साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सम्मानित संस्थाप्रतिको अपमान बन्द गर,विद्या भण्डारी नेपालीको शान र गौरव हुन

जब जब सरकारका विरोधीहरू, मुलुकमा यो वा त्यो नाममा राजनीतिक अस्थिरता निम्त्याउन चाहाँन्छन् , त्यति बेला नेपालको सम्मानित संस्थाहरूमाथि सिलसिलेवार प्रहार हुन्छ भनेर हामीले बुझ्नु पर्दछ । किनकि यो काम कसैको डिजाइनमा हुने गर्दछ । नेपालको सर्वोच्च संस्था भनेको राष्ट्रपति हो । नेपालको संविधान २०७२ को भाग ६ को धारा ६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था गरिएको छ । जसअनुसार राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुनेछ र निजको काम संविधान र सङ्घीय कानुन बमोजिम आफ्नो काम  सम्पादन गर्नु, राष्ट्रिय एकताको प्रवर्धन गर्नु र संविधानको पालन र संरक्षण गर्नु हुनेछ भनेर स्पष्ट व्यवस्था गरिएको छ । 

त्यस्तै धारा ६६ (२) अनुसार राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्दा कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानी व्यवस्था भएको काम बाहेक उहाँबाट गरिने अन्य जुनसुकै कार्य मन्त्रीपरिषद्को सिफारिस र सहमतिबाट मात्र हुने र यस्तो सिफारिस र सहमित  प्रधानमन्त्रीबाट पेश हुने व्यवस्था गरिएको छ । त्यसैले राष्ट्रपतिबाट भए गरेका जतिपनि राजकीय कामहरू छन्, ती सबै राष्ट्रपतिबाट मनलागि वा आफुखुसी हिसाबले गरिएका कार्यहरू होइनन् । उहाँले त संविधानले प्रदान गरेको आफ्नो भूमिकालाई अक्षरशः पालना गरेको मात्रै हो भनेर हामीले किन बुझ्न सकिरहेका छैनौ ? संविधान रचना वा निर्माण गर्ने मानिसहरूबाटै अर्थात् सरकारका विपक्षी दलका नेताहरूबाटै संविधानमा व्यवस्था गरिएको राष्ट्रपतिको भूमिका र कामलाई किन विवादित बनाउन खोजिरहेका छन् ? अहिले आम नागरिकहरूको बिचमा यो प्रश्न उठिरहेको छ । 

देशको सर्वोच्च पदमा दोस्रो कार्यकालकोरुपमा अहिले विद्यादेवी भण्डारी हुनुहुन्छ । तर जब जब मूलकमा राजनीतिक स्थिरता, विकास, सुशासन नचाहने शक्तिहरू हाबी हुन थाल्दछन् । त्यसपछि यो संस्थाको गरिमा र मर्यादा समेत भुलेर उहाँमाथि वैयक्तिक र राजनीतिक लाञ्छनाहरू लगाउन शुरु गरिन्छ ।

राजनीति बिग्रिएपछि मान्छे अराजक बन्छ र त्यो राजनीतिक अराजकता र अकर्मयताको अभिव्यक्तिको प्रहार सम्मानित राष्ट्रपति संस्था र त्यसमा अहिले बहालवाला विद्यादेवी भण्डारीमाथि हुन्छ, किन ?  गणतन्त्रको प्रतीककोरुपमा रहेको यो संस्थाप्रति र त्यसमा बहाल रहनु भएकी भण्डारीमाथि विरोधी दलका नेता कार्यकर्ताबाट बदनियतपुर्ण हिसाबले निरन्तर प्रहार हुन्छ, किन ? अहिले गणतन्त्र र यो संस्थाप्रति अगाध श्रद्धा व्यक्त गर्ने मानिसहरू प्रश्न गरिहरेका छन् र भनिरहेका छन्, राष्ट्रपतिमाथि गरिने यस्तो अराजक हर्कत र अपमान गर्ने काम बन्द गर । पदीय महत्वकाक्षा पुरा नहुँदा तिमीमा पलाएको कुण्ठाको अभिव्यक्ति गर्ने ठाउँ राष्ट्रपति संस्था होइन त्यस्तो अराजनीतिक काम बन्द गर । सक्छौ, जनताको मन जितेर त्यो ठाउँमा पुग, सक्दैनौ, यो संस्थालाई गाली गरेर । आफ्नो राजनीतिक उचाइ बढ्छ भन्ने कुत्सित कल्पनामा नरमाऊ । यदि त्यसो गरेनौ भने तिमीले आकाशतर्फ फर्केर थुकेको थुक तिम्रो अनुहार भरि हुनेछ । तिम्रो अनुहार भरी तिम्रै थुक देखेर आम जनताले तिम्रो अनुहारसँग घिन मान्नेछन् । 

