मार्फामा बढ्दै पर्यटक

बुढापाकालाई गाउँ रित्तिने चिन्ता

गणतन्त्रको संस्थागत विकासका लागि राष्ट्रिय एकता जरुरी छ : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी भएको बताउनुभएको छ । 

गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै  उहाँले संविधानअनुरुप ।राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन  भए मात्रै यसको औचित्य स्थापित हुने उल्लेख गर्नुभएको छ ।

शुभकामना सन्देशमा सभामुखले भन्नुभएको छ, “हामी एकातिर गणतन्त्र र संविधानमाथि आइपरेको संकट र अर्कातिर कोभिड–१९ महामारीबाट आक्रान्त छौंँ । यस विषम परिस्थितिमा अझ जिम्मेवारीबोधका साथ अगाडि बढ्नुपर्ने आवश्यकता पैदा भएको छ ।”     

उहाँले संविधानको मर्म र भावनानुसार अघि बढ्न, राष्ट्रहित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुँदै उद्देश्यप्रति समर्पित हुन सबैमा प्रेरणा मिलोस् भन्ने कामना पनि गर्नुभएको छ ।

गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध, १९ दिने जनान्दोलन एवं विभिन्न संघर्षमा प्राण उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै  सभामुखले घाइते, अपाङ्गता भएका तथा बेपत्ता योद्धाप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ ।  

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ६ : ३४ बजे