‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

 सिरोहिया प्रकरण: प्रेस स्वतन्त्रतामाथि प्रहार कि कीर्त्ते नागरिकताको छानबिन ?

काठमाडौँ।  कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष समेत रहनुभएका व्यापारी कैलाश सिरोहिया पक्राउ परेपछि अहिले एउटा विषय बहसमा आएको छ। उहाँको पक्राउ प्रेस स्वतन्त्रता माथिको आक्रमण  हो कि उहाँले कीर्त्ते गरी बनाएको नागरिकताका कारण हो?  कान्तिपुर पब्लिकेसनमा छापिएका समाचारलाई आधार मानेर उहाँ  माथि पक्राउ गरिएको हो कि? नागरिकता विषयमा ?

 अहिले प्रश्न उठ्छ मिडिया सञ्चालकले कानुन मान्नु पर्दैन? अदालत मान्नु पर्दैन? मिडिया चलाएकै आडमा  कुनै गल्ती गर्दा पनि उसलाई राज्यले कुनै विषयमा छानबिन गर्न पाउँदैन? यो प्रश्न पनि उत्तिकै उठेको छ।  

मङ्गलवार काठमाडौँको थापाथलीस्थित कान्तिपुर कार्यालय परिसरमा कर्मचारी र सिरोहिया परिवारका सदस्यको नाराबाजीबीच कैलाश सिरोहिया पक्राउ पर्नुभयो । धनुषा जिल्ला अदालतको आदेशपछि  प्रहरीले पक्राउ पुर्जी जारी गरेर  कार्यालय परिसरबाटै  पक्राउ गरेको हो । सिरोहियालाई  राति नै धनुषा लागि अदालती प्रक्रिया अगाडि बढाइसकिएको छ । यो घटना कानुनी प्रक्रिया अनुरूपकै भए पनि  यसबाट सिर्जित चर्चा र विश्लेषणको ज्वारभाटाले  भने सर्वत्र तरङ्ग ल्याइदिएको छ ।

नेपाली मिडिया क्षेत्रका चर्चित नाम तथा धनाढ्य व्यापारी कैलाश सिरोहिया किन पक्राउ पर्नुभयो भन्ने नै पेचिलो विषय हो । विशेषतः सिरोहियाको पक्राउलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग जोडिएकाले पनि अनेक अड्कलबाजी चलिरहेको छ । प्रहरीको दाबी र आधार हेर्ने हो भने कैलाश सिरोहिया अहिले दोहोरो नागरिकता लिएको आरोपमा अनुसन्धानका लागि पक्राउ पर्नु भएको हो । 

 जसले जति प्रेस स्वतन्त्रताको उल्लङ्घनको विषय बनाए पनि सिरोहिया पक्राउ पर्नुको मुख्य कारण कीर्त्ते नागरिकता प्रकरण भएको सरकारी निकायहरूले सार्बजनिक गरेका छन्  । प्रहरीले गरेको दाबी अनुसार सिरोहियाका पिता घाँसीराम मारवाडी अङ्गीकृत नागरिक हुनुहुन्छ । प्रहरीको दाबी अनुसार पिता अङ्गीकृत नागरिक भए पनि सिरोहियाले वंशजको नागरिकता लिनुभएको छ  र  उहाँले  कम्पनीपिच्छे अलग अलग नागरिकता नम्बर प्रयोग गर्नभएको छ । त्यस्तै सरकारले तयार गरेको अभियोजन अनुसार जन्म मितिको आधारमा १५ वर्षको उमेरमा उहाँले नागरिकता लिएको देखिन्छ । २०१९ सालको जन्म मिति भए पनि नागरिकता ऐन २०२० अनुसार वंशजको नागरिकता लिएको  पनि अभियोजनमा उल्लेख छ। 

सिरोहियाको नागरिकता नम्बर भनिएको नम्बरमा शिवाजी साहु तेलीको नाममा नागरिकता जारी भैसकेको रेकर्ड भेटिएको   प्रहरीले विवरण सार्बजनिक गरेको छ। 

उहाँका अन्य दाजुभाइहरूको नागरिकता अङ्गीकृत भेटिएको तर सिरोहियाको नागरिकता भने वंशज रहेको पाइएको छ। 

उहाँले नागरिकताको प्रतिलिपि लिँदा जिल्ला प्रशासन कार्यालय धनुषाको रेकर्डमा अधिकार प्राप्त अधिकारी हस्ताक्षर नपाइएको र उमेर पनि प्रस्टसँग नखुलाएको अभियोजनमा उल्लेख छ। प्रतिलिपि नागरिकतामा लेखिएको अङ्कको आकृति नसुहाउँदो रहेको र किर्तेको आशङ्का गरिएको दाबी पनि प्रहरीको छ।  

नागरिकता लिँदा पेस गर्नुपर्ने कागजको अभिलेख फेला नपरेकोले  प्रहरीले शङ्का गरेको भेटिएको छ। 

यी लगायतका विषयमा कैफियत देखिएको भन्दै मिडियामा लगातार समाचार आइ रहे पनि सिरोहिया मङ्गलवार मात्रै पक्राउमा पर्नुभएको हो । तर उहाँको पक्राउ कसैको ठाडो आदेशमा भन्दा पनि अदालतको आदेश अनुसार नै भएको प्रहरीले पेस गरेको कागजबाट पुष्टि हुन्छ । 

