सुनको मूल्यमा नयाँ कीर्तिमान

साढे दुई करोड नेपालीको पहुँचमा इन्टरनेट सेवा

काठमाडौँ – नेपालमा साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुुगेकोे छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो ।

प्राधिकरणको तथ्याङ्कअनुसार गत माघको तुलनामा फागुनमा नौ लाख ३६ हजारभन्दा बढी प्रयोगकर्ता थपिएका छन् । गत माघमा कूल दुई करोड ५४ लाख १९ हजार जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो ।

नेपालमा कूल जनसङ्ख्यामध्ये फागुन मसान्तसम्म ८७ दशमलव १९ प्रतिशत जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुगेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ ।

प्राधिकरणको तथ्याङ्कअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । फागुनसम्म मोबाइल इन्टरनेटको हिस्सा ६४ दशमलव ०८ प्रतिशत छ । एक करोड १५ लाख ६५ हजारभन्दा बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ । जसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ९० लाख ९४ हजार र एनसेलको २४ लाख ७० हजार रहेको जनाइएको छ । गत माघमा एक करोड १३ लाख ५१ हजार प्रयोगकता रहेकामा फागुनमा दुई लाखभन्दा बढी थ्रिजीका प्रयोेगकर्ता थपिएका छन् ।

त्यस्तै, फोरजीका प्रयोगकर्ता ७६ लाख ६८ हजार १८१ पुगेको छ । नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीन कम्पनी मध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलको रहेको छ ।

रासस

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  १२ : ३९ बजे