स्तरमा आफ्नै सहकर्मी विरुद्ध विष बमन गर्ने जस्ता क्रियाकलाप विगत देखि हुँदै आएका छन् । परिणाम स्वरूप नेपालको कम्युनिस्ट आन्दोलनमा थुप्रै टुटफुट र विभाजन भए र हुने सिलसिला जारी छ ।

२०४७ अघि विचार, दृष्टिकोण, परिस्थिति र परिबेसलाई हेर्ने कुराको विषलाई बहस गर्दै एकता र विभाजन हुँदै आएका नेपालका कम्युनिस्ट पार्टीहरू थिए भने अहिले व्यक्तिको  कुण्ठा,महत्त्वाकाङ्क्षा र पदको लालसाका कारण कम्युनिस्ट पार्टीमा विवाद हुने गरेको छ । 

नेकपा(एमाले) जसले पहल कदमी, प्रतिस्पर्धा र सामूहिक लोकतान्त्रिक अभ्यासबाट नेतृत्वको छनौट गर्ने प्रणाली अवलम्बन गर्दै आएको पार्टी हो । नेकपा(एमाले)का तत्कालीन पार्टी महासचिव मदन कुमार भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवाद(जवज)लाई मार्गदर्शक सिद्धान्तको रूपमा अङ्गीकार गर्दै आएको छ ।

कमरेड मदन भण्डारीको रहस्यमय दुर्घटनामा परि निधन भए पश्चात् कार्यवाहक महासचिवको जिम्मेवारी पाएका क.माधव नेपाललाई करिब पन्ध्र वर्ष प्रमुख नेताको भूमिका निर्वाह गर्ने अवसर प्राप्त हुदापनि पार्टीले गति लिन सकेन । कमरेड मदनको नेतृत्वमा निमार्ण भएको विशाल पार्टी माधव नेपाल नेतृत्वमा हुँदा बिस्तारै खुम्चिन सुरु भयो ।

फरक मत राख्ने नेता,कार्यकर्ता प्रति असहिष्णु माधव नेपाल नेतृत्वमा हुँदा कम्युनिस्ट आन्दोलनमा लामो इतिहास बोकेका धेरै नेताहरू भूमिका विहीन बन्न पुगेका थिए । सानो घेरा र व्यक्ति प्रशंसामा रमाउने व्यवहारका कारण माधव नेपाल पार्टी प्रमुख हुँदा धेरै नेताहरूले राजनीतिबाट नै विश्राम लिन बाध्य भएका थिए । माधव नेपालको व्यवहारका कारण २०५४ सालमा पार्टी विभाजन भयो र ठुलो कार्यकर्ता पङ्क्तिले पार्टी परित्याग समेत गरे जसले माओवादी आन्दोलनलाई बल पुगेको थियो ।   

२०५९ सालमा राजा ज्ञानेन्द्र शाहले चालेका निरङ्कुश कदम विरुद्धको आन्दोलनमा पार्टी पङ्क्तिलाई सही दिशानिर्देश गर्न नसेका कारण नेकपा एमाले ले न भाले न पोथीको आरोप खेप्नु पर्‍यो ।  परिस्थिति अनुसार दृष्टिकोण बनाउन नसक्ने र समयमा निर्णय दिन र लिन नसक्ने क्षमताको अभावका कारण क.माधव नेपाल नेतृत्वमा हुँदा एमाले ले धेरै क्षति बेहोर्नु परेको इतिहास छ । २०६४ सालको संविधान सभाको निर्वाचनमा पार्टीले लज्जास्पद परिणाममा चित्त बुझाउनु परेको थियो ।

समकालीन नेताहरू बिच खेल्न सिपालु स्वभावका कारण नेता बन्न सफल भए पनि पार्टीले कहिल्यै सफलता प्राप्त गर्न सकेन । २०५२ सालमा नेकपा माओवादीले तथाकथित जनयुद्धको नाममा सशस्त्र विद्रोह सुरु गरे देशभर नेकपा एमालेका कार्यकर्ताहरूको बीभत्स हत्या भयो । तर पार्टीले माओवादी पार्टीलाई हेर्ने दृष्टिकोण समयमा बनाउन नसक्दा धेरै एमालेका कार्यकर्ता ज्यान जोगाउन सशस्त्र विद्रोहमा सामेल भए जसका कारण एमालेका व्यवस्थित सङ्गठनहरू तहसनहस भएका थिए । 

२०६४ सालमा माधव कुमार नेपालले महासचिवबाट राजीनामा गरे पश्चात् कमरेड झलनाथ खनाल का.वा हुँदै निर्वाचित पार्टी अध्यक्ष सम्म पुग्दा २०७० सालमा संविधान सभाको दोस्रो पटक चुनाव भयो उक्त चुनावमा पार्टीले दोस्रो स्थान हासिल गर्‍यो ।

