दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

हिम्मत गरेर  राज्य संयन्त्रलाई सच्याउन अर्थमन्त्रीलाई सरोकारवालाको सुझाव 

काठमाडौं ।  ​​​​​​​आगामी आर्थिक वर्ष २०८१/२०८२ को बजेट निर्माणमा जुटेका अर्थमन्त्री वर्षमान पुन तथा अर्थ प्रशासकलाई सरोकारवालाले राज्य संयन्त्रलाई सच्याउने सही समय आएकामा अब हिम्मत गरेर काम सुधार गर्न सुझाव दिएका छन् । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बिहीबार आयोजना गरेको ‘प्रि–बजेट राउण्ड टेबल’ कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रमुख, अर्थविज्ञ, प्राध्यापक तथा सरोकारवालाले सो सुझाव दिएका हुन् । 

अर्थविद् प्रा.डा.अच्युत वाग्लेले राजनीतिक क्रान्ति गरेर आएका अर्थमन्त्री र उनको टीमसमक्ष अब राज्य संयन्त्रमा रहेका समस्या हटाउन ठुलो सुधारको हिम्मत चाहिएको बताएका छन् । 

विगतमा जति पनि विकासका काम भएका थिए, ती बोल्ड डिसिजनकै कारण सम्भव भएको भन्दै उनले सुधारका लागि निर्णायक समय आएको बताए । 

उनले यसमा प्रत्यक्ष कर तिर्ने वातावरण बनाउनु पर्ने तथा भन्सार घोषणामा रहेका कमजोरी हटाउँदा मात्र पनि डेढ खर्ब भन्दा बढी राजस्व चुहावट रोकिने उनले बताए । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभाग प्रमुख रेशम थापाले बजेट बनाउँदा तल्लो सरकारहरूलाई बिर्सन नहुने बताए । 

उनले पालिका उपाध्यक्षहरूको कार्यालय प्रभावकारी हुने हो भने त्यसले समग्र अर्थतन्त्रमा व्यापक परिवर्तन आउने बताए । ठुलो बजेट बनाउन नहुने भन्दै उनले सेवा व्यापारमा आएको नयाँ आयातबाट फाइदा लिनुपर्ने धारणा राखे । अर्थविद् विश्वास गौचनले संरचनात