‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

अबको एमाले विकास निर्माणको च्याम्पियन बन्नुपर्छ : ईश्वर पोखरेल

विराटनगर । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धामा गएपछि प्राप्त परिणाम स्वीकार नगर्ने छुट नभएको बताउनुभएको छ । उहाँले सर्वसम्मत रूपमा नेतृत्व छान्न सुझावसमेत दिनुभयो ।

शनिबार एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले सर्वसम्मत छनोट नभए प्रतिस्पर्धाबाट गरेपनि हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रतिस्पर्धामा गएपछि परिणाम स्वीकार गर्नुस् । त्यसपछि नाकनुक नगर्नुस् ।’

उहाँले जनसंगठनको किल्ला काँटी कस्नु पर्नेसमेत बताउनुभयो । उहाँले नेताहरूलाई अधिवेशनमा रेफ्रीको भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेताहरूले खेलाडी बन्न खोजे खबर गर्नुस् ।’ उहाँले पार्टी सदस्यको योजना ल्याएर मात्रै हुँदैन कति सदस्यता बनाउने हो ठोस योजना ल्याउनुपर्ने बताउनुभयो । उहाँले अधिवेशनको बन्द सत्रबाट ठोस योजना बनाउनुपर्ने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले अन्य पार्टीबाट एमालेमा आउन चाहनेहरुको लहर चलेको भन्दै अन्यत्रबाट आएकाहरूको बिल्लिबाठ बनाउन नहुने बताउनुभयो । उहाँले आउनेको अभिलेख राख्दै उचित जिम्मेवारी दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले यसका लागि पार्टीले ठोस योजना बनाउनुपर्ने बताउनुभयो । उहाँले अबको एमाले विकास निर्माणको च्याम्पियन बन्नुपर्नेसमेत बताउनुभयो । कहाँ बाटो बनाउने ? कहाँ खानेपानी ल्याउने ? कहाँ जेष्ठ नागरिकका लागि भवन बनाउने भन्ने योजना एमालेसँग हुनुपर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब एमालेले विकासको नेतृत्व गर्ने हुनुपर्छ । अब हिजोको जेल बसेको कथा हालेर एमाले एमाले हुन सक्दैन् । जनताले वर्तमानको योजना ल्याउन नसक्नेलाई विश्वास गर्दैनन् ।’

उहाँले एमालेका कमिटीका बैठकहरूमा विकासका योजना बनाउनुपर्ने बताउनुभयो । जनताको जिन्दगीलाई परिवर्तन हुने कुरा नगरे जनताको पार्टी नहुने वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाई छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ५ : ०४ बजे