केही केही मानिसहरू विद्यादेवी भण्डारीका बारेमा सतही टिप्पणी गर्दछन् । जननेता मदन कुमार भण्डारीकी धर्मपत्नी भएको नाताले उहाँ त्यो स्थानमा पुग्न सफल हुनुभएको भनेर । हो, यो पनि एउटा सत्य आधार हो, यसमा लुकाउनु पर्ने कुनै कारण छैन । २०१८ साल असार ५ गते भोजपुर जिल्लाको मानेभञ्याङमा जन्मिनु भएकी विद्यादेवी भण्डारीको यो भन्दा फरक आफ्नै राजनीतिक पृष्ठभूमि पनि  छ । विद्यार्थी जीवनदेखि नै नेपालको कम्युनिष्ट राजनीतिमा सक्रिय विद्यादेवी भण्डारी २०३७ सालमै महेन्द्र मोरङ बहुमुखी क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्वाचित हुँदा उहाँलाई आलोचना गर्ने धेरै मानिसहरू जन्मिएका पनि थिएनन् होला । यही राजनीतिक पृष्ठभूमिमा २०३९ सालमा मदन भण्डारीसँग भुमिगतरुपमा उहाँको विवाह सम्पन्न भएको थियो । २०३९ देखि २०४६ सालसम्म दुवै जनाको भूमिगत जीवनमा उहाँहरूले पार्टी, देश र जनताप्रति उठाएको जोखिमपूर्ण पहलकदमीका बारेमा कसैले अध्ययन गरेको छ ? त्यो समयमा मदन भण्डारीलाई त्यो राजनीतिक उचाइमा पुर्याउन उहाँले खेलेको त्याग र सर्मपणलाई कसैले बुझ्न कोसिस गरेको छ ? इतिहासको त्यो कठिन र कहालीलाग्दो समयमा सतिसाल बनेर उभिएका मदन र विद्याकाबारेमा अहिले त्यो बेला नजन्मिएका र जन्मिए पनि राजनीतिको क, ख नबुझेका मानिसहरूले उहाँको प्रतिष्ठा र त्यागकालाई नजर अन्दाज गरेर उहाँको अपमान गर्न उद्धत छन् । यो देखेर त्यो बेलाको इतिहास बुझ्ने मानिसहरू कति हाँस्छन होला ?

२०५० ज्येष्ठ ३ मा दासढुङगा दुर्घटनाको चोट विद्या भण्डारीकोलागि कस्तो थियो होला ? यो घटनाले उहाँलाई कति मर्माहत बनाएको थियो होला ? तरपनि उहाँले यो शोकलाई शक्तिमा बदल्नु भयो । २०५० सालमै काठमाडौँ क्षेत्र नं. १ मा भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका तत्कालीन सभापति र अन्तरिम सरकारका प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाई पराजित गर्नुभयो । त्यो विजयी सामान्य मानिकालागि कल्पनाभन्दा बाहिरको कुरा थियो । त्यसपछि २०५४ सालमा सम्पन्न छैटौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भण्डारी २०६५ मा भएको बुटवल महाधिवेशन र २०७१ मा काठमाडौं ‌मा सम्पन्न महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएर काम गरिसक्नु भएको छ । त्यस्तै उहाँले २ दशकभन्दा बढी आम नेपाली महिलाहरूको नेतृत्वदायी सङ्गठन अखिल नेपाल महिला सङ्घको अध्यक्षकोरुपमा कार्य सम्पन्न गरिसक्नु भएको छ । विद्यादेवी भण्डारी मुलुकको त्यो सर्वोच्च पदमा त्यतिकै पुग्नु भएको होइन, यो भन्दा पहिला पनि उहाँले जनसख्या तथा वातावरण मन्त्रालय र रक्षा मन्त्रालयको मन्त्रीको जिम्मेवारी पुरा गरिसक्नु भएको छ । 