माधव नेपाल नेता हुँदा अस्तव्यस्त भएका पार्टी कमिटी र कार्यकर्तामा गिरेको मनोबल २०७० को चुनावको परिणाम पश्चात् मात्र कार्यकर्तामा उत्साह र सङ्गठनहरू पुर्न जीवित हुन सुरु गरेका थिए । २०७१ सालमा पार्टीको नवौँ महाधिवेशन सम्पन्न भयो । महाधिवेशनले कमरेड केपी ओलीलाई अध्यक्षमा विजय गरायो र कमरेड माधव नेपाल पराजय गरायो,तर माधव नेपालले आफुलाइ कहिल्यै पराजय भएको अध्यक्ष भन्दा पनि छाँया अध्यक्षको रूपमा पार्टीपंक्तिमा व्यवहार देखाउँदै आएको देखिन्छ ।

 पार्टीले गरेका निर्णयको विरुद्ध मिडियामा बोल्ने,नेतृत्वलाई चुनौती दिने र स्थानीय कमिटीहरूमा समेत आफ्ना प्रतिनिधि तयार पार्ने कामहरू लगातार हुँदै गरेका थिए । २०७२ सालमा पार्टी अध्यक्ष कमरेड केपी ओलीको नेतृत्वमा पार्टीले सरकारको नेतृत्व गरिरहँदा भारतको नाकाबन्दीको सामना गर्नु पर्‍यो । भारतको त्यो नाकाबन्दि विरुद्ध दृढतापूर्वक उभिँदै चीनसँग पारवहन सन्धि,भौतिक पूर्वाधार निर्माणमा तीव्रता र सङ्घीयताको कार्यान्वयन जस्ता महत्त्वपूर्ण कामले पार्टी र कमरेड केपी फलिको लोकप्रियता बढ्यो । 

परिणाम २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई पहिलो पार्टी बनायो । स्थानीय तहको निर्वाचनमा पार्टी पहिलो भएकोमा खुसी हुने भन्दा केपी फलिको व्यक्तित्व लोकप्रिय भएकोमा दुखी हुने आत्मा धेरै थिए र ती आत्माहरूको नेतृत्व गर्ने काम माधव कमरेड वाटै भएको थियो । 

नेकपा देखी एमाले पुनः स्थापना पश्चात् 
स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको अपार सफलता र नेकपा माओवादी केन्द्रको शर्मनाक पराजय पछि नेपालको राजनीति वृत्तमा प्रचण्ड रक्षात्मक स्थितिमा पुगेका थिए । राजनीतिक व्यापारीको उपमा पाएका प्रचण्ड आफू समेत जित्न सक्ने निर्वाचन क्षेत्रको सुनिश्चितता थिएन ।

सङ्घ र प्रदेशको चुनावमा पार्टीको अस्तित्व राख्नका निम्ति प्रचण्डका निम्ति हम्मे हम्मेको परिस्थिति निमार्ण भएको थियो । त्यहीँ परिस्थितिमा नेकपा एमालेसँग पार्टी विलय गराएर भए पनि प्रचण्ड सङ्घको माननीय हुने दाउ थियो ।

त्यसका निम्ति नेकपा एमालेका अध्यक्ष केपी ओली सँग मित्रताका निम्ति भित्रभित्र वातावरण तयार पारिरहेका थिए र उनी पहिलो भेटमै सूर्य चिन्हमा निर्वाचन लड्न तयार भएको कुराले पनि प्रचण्डको चुनाव जित्ने छट्पटि कति थियो भन्ने कुराको आकलन गर्न सकिन्छ । तर पछि नेपाली काँग्रेसले एमालेको भन्दा धेरै प्रतिशत दिने कुरा गर्दा सूर्य चिन्हमा चुनाव लड्ने सम्झौताबाट पछि हटेका थिए ।

परिणाम चुनावी तालमेल मात्र भयो र चुनाव चिन्ह आ आफ्नै पार्टीका गरी संयुक्त उम्मेदवारी सहित सङ्घ र प्रदेशको निर्वाचन सम्पन्न भयो । जसमा सूर्य चिन्ह लगेर लडेका उम्मेदवारहरू शतप्रतिशत जिते तर हँसिया हथौडा चिन्हबाट लडेका उम्मेदवार अधिकांश पराजित भए । जुन परिणामले पार्टी एकताका निम्ति वातावरण तयार पारेको थियो । साथै नेपालको राजनीतिमा जनर्मोचा र नेमकिपाको अवस्थामा पुगेको नेकपा माओवादी केन्द्रका निम्ति एमालेसँगको चुनावी तालमेलले जीवन बुटीको काम गर्‍यो ।

 नेकपा एमालेको सङ्गठन र सूर्य चिन्ह प्रतिको जनताको आस्था देखेर लोभिएका प्रचण्ड सजिलै पार्टी एकतामा सहमत भएका थिए ।  २०७५ ज्येष्ठ ३ गते पार्टी एकता भयो जुन एकता माधव नेपालले हृदय देखि स्वीकार गरेका थिएनन् र तत्काल एकताको विरोध गर्ने सामर्थ्य पनि थिएन ।

पार्टी एकताको एक वर्ष नबित्दै प्रचण्डमा भएको पदको महत्त्वाकाङ्क्षा र अस्थिर स्वभाव माधव नेपालका निम्ति केपी ओली ढाल्ने हतियार थिए भने माधव नेपाल भित्र रहेको केपी ओली प्रतिको कुण्ठा, ईर्ष्या र जलन प्रचण्डका निम्ति केपी ढाल्ने हतियार थिए ।  जुन हतियारहरू प्रयोग गरी केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष समेत वाट हटाउन ठुलो र्मोचागत विद्रोह भए । आफ्नै पार्टीको सरकार र पार्टी अध्यक्ष ढाल्न सड्क सदनमा गाई जात्राहरु भए जगलाई हँसाउने काम भयो । तर केपी फलिको दृढताका अगाडी सबै बेकम्मा र नाकमा साबित हुँदै आए ।  

२०७७ फागुन २८ गते सर्वोच्च अदालतको फैसलाले पूर्ववत् पार्टीको अस्तित्व पुनः जीवित गर्‍यो । एकता अघिका पार्टीहरू पुनः स्थापित हुँदा फर्किन चाहनेहरू फर्किन पनि सक्थे नफर्किन नचाहने नफर्किन पनि सक्ने त्यो व्यक्तिको इच्छामा निर्भर थियो ।

एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आ आफ्नो पार्टीको नेतृत्व गर्न साबिकका पार्टी फर्किए तर एमालेका वरिष्ठ नेता द्वयमा कहाँ जाने भन्ने कुराको अन्यौलता देखियो । एमाले हुन नसक्ने प्रचण्डलाई छाड्न नसक्ने रोगबाट ग्रस्त नेता द्वयको पहिलो काम एमालेको सङ्गठन भताभुङ्ग गर्ने र बिस्तारै प्रचण्ड करण हुने रणनीतिका साथ एमालेको किनारमा उभिएका थिए ।

त्यसका उदाहरण हुन बाग्मती प्रदेशमा भएको राष्ट्रिय सभाको निर्वाचनमा गरेको घात ,नेपाली काँग्रेसका सभापतिलाई प्रधानमन्त्री बनाउन २३ जनाले गरेको हस्ताक्षर प्रकरण र कर्णालीमा फ्लोर क्रस जस्ता अपराधले माधव नेपालको नियत के हो भन्ने कुरा प्रस्ट हुन्छ । एमाले कमजोर हुँदा मात्र आफू बलियो भइन्छ भन्ने मान्यताबाट ग्रसित माधव समूह अहिले तल देखि माथि सम्म हात धोएर लागेको देखिन्छ । 

निष्कर्ष
​​​​​​​नेकपा(एमाले)नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाह हो । जुन पार्टीसँग मार्क्सवादको नयाँ संस्करणको रूपमा विकास गरेको जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्त छ ।

इतिहासको कुनामा थन्किन बाध्य नेपालका वामपन्थीहरूका निम्ति जवज ले रक्षा जवजको काम गर्दै आएको सिद्धान्त हो । उग्रता र जडतामा रन्थनिएको नेपाली कम्युनिस्ट आन्दोलन जवज को विकास पछि नेपालमा फुल्न र फँकिन थालेको हो  ।

नेपालमा भएका सबै प्रगतिशील आन्दोलनहरूको नेतृत्व गर्दै आएको पार्टी एमाले हो । यस पार्टीको नेतृत्व तहमा बसी लामो समय काम गरेका माधव नेपाल र झलनाथ खनालमा देखिएको राजनीतिक विचलन व्यक्ति कुण्ठाको पराकाष्ठा बाहेक अन्य अरू केही होइन । आफू पार्टीको प्रमुख नेता हुँदा पार्टीलाई सही मार्गमा हिँडाउन नसक्ने अरू नेता हुँदा पार्टीले गरेको प्रगति सहन नसक्ने विकृत प्रवृत्ति नै मूल समस्याको कारक हो ।

नेकपा एमालेका विरुद्ध अहिले गरेका कामले नेता द्वयले विगतमा गरेका सबै कामहरू मेटिएका छन् । अथवा माधव समूहमा लागेका केही व्यक्ति अहिले भुँइको टिप्ने स्वार्थमा खल्तीको खसाल्दै छन् । जुन प्रवृत्तिलाई रामराम भन्नु बाहेक अरू केही भन्न सकिँदैन ।   

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  १ : ०३ बजे