बाँके । कोरोना भाइरस सङ्क्रमणबाट पछिल्लो १२ घण्टामा बाँकेमा ६ जनाको मृत्यु भएको छ ।
सङ्क्रमित बिरामीहरूको उपचार भइरहेको भेरी अस्पतालमा तीन जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा तीन जना गरी थप ६ जना सङ्क्रमितको मृत्यु भएको हो ।
जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीका अनुसार मृत्यु हुनेहरूमा नारायण नगरपालिका–५ दैलेखका ६० वर्षीय पुरुष, राप्तीसोनारी–७ बाँकेका ५० वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–१२ का ८७ वर्षीय पुरुष, मध्यनेपाल–४ लमजुङका ३१ वर्षीय पुरुष हुनुहुन्छ ।
त्यस्तै उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका–७ दाङका ८३ वर्षीय पुरुष र घोडाघोडी नगरपालिका–१ कैलालीका ४० वर्षीया महिलाको समेत सङ्क्रमणकै कारण मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका २८६ जना र जिल्लाकै २९१ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार ११ : ३४ बजे
प्रतिक्रिया