मङ्गलवार नै धनुषा प्रहरीले कैलाश सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यो खबर बाहिरिएसँगै सिरोहियाको दौडधूप सुरू भयो । मिडिया क्षेत्रको चर्चित व्यक्तित्व भएकाले सर्वोच्च अदालतमा पक्राउ पुर्जी विरूद्ध रिट निवेदन दर्ता देखि आफ्ना निकटतम र सहयोगीहरूको सम्पर्कमा सिरोहिया हुनुहुन्थ्यो । पक्राउ अघि नै कान्तिपुर कार्यालयमा बसेर उहाँले आफ्नो पक्राउ प्रतिशोधको कारण भएको लगायतका विषयमा भिडियो सन्देश समेत प्रवाह गर्नुभयो । अन्ततः साँझमा प्रहरीले थापाथलीबाटै सिरोहिया पूर्जीका आधारमा पक्राउ पर्नुभयो ।

सिरोहिया प्रकरणसँग जोडिएको राजनीतिक कनेक्सन

कैलाश सिरोहिया पक्राउ पर्ने पक्का भैसकेपछि यो खबर वायुको गतिमा फैलियो र राजनीतिक वृत्त समेत तरंगित भयो । नेपाली काँग्रेसका सांसदहरू सिरोहियालाई साथ दिन पालैपालो गरेर दिनभर कान्तिपुर कार्यालयमा पुगिरहे । सिरोहिया पक्राउ हुने बित्तिकै काँग्रेसका शीर्ष नेताहरूले यसलाई षड्यन्त्र र राजनीतिक प्रतिशोधको संज्ञा दिए । काँग्रेस नेता शेखर कोइरालाले फेसबुकमार्फत सिरोहिया पक्राउविरूद्ध कडा अभिव्यक्ति दिनुभयो । अन्य नेताहरू पनि यस्तै शैलीमा प्रतिक्रिया दिन व्यस्त भए । 

लोकतन्त्र माथि प्रहार कि कीर्त्ते प्रकरणको अनुसन्धान?

सिरोहिया पक्राउको चर्चा चलिरहँदा सबैभन्दा टड्कारो रूपमा  उठान भएको प्रश्न हो यो घटना लोकतन्त्रमाथिको प्रहार हो कि कीर्त्ते प्रकरणको अनुसन्धान ? 

सिरोहियाले मङ्गलवार देखि नै आफू विरूद्धको प्रहरी एक्सनलाई गृहमन्त्री रवि लामिछाने विरूद्ध सहकारी प्रकरणबारे छापिएको समाचारसँग जोड्नुभएको छ । समाचारको प्रवाह रोक्न आफूलाई गलत आरोपमा फसाइएको उहाँको जिकिर छ । आफूसँग जोडिएको मात्रै नभइ दुई ओटा पासपोर्ट लिनेमाथि पनि अनुसन्धान हुन्छ भन्दै उहाँले गृहमन्त्री रवि लामिछानेविरूद्ध आफ्नो भनाई निरन्तर राख्नुभयो । बुधबारका केही राष्ट्रिय दैनिकले प्रथम पृष्ठमा ’तथ्य डग्दैन कलम झुक्दैन’ भन्दै सोही सन्देश प्रवाह गरेका छन् । सामाजिक सञ्जालमा पनि यसबारे पक्ष विपक्षमा थुप्रै बहस जारी छ । 

एउटा कुरा सत्य के हो भने यतिबेला उपप्रधानमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको गम्भीर आरोप लागेको छ । कान्तिपुर मिडियाले अग्रपंक्तिमा यो विषयलाई सप्रमाण उठान गरिरहेको छ । यही समयमा सिरोहियाको पक्राउ हुँदा यो हदसम्म प्रश्न उठ्नु स्वाभाविक छ । गृहमन्त्री रवि लामिछाने विवादको शिखरमा पुगेकै बेला यो घटना नभएको भए पनि अवस्था फरक हुन सक्थ्यो । 

तर यही घटनाको महत्वपूर्ण अर्को पाटो के हो भने नागरिकता जस्तो गम्भीर सवालमा प्रश्न उठ्दा कैलाश सिरोहिया जस्तो अब्बल व्यापारीको प्रतिक्रिया फरक हुन सक्थ्यो । आफू विरूद्ध पक्राउ पुर्जी जारी भए पछि अनुसन्धानलाई सहयोग गर्न गिरफ्तारी दिएको भए यो घटना यति धेरै विवादित हुँदैनथ्यो । 

नेपाली उखान नै छ ’खाएको विष लाग्छ नखाएको लाग्दैन’ । नागरिकता कीर्त्ते प्रकरणमा सिरोहियाको कुनै गल्ती नभए यसमा आत्तिनु पर्ने विषय केही छैन । अझै पनि नेपालमा कानुनी राज्य छ । गृहमन्त्रीको एकलौटी चाहनामा सक्कली नागरिकतालाई नक्कली बनाउने ल्याकत कुनै निकायसँग छैन । 

तर आफ्नो पक्राउलाई लोकतन्त्रमाथिको प्रहार, स्वतन्त्र प्रेसविरूद्ध कदमको रूपमा व्याख्या गर्नु मुल विषयको विषयान्तर भन्नेहरू नै सही हुन् भन्ने देखिन्छ । यो कानुन भएको मुलुक हो, अनुसन्धान गर्ने प्रहरी छ । फैसला गर्ने तीन तहको अदालत छ । विधिको शासन भएको मुलुकमा एक जना व्यक्तिको पक्राउले लोकतन्त्रको खतरामा पर्छ त  ?

 

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  २ : २६ बजे