एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । 

दिउँसो १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले बताउनुभयो । बैठकमा सरकारको नीति तथा कार्यक्रम र  समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

मंगलबार संघीय संसद्का दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण संसद्ले धन्यवाद प्रस्तावसमेत पारित गर्न पाएन ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान हुनुपर्ने र त्यसका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले छानबिन समिति गठन गर्न आवश्यक नभएको भन्दै अडान लिँदै आउनुभएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ११ : २८ बजे