सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

महिलाको राजनीतिक, सामाजिक तथा आर्थिक भूमिका थप प्रभावकारी हुँदै : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति बिद्यादेवी भण्डारीले नेपाली महिला दिदीबहिनीहरूको शिक्षा, स्वास्थ्य, सम्पत्ति माथिको स्वामित्व तथा श्रम सहभागितामा सकारात्मक परिवर्तन भएको बताउनु भएको छ ।

“महिलाको सुरक्षा र अधिकारः संकटकालीन व्यवस्थापन हाम्रो सरोकार” भन्ने नाराका साथ मनाउन लागिएको तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा एक शुभकामना जारी गर्नुृहुँदै राष्ट्रपति भण्डारीले महिला हिंसा अन्त्य गर्ने सम्बन्धमा सरकारबाट कानुनी तथा संरचनागत व्यवस्था भएको बताउनुभयो । 

उहाँले लैङ्गिक समानता तथा महिला अधिकार सुनिश्चित गर्न लामो समयदेखि भएका धेरै सङ्घर्षहरूलाई राष्ट्रिय दिवसले सम्मान र पहिचान प्रदान गरेको बताउनुभएको छ ।

“लैङ्गिक विभेदलाई अन्त्य गर्ने उद्देश्यका साथ सरकारले ल्याएको राष्ट्रिय लैङ्गिक समानता नीतिको प्रभावकारी कार्यान्वयनबाट समग्र लैङ्गिक उत्तरदायी शासन व्यवस्थाको विकासमार्फत महिला तथा किशोरीमाथि हुने सबै किसिमका हिंसा र विभेदको अन्त्य भई लैङ्गिक समानतायुक्त न्यायपूर्ण समाज निर्माण हुने अपेक्षा गरेको छु, ” राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गर्नुभएको छ । 

उहाँले महिलाको हक अधिकार सुनिश्चित गर्न संवैधानिक, कानुनी र संरचनागत व्यवस्थाहरू गरिए र तिनको कार्यान्वयन हुने क्रममा राज्यका निकाय तथा सार्वजनिक क्षेत्रमा महिलाको सहभागितामा उल्लेख्य वृद्धि भएको बताउनुभएको छ ।

राष्ट्रपति महिलाको राजनीतिक, सामाजिक तथा आर्थिक भूमिका थप प्रभावकारी हुँदै आएको उल्लेख गर्नु भएको छ ।   

महिलाको क्षमता, श्रम, सीप र सिर्जनालाई विकास प्रक्रियामा लगाई आत्मनिर्भर बनाउन, स्रोत, साधन र अवसरमा समान पहुँच स्थापित गर्न, निर्णय प्रक्रियामा सहभागिता अभिवृद्धि गर्न तथा आर्थिक सशक्तीकरणका माध्यमबाट महिलाको आर्थिक समृद्धि प्राप्त गर्न सरकारका नीति तथा कार्यक्रम अगाडि बढिरहेका बताउनुहुँदै उहाँले सन्देशमार्फत भन्नभयो, यसबाट महिलाको क्षमता र पहुँचमा वृद्धि भई उनीहरू थप क्षमतावान् र प्रतिस्पर्धी हुने कुरामा म विश्वस्त छु । 

उहाँले महिलाको हक अधिकार सुनिश्चित गर्न विभिन्न ढङ्गले योगदान गर्नुहुने सम्पूर्ण अग्रजहरूलाई स्मरण गर्दै धन्यवाद दिन समेत दिनुभएको छ । 

अन्त्यमा, यस दिवसबाट सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा नेपाली महिलाको सुरक्षा, सम्मान र हक अधिकार सुनिश्चित गरी लैङ्गिक समानतायुक्त राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भनी  उहाँले सन्देशमाफत शुभकामना व्यक्त गर्नुभएको छ । 

२०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले महिलाका  अधिकार सम्बन्धी महत्त्वपूर्ण ४ वटा ‘विशेष प्रस्ताव’पारित गरेको थियो । 

नेपाली महिलाको अधिकारलाई कानुनी संरचनाद्वारा सुनिश्चित गर्ने आधार संसद्बाट निर्माण गरिएको सोही दिनको स्मरण स्वरूप जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउन थालिएको  हो । 

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ७ : ३१ बजे