काठमाडौ । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ मंगलबार हुने भएको छ । उच्च अदालत पाटनमा आजका लागि मुद्दाको पेशी तोकिएको हो ।
यसअघि गत वैशाख २३ गतेको पेसी सूचीमा चढे पनि हेर्न नमिल्नेमा परेको थियो ।
काठमाडौं जिल्ला अदालतले सन्दीपले जबर्जस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिबाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो ।
न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले गएको फागुन १० गते पुनरावेदन गरेका थिए । काठमाडौं जिल्ला अदालतले गौशाला २६ लाई बालिग ठहर गरेको तथा सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन गरेको छ ।
दुवै मुद्दामा यसअघि नै एकसाथ सुनुवाइ सुरु भइसकेको छ । उच्च अदातलले सन्दीपका विपक्षमा सरकारी वकिलले लिएको दाबीअनुसार आदेश गरेमा उनलाई १२ वर्षभन्दा बढी जेल सजाय हुनेछ । उनले लिएको मागदाबीअनुसार फैसला भएमा भने सन्दीप अभियोगमुक्त हुनेछन् ।
तर, उच्च अदालतले जिल्ला अदालतको फैसला जस्ताको तस्तै सदर गरिदिएमा सन्दीपले आठ वर्ष पुर्पक्षको अवधि कटाएर पूरा समय जेल बस्नुपर्नेछ । जिल्ला अदालतको आदेश सदर भएमा सन्दीपले सर्वोच्चमा पुनरावेदन गर्दा समेत थुनामा बसेरै गर्नुपर्नेछ ।
प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार ९ : ०६ बजे
प्रतिक्रिया