‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

‘सिरोहिया कोलाहलबाट’ टाढा ओलीको ‘सूर्योदय शुभप्रभात’

काठमाडौँ। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कीर्त्ते नागरिकता  प्रकरणमा  अदालतको आदेशले पक्राउ परेपछि त्यसको पक्ष र  विपक्षमा जनमत विभाजित देखिएको  छ। सिरोहिया प्रकरणलाई कतिपयले   प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भन्दै व्याख्या गरेका छन् भने कतिपय यसलाई कानुनी शासनको प्रक्रियाका रूपमा बुझिरहेका छन् । यस विषयमा  राजनीतिज्ञ देखि पत्रकार सम्मको कोकोहोलो चर्को रूपमा देखिएको छ।  

अदालतको कामकाजी प्रक्रियामा एमाले अध्यक्ष केपी शर्मा ओली भने सधैँ मौन बस्ने गर्नुभएको छ। उहाँ निकट  स्रोतका अनुसार अदालतको काम कारबाही वा निर्णय चित्त बुझे पनि नबुझे पनि उहाँ कानुनी राजको मर्यादा पालना गर्नुपर्छ भन्दै त्यस्ता विषयमा मौन बस्ने गर्नुहुन्छ। 

त्यही भएर आफू प्रधानमन्त्री हुँदा विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले परमादेश मार्फत ब्युउताउदा पनि खासै प्रतिक्रिया जनाउनु भएन।  फैसला प्रति उहाँको घुमाउरो  असन्तुष्टि बाहिर आए पनि अदालतलाई उहाँले तेजोवध हुने गरी कुनै प्रतिक्रिया दिनुभएको छैन । संसद्को अधिकार नै छिनेर परमादेश जारी गर्ने न्यायाधीशलाई   महाभियोग लगाउनुपर्छ भन्ने माग पार्टीमा जोडदार रूपमा उठे पनि  ओलीले त्यसलाई पनि बेवास्ता गर्नुभयो । लगतै  नेपाल बार एशोसियसनको टोली महाभियोग समेत  लगाउने मुद्दा लिएर उहाँ कोमा गयो। तर ओलीले त्यसलाई पनि  अस्वीकार गर्नुभयो। 

कैलाश सिरोहियालाई कीर्त्ते नागरिकता प्रकरणमा पक्राउ गरिएपछि प्रमुख प्रतिपक्ष काँग्रेसले त्यसलाई निहुँ बनाएर सरकार विरोधी नारा बनायो। काँग्रेसका सांसदहरू त उहाँ पक्राउ परेपछि त कान्तिपुरको कार्यालयमा गएर गोहीको आँसु सम्म चुहाउन भ्याए।  पत्रकार महासङ्घका नेताहरूलाई चुनाव लागेको छ। त्यसैले कान्तिपुरको मतको लोभले सिरोहियाको माया गरे। त्यसैले उनीहरूले भने –प्रेस स्वतन्त्रता हरण भयो। 

कान्तिपुरलाई समस्या प¥यो भने एकै छिनमा ‘सत्य डग्दैन, झुटो टिक्दैन’ भन्ने नारा तय हुन्छ। तर त्यही ठाउँमा अन्य मिडिया हाउस परेको भए सत्य टिक्थ्यो कि टिक्दैनथ्यो त्यो पहिलेदेखि नै थाहा भएको विषय हो। 

संसद्मा अवरोध गरेर जनताबाट डुब्न लागेको काँग्रेसलाई  सिरोहिया मुद्दा सिन्काको सहारा बनेको छ। प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा देखि यो गठबन्धन विरोधीहरू सबै एक ठाउँमा भएका छन् । अहिले हेर्दा लाग्छ सबैले सिरोहियालाई माया गरे। तर वास्तविक रूपमा यो सिरोहियाको मायाले भन्दा आफ्नो आफ्नो स्वार्थले सबैलाई पछि कुदाएको देखिन्छ। 

तर यो भीडमा एउटा गम्भीर नेता देखिनु भएको छ एमाले अध्यक्ष केपी ओली । अरु जस्तो उहाँ आफै न्यायाधीश भएर मिडिया हाउसमा पुग्नुभएन। यसको पक्ष र विपक्षमा प्रतिक्रिया दिने  होडबाजी जस्तै भइरहेको बेला अध्यक्ष मौन हुनुहुन्छ।  

 उहाँ दुई दिन देखि झापामा हुनुहुन्छ। यो अदालती प्रक्रियाको मुद्दा भएकोले तत्काल प्रतिक्रिया दिने पक्षमा हुनुहुन्न। उहाँले बुधवार बिहानै झापाबाट सामाजिक सञ्जालमा सूर्योदयको फोटो पोस्ट गर्दै यति मात्र  लेख्नुभएको छ  ‘ दमकबाट सबैलाई शुभ प्रभात !

राधिका र म हिजैदेखि झापाको घरमा छौँ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ११ : २७ बजे