सुदूरपश्चिम सरकार जोगाउन कोशीमा एसको ‘यु टर्न’ 

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई  विश्वासको मत  नदिने निर्णय गरेको नेकपा एस सोमबार अचानक परिवर्तन भएको छ। सो पार्टीले अघिल्लो निर्णय परिवर्तन गर्दै कोशीमा मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन लागेको हो । कोशीमा एसले विश्वासको मत नदिए पनि काकीको पक्षमा सजिलै बहुमत पुग्छ । तर एसले कोशीमा मत नदिए सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिने मनस्थिति बनाएपछि एस बाध्य भएर परिवर्तन भएको एक नेताले बताए। सुदूरपश्चिममा सरकार जोगाउन एसले कोशीमा कार्कीलाई मतदान गर्ने निर्णय गरेको बताइएको छ। कोशीमा केन्द्रीय सत्ता गठबन्धनमा रहेका सबै दलले विश्वासको मत दिने भएका छन् ।

एमाले र माओवादीका प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनु भएका कार्कीलाई एकीकृत समाजवादी र जसपाले समेत मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने भएका छन् ।

कोशी प्रदेश नयाँ सरकार गठनको प्रक्रियामा सामेल नगराइएको भन्दै असन्तुष्ट रहेका एकीकृत समाजवादी संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले मुख्यमन्त्री कार्कीलाई आफ्नो पार्टीले विश्वासको मत दिने बताउनुभयो ।

उहाँले  आफू काठमाडौँमा रहेकाले सभामा उपस्थित हुन नसके पनि दलको तर्फबाट विश्वासको मत दिने जानकारी दिनुभयो । उहाँले  भने आफू नआए पनि बहुमत पुग्ने भएकाले कामका कारण विश्वासको मत दिन आफू भने अनुपस्थित रहने बताउनुभयो  । 

यस्तै, जसपा नेपाले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने बताएका छ । प्रदेश सभा सदस्यमा एक सिट रहेको जनता समाजवादी नेपालकी निर्मला लिम्बुले आफू पार्टीको बफादार सिपाही भएकाले पार्टीको निर्देशन अनुसार विश्वासको मत दिने बताउनुभयो  ।

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने तयारी गर्नुभएको  छ  । संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्री कार्कीले उपधारा ४ अनुसार विश्वासको मत लिन लाग्नुभएको हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा कार्की वैशाख २७ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रदेशसभामा एमालेका उप सभामुख सहित ४०, काँग्रेसका २९, माओवादीका १३, सभामुख सहित राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपा नेपालको १ सांसद रहेका छन् ।कोशी प्रदेशमा बहुमत पुर्‍याउन ४७ प्रदेश सभा सदस्यको आवश्यकता पर्दछ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १० : ५० बजे