विद्यादेवी भण्डारी नेपालको दोस्रो राष्ट्राध्यक्ष र नेपालको पहिलो महिला राष्ट्राध्यक्ष हुनुहुन्छ । राष्ट्रपति पदमा यो उहाँको दोस्रो कार्यकाल हो । मानिसहरू अहिले उहाँको पदलाई मात्र देख्छन्, तर उहाँले समग्र महिला आन्दोलन, नेपाली महिलाहरूको राजनीतिक रूपान्तरण र राज्यका हरेक संरचनामा महिलाहरूको ३३ प्रतिशतको राजनीतिक सुनिश्चितताकालागि गरेको योगदान किन विर्सन्छन ? उहाँले देशको सार्वभौकिताको रक्षा, नागरिकहरूको स्वतन्त्रताको सुनिश्चितता र देशमा शान्ति निर्माणमा खेलेको भूमिकालाई किन नजर अन्दाज गर्छन् ? आज उहाँ र त्यो सम्मानित संस्थाप्रति अपमानका शब्द खर्चिने अराजकहरूको भीडलाई आम नागरिकहरूको प्रश्न छ । विद्या भण्डारीबाट पार्टी र मुलुकप्रति गरिएको राजनीतिक त्याग र बलिदानका अगाडी जतिभए पनि तिमीहरू लिलिपुट नै साबित हुनेछौ । त्यसैले सक्छौ, उहाँको राजनीतिक बाटोको आत्मसात् गर, नसके उहाँलाई गाली र अपमान गरेर तिम्रो राजनीतिक उचाइ बनाउने दुष्प्रयास बन्द गर । उहाँलाई गाली गरेर तिमी केही समय आफ्नो इष्र्या र कुण्ठाहरूलाई शान्त त बनाउन सकौला, तर तिमी आम नागरिकहरूको नजरमा तल परिसकेका हुनेछौ । 

विद्यादेवी भण्डारीले नेपालको राष्ट्रपतिकोरुपमा अन्र्तराष्ट्रिय क्षेत्रमा खेलेको भूमिकाले नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा इज्जत र प्रतिष्ठा बढेको कुरा उहाँलाई अपमान गर्न उद्धत अराजकहरूको भीडले बुझ्न जरुरी छ । उहाँले अन्तर्राष्ट्रिय क्षेत्रमा खेलेको भूमिकाकै कारण उहाँलाई विश्व प्रसिद्ध पत्रिका फोर्सले विश्वका शक्तिशाली महिलाहरूको सूचिमा ५२ औँ स्थानमा राखेको थियो । नेपालको राष्ट्रपतिकोरुपमा देश र विदेशमा उहाँले खेलको भूमिकाकै कारण उहाँलाई त्यो सम्मान मिलेको हो भन्ने कुरा उहाँलाई अपमानका शब्दहरू खर्चिनेहरूले बुझ्नु पर्दछ । 

देशको राष्ट्राध्यक्ष हुनुको नाताले देश जब जब सङ्कटमा पर्छ, उहाँले आफ्नो अविभावकीय दायित्व निर्वाह गर्नु भएको छ । चाँहे त्यो नाकाबन्दीको वेला होस वा भूकम्प बाढी पहिरो जस्तो सङ्कटकालीन अवस्थामा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको छ । अहिले देश कोरोना महामारीमा छ, देशका प्रमुख राजनीतिक दलहरू सरकारमा पुग्न अनेक तानाबाना बुनिरहेका छन् । कोठे भेलादेखि अदालतका ढोकाहरू धाउने काममा उनीहरू लागि रहेका छन् । तर हाम्रो राष्ट्रपतिले दुवै छिमेकीहरूसँग संवाद गरी नेपालको कोरोना सङ्कटमा सहयोग गर्नु भएको छ । जसको कारण नेपालले चीनबाट १० लाख भ्याक्सिन प्राप्त गर्ने सुनिश्चित भएको छ । यसकालागि आम नागरिकहरूले राष्ट्रपतिज्यूप्रति सम्मान व्यक्त गरेका छन् । तर हरेक कुरामा अनेक तानाबाना बुनेर राष्ट्रपतिको अपमान गर्ने अराजकहरुले यो कामको पनि आलोचना गर्न बेर लाउँदैनन् । जब मान्छेमा विचार सकिन्छ, ऊसँग आलोचना बाहेक अरू केही बाँकी रहँदैन । अहिले हाम्रो सम्मानित संस्था र व्यक्तिमाथि गर्न खोजिएको आलोचना पनि त्यसैको उपज हो ।  तर उहाँप्रति औला उठाउनेहरूले बिर्सन नहुने तथ्य के हो भने झुण्टका पुलिन्दा जति बुने र प्रचार गरेपनि सत्य छोप्न सक्दैनौ ।  आफ्ना स्वार्थको रोटी सेक्नका लागि गरिएका भ्रमका खेतीहरु समयसँगै पानीका फोका बन्ने निश्चित नै छ । जनताको बीचबाट खारिएर आउनुभएको हाम्रो नेतृत्व, हाम्रो राष्ट्रपति जालीहरुले छरेका भ्रमबाट अलिकति पनि बचलित हुनुहुने छैन । बरु झन् झन् स्पात बन्नु नै हुनेछ ।  कुकुर भुक्दै गर्छ, हात्ती हिडदै गर्छ। विद्या भण्डारी नेपालको गौरव हुनुहुन्छ । हामी सबैको शान र अभिभावक हुनुहुन्छ । आफ्ना कुन्सित मनसायका लागि अनावश्यक भ्रम र झुट छर्न बन्द गर ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ५ : २१ बजे