‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रहरी अझै छाङ्गरुमै

दार्चुला – गत वैशाखमै तिङ्कर सर्नुपर्ने नेपाल प्रहरी अझै व्यास गाउँपालिका–१ छाङ्गरुमै छ । विगतमा स्थानीयवासीको बसाइँसराइ (कुञ्चा) सर्नुभन्दा अगावै छाङ्गरुबाट तिङ्कर सर्दै आएका प्रहरी यस वर्ष भने जेठ दोस्रो सातासम्म छाङ्गरुमै बसेको छ । 

    व्यासका बासिन्दा गत वैशाख पहिलो साता सदरमुकाम खलङ्गाबाट कुञ्चा सरेका थिए । सदरमुकाम खलङ्गामा गर्मी बढेसँगै स्थानीयवासीको कुञ्चा छाङ्गरु र तिङ्कर उक्लिएका थियो । नेपाल प्रहरी यस वर्ष पहिलोपटक छाङ्गरुमै बाह्रैमास बसे पनि छाङ्गरुबाट तिङ्कर उक्लिन सकेको छैन । 

    गत मङ्सिरमा छायालेक तिङ्कर प्रहरी चौकी व्यासको छाङ्गरुमा झरेको थियो । तिङ्करमा बढी हिमपात हुने भएपछि सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीको टोली छाङ्गरु झरेको हो । अहिले तिङ्करमा स्थानीयवासी सरिसके तर प्रहरीमाथि उक्लिएका छैनन् । 

    जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्ट छाङ्गरुबाट नेपाल प्रहरी यसै साता तिङ्कर उक्लिने तयारीमा रहेको बताउनुहुन्छ । “पहिले नै सर्नुपर्ने हो”, उहाँले भन्नुभयो, “अझै पनि तयारीमै ढिलाइ भइरहेको छ ।” प्रहरीका लागि गत कात्तिकमा खाद्यान्न ढुवानी गरिएको थियो । त्यसयता त्यो क्षेत्रमा खाद्यान्न ढुवानी भएको छैन । कात्तिकमा प्रदेश सरकारले खाद्य संस्थानको चामल हेलिकोप्टरमार्फत ढुवानी गरेको हो । कात्तिकयता अहिलेसम्म सरकारले पनि खाद्यान्न ढुवानीमा चासो दिएको छैन । 

    प्रहरीले तिङ्कर र छाङ्गरुको सीतापुल प्रहरीका लागि खाद्यान्न तथा थप जनशक्ति पठाउने तयारी गरेको छ । “अहिले पनि कोरोनाका कारण व्यासको छाङ्गरु र तिङ्करसम्म खाद्यान्नलगायत सामग्री ढुवानीमै समस्या छ”, प्रहरी नायब उपरीक्षक भट्ट भन्नुहुन्छ, “अहिले भइरहेको कठिनाइबारे माथिल्लो निकायमा लेखापढी गरेका छौँ, तर निक्र्यौल भएको छैन ।”

    नेपालतिर जान चार दिन पैदल हिँड्नुपर्छ । बाटो राम्रो छैन । खाद्यान्न बोकेरै ढुवानी गर्न सकिने अवस्था नभएपछि प्रहरीलाई पठाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छायालेकमा प्रहरी नायब निरीक्षक हर्क महताको नेतृत्वमा १५ जनाको टोली पठाउने तयारी गरिए पनि अझै सीतापुलमा इन्चार्ज कसलाई पठाउने भन्ने टुङ्गिएको छैन । 

    नेपालतिरको बाटो अझै पनि हिँड्डुल गर्न लायकको छैन । छाङ्गरुको सीतापुलमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० जना खटाउने तयारी प्रहरीले गरेको छ । अहिले पनि हेलिकोप्टरमार्फत खाद्यान्नलगायत जनशक्ति पठाउन सकिन्छ कि भनेर प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक भट्ट बताउनुहुन्छ । 

    छाङ्गरुमा नेपाल प्रहरीको अत्याधुनिक भवन निर्माण हुने त्रिदेशीय सीमा नजीकै व्यास–१ छाङ्गरुमा नेपाल प्रहरीको पनि अत्याधुनिक सुविधासहितको भवन निर्माण हुने भएको छ । लामो समयदेखि जीर्ण भवनमा बस्दै आएका सीतापुल प्रहरीका लागि नयाँ अत्याधुनिक भवन निर्माण हुने भएको हो । 

    सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा आठकोठे सुविधासम्पन्न भवन निर्माण हुन लागेको नायब उपरीक्षक भट्टले बताउनुभयो । “भवनका लागि ठेक्का सम्झौता भइसकेको छ”, प्रहरी नायब उपरीक्षक भट्टले भन्नुभयो, “छिट्टै निर्माण व्यवसायीले काम शुरु गर्ला ।” 

    भवन निर्माणपछि जीर्ण भवनमा ड्युटी गर्दै आएका प्रहरीलाई राहत हुनेछ । यस वर्ष सशस्त्र प्रहरीको अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण शुरु भएपछि प्रहरीले पनि भवन निर्माण प्रक्रिया अघि बढाएको हो । सीतापुलमा निर्माण हुने भवनका लागि कूल रु दुई करोड तीन लाख लागतमा रोयल एलबी एन्ड एबी जेभी धनगढीसँग सम्झौता भएको छ । भवन निर्माणका लागि गत वैशाख १२ गते सम्झौता भइसकेको निर्माण व्यवसायी लालबहादुर बमले बताउनुभयो । दुई वर्षभित्र भवन निर्माण कार्य सक्नुपर्नेछ । 

    भवन निर्माणमा झण्डै ४० घनमिटर काठको प्रयोग गर्नुपर्नेछ । सशस्त्र प्रहरीको भवनको जस्तै डिजाइनमा नेपाल प्रहरीको भवन निर्माण हुन लागेको हो । भवनको भित्र ढुङ्गाको पर्खाल हुनेछ भने बाहिर सबै काठको प्रयोग हुने छ । निर्माण व्यवसायी बमले भन्नुभयो, “भवन निर्माण कार्य अघि बढाउने तयारी गरिएको छ ।”

    भवन निर्माणमा बढी काठको प्रयोग हुने भएपछि अनुमतिका लागि अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयसँग प्रक्रिया अघि बढाइएको छ । अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले पनि माथिल्लो निकायमा पठाउनुपर्ने भएका कारण अनुमति प्राप्त भएको छैन । काठको अनुमति आउने बित्तिकै निर्माण कार्य अघि बढाइने गरी तयारी थालिएको निर्माण व्यवसायी बम बताउनुहुन्छ । 

– नरेन्द्रसिह कार्की/रासस

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ५ : ५० बजे