उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्त्याएर निकाल्थे : माधव नेपाल

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले उपेन्द्र यादवले  राजीनामा नदिएको भए गलहत्त्याएर निकाल्ने षडयन्त्रसम्म भएको ठोकुवा गरेका छन् ।
मंगलबार ललितपुरमा केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन लम्बाउन नै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित गराइएको दाबी गरे  ।  

अहिलेको गठबन्धन लम्बाउन पार्टी विभाजनसम्मको कसरत भएको उनले बताए ।   सबै पार्टीभित्र अन्तरविरोध गरेर गठबन्धनमा आफ्नो शक्ति स्थापित गर्न खोज्ने प्रयास भएको उनले बताए ।  उनले आफ्नो पार्टीका सन्दर्भमा पनि फुटको हल्ला चलाइएको भन्दै त्यसमा कुनै सत्यता नरहेको धारणा राखे । 

उनले राष्ट्रिय राजनीतिमा अहिले नै के हुन्छ भन्ने निश्चित नरहेको अवस्थामा सबै विषयलाई गम्भीरतापूर्वक हेर्नुपर्ने जिकिर गरे । मुलुकको राजनीतिक घटनाक्रमहरू आफूहरूले पत्रपत्रिकाबाट जानकारी पाउनुपर्ने अवस्था आएको भन्दै अध्यक्ष नेपालले आफ्नो पार्टीलाई वेवास्ता गर्ने सोच्नुपर्ने अवस्था रहेको उल्लेख गरे।

नेकपा एकीकृत समाजवादीको दुई दिनसम्म चल्ने  केन्द्रीय कमिटी बैठकले महाधिवेशनमा पेश हुने विभिन्न चारवटा दस्तावेजमाथि छलफल गर्दै पारित गर्ने तयारी गरेको छ । 

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  २ : ३५ बजे