साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

भकुण्डेबेशी । नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाको समन्वयमा नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । 

दुई वटा पालिकाले संयुक्तरुपमा नमोबुद्ध ४ मा सञ्चालन गरेको आइसोलेसन केन्द्रका लागि प्रारम्भ (सामाजिक संस्था)र आनी छोइङ डोल्मा फाउण्डेशनले आइतबार अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । 

आइसोलेसन केन्द्रका लागि दुई थान अक्सिजन कन्सन्ट्रेटर, २० थान पिपिई र पाँच थान पल्स अक्सीमिटर प्रदान गरिएको छ । 

सुप्रसिद्ध गायिका एवं समाजसेवी आनी छोइङ डोल्मा प्रारम्भ सामाजिक संस्थाकी अध्यक्ष एवं सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रीले नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी उप्रेती (बर्तौला)लाई संयुक्तरुपमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो । 

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै गायिका आनी छोइङ डोल्माले महामारीको यो समयमा साङ्केतिक रूपमै भए पनि केही सहयोग गरेर फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र कोरोनाबाट प्रभावित व्यक्तिहरूका लागि हौसला बढाउन खोजिएको बताउनुभयो । आफूहरूले गरेको सहयोगले केही व्यक्तिको जीवन जोगियो भने त्यो नै ठुलो कुरा भएको भन्दै उहाँले समस्या पर्दा विदेशी दाता गुहार्नेभन्दा आफ्नाहरूको लागि आफ्नैले सहयोग गर्नुपर्छ भन्ने भावना विकसित गर्न खोजेको बताउनुभयो ।  आफूहरू महामारी रोकथाम र नियन्त्रणको अभियानमा स्थानीय तहसँग साथै रहेको अनुभूति गराउन सहयोगको अभियान थालिएको उहाँको भनाई थियो ।

प्रारम्भका अध्यक्ष एवं सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रीले विपद् र महामारीको बेला रेडक्रसले सहयोगको कार्य गरिरहेको स्मरण गराउँदै नेपालको सन्दर्भमा सिंगापुर रेडक्रस पनि दुःखमा सारथि बन्ने प्रयत्न स्वरूप स्वास्थ्य सामग्रीसहित आएको बताउनुभयो । 

यस्तै रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी उप्रेती बर्तौलाले जनताको जीवन रक्षाका लागि विगतदेखि नै नमोबुद्ध र रोशीबीच सहकार्य हुँदै आएको र यस पटक पनि त्यसैको निरन्तरता स्वरूप संयुक्त आइसोलेसन सञ्चालन गरिएको बताउनुभयो । उहाँले आइसोलेसनका लागि प्राप्त स्वास्थ्य सामग्रीले कोभिड महामारी नियन्त्रण र रोकथामका लागि थप मद्दत पुगेको बताउनुभयो ।  

यस्तै नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले सीमित स्रोत र साधनका बाबजुद नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिका मिलेर संयुक्तरुपमा आइसोलेसन केन्द्र सञ्चालन गरेको र यसमा दाताहरूको सहयोगले ठुलो हौसला मिलेको बताउनुभयो । दाताहरूबाट प्राप्त स्वास्थ्य सामग्रीको भरपुर उपयोग गरेर जनताको जीवन रक्षाका लागि लागिपर्ने पनि उहाँको भनाई थियो । 

नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले पत्रकार महासङ्घ काभ्रे शाखाको समन्वयमा यसअघि पाँचखाल र भुम्लुको संयुक्त आइसोलेसन तथा बनेपा, धुलिखेल र पनौती नगरपालिकाको आइसोलेसनका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिएको बताउनुभयो । उहाँले प्रारम्भ (सामाजिक संस्था)र आनी छोइङ डोल्मा फाउण्डेसनबाट धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल र मेथिनकोट अस्पतालका लागि स्वास्थ्य उपकरणहरू सहयोग गर्न लागिएको जानकारी पनि दिनुभयो । 

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ७ : ०० बजे