साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बजेटले निजी क्षेत्रको मागलाई सम्बोधन गरेको छ : महासङ्घ

काठमाडौँ – नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आर्थिक वर्ष २०७८/७९ ले निजी क्षेत्रको मागलाई सम्बोधन गरेको बताएको छ ।

महासङ्घका अध्यक्ष नरेश कटुवालले सोमबार एक विज्ञप्ति जारी गरी बजेटले निजी क्षेत्रको मागलाई धेरै हदसम्म समेट्ने  प्रयास गरेको भन्दै बजेट समग्रमा सकारात्मक भएको बताउनुभयो । “बजेट समग्रमा राम्रो आए पनि यसको कार्यान्वयन पक्ष भने निकै चुनौतीपूर्ण छ, बजेट कार्यान्वयनमा सरकारले विशेष ध्यान दिनुपर्छ”, अध्यक्ष कटुवालले भन्नुभयो ।

कोभिड–१९ ले प्रभावित बजेटमा उल्लेख गरिएका व्यवसायीलाई आगामी आवमा तिनुपर्ने नवीकरण, इजाजत दस्तुर हटाउने, होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योगसरहको सुविधा उपलब्ध गराउने, ट्राभल र ट्रेकिङको प्याकेजमा मूल्य अभिवृद्धि कर हटाउने निर्णय बजेटका सकारात्मक पक्ष भएको महासङ्घले जनाएको छ । कोभिडबाट बढी प्रभावित २९ लाख लघु, घरेलु एवं साना व्यवसायीको नवीकरण शुल्क मिनाहादेखि आयकरमा समेत छुट दिनु राम्रो पक्ष भएको बताइएको छ ।
 
महासङ्घले आगामी आवका लागि नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले पनि बजेटमा भएका व्यवस्थालाई थप सहजीकरण गरी कोभिड–१९ ले सबै प्रकारका उद्योग व्यवसायलाई सम्बोधन गर्नुपर्ने मागसमेत गरेको छ ।

रासस

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ९ : २४ बजे