संसद् अवरोध खुलाउन शीर्ष तीन नेता र सभामुखबीच  छलफल जारी 

काठमाडौँ। संसद्को जारी अवरोध खुलाउन मुख्य तीन दलका शीर्ष नेता र सभामुखबीच छलफल जारी छ। 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र सभामुख  देवराज घिमिरे सहभागी हुनुहुन्छ। 

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसद्को अवरोधलाई जारी राख्ने भएको छ । सहकारी प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको भन्दै काँग्रेसले सदनमा अवरोध जारी राख्ने भएको हो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र सहकारीबारे छानबिन गर्ने प्रस्ताव राखे पनि काँग्रेसले अस्वीकार गरेको बताइएको छ । काँग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएकोले संसदीय छानबिन समिति गठनको अडान राखेको छ ।

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सत्तापक्ष सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनमा तयार नदेखिएको बताउनुभयो । काँग्रेस सचेतक सुशीला थिङका अनुसार अहिलेसम्म कुनै पनि सहमति भएको छैन। संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध हुने भएको छ ।

यस अघि आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सहमतिको प्रयास जारी रहेको भन्दै अपराह्न ४ बजेका लागि सारिएको थियो । तर शीर्ष नेता छलफल जारी रहेकोले  संसद् अवरोध हट्ने विषयमा कुनै निष्कर्षमा नपुगेको बताइएको छ। 

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ५ : २३ बजे