सिरहा। मिर्चैयास्थित श्री ब्रम्हचारी दामोदरानन्द कलेजका प्रमुख सञ्जय साहले उपचार खर्च बापत क्याम्पसको खाताबाट २४ लाख रकम लिएको खुलासा भएको छ । क्याम्पस प्रमुख साहले आफू अस्वस्थ भएको र उपचार गराउन आवश्यक रहेको भन्दै क्याम्पसको व्यवस्थापन समितिबाट निर्णय गराई सो परिमाणमा रकम निकासा लिएको सूत्रहरूले जानकारी दिएका छन् ।
व्यवस्थापन समितिका सदस्य कामेस्वर साफी भन्छन् उपचार खर्च लिइएको कुरा पारदर्शी गरिएको छैन । व्यवस्थापन समितिको निर्णय पनि गोप्य राखिएको छ । म व्यवस्थापन समितिमा प्रवेश गरेको धेरै समय भएको छैन । तर मैले पनि थाहा पाएको छु , क्याम्पस प्रमुखले उपचार खर्च बापत ठुलो धनराशि निकासा लिएका छन् । रकम कति हो –म ठोकुवा चाहिँ गर्न सक्दिन ।
कलेजमा व्यवस्थापन समितिको अध्यक्ष पदमा क्याम्पस प्रमुख साहका मामा मधुरी साह थिए । पछि मधुरी साहका छोरा कृष्णा साह क्याम्पसका अध्यक्ष बनेका छन् । साह परिवार जग्गा दाता भएका कारण उनको परिवारका धेरै जना क्याम्पसको विभिन्न पदमा आसीन छन् । आफ्नै मामाका छोरा अध्यक्ष भएका कारण क्याम्पस प्रमुख साहले २४ लाख उपचार खर्च बापत झिक्न सफल भएका छन् । मामाका छोरा अध्यक्ष र आफू क्याम्पस प्रमुख भएका कारण नियम मिचेर धेरै काम गरिएको स्थानीयहरूको आरोप छ । ब्रम्हचारी दामोदरानन्द कलेजलाई मिर्चैयामा “मामा भान्जा” कलेज भन्न थालिएको छ ।
मिर्चैयाका नेकपा माओवादी केन्द्रका नेता दिलीप साह भन्छन् ‘क्याम्पस प्रमुखलाई २४ लाख रकम उपचार खर्च दिइनु अस्वाभाविक हो । उनले भने यसलाई तत्काल पारदर्शी गरिनु पर्छ , सत्य तथ्य बाहिर ल्याइनु पर्छ । छानबिन हुनुपर्छ ।झ्
मिर्चैयाका नेपाली काँग्रेसका नेता धनेस्वर यादव भन्छन् अभिभावकले गाँस काटेर शुल्क तिरेको रकमबाट क्याम्पस प्रमुखलाई २४ लाख उपचार खर्च दिइएको हो भने यो सिधै भ्रष्टाचार हो । यसको छानबिन हुनुपर्छ । क्याम्पसको विधानमा क्याम्पस प्रमुखलाई उपचार खर्च दिने प्रबन्ध नै छैन । नेपाल सरकारको कुनै आर्थिक ऐन नियमले पनि यति धेरै रकम उपचार खर्च दिन मिल्दैन । आफ्नो उपचार खर्च आफैले तिर्नुपर्छ ।
यस सम्बन्धमा क्याम्पस प्रमुख साहसँग जिज्ञासा राख्दा उनले यतिउति रकम नखुलाए पनि आफूले उपचार खर्च लिएको स्वीकार गरेका छन् । साहले भने नियमानुसार विधानसम्मत तरिकाले व्यवस्थापन समितिबाट निर्णय गराई उपचार खर्च लिएको छु । कतिपय रकम पछि कट्टा हुने गरी लिएको उनले बताए । उपचार खर्च बापत कति रकम लिनुभएको हो , खुलाउन आग्रह गर्दा पनि उनले भन्न चाहेनन् ।
प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार ३ : २९ बजे
प्रतिक्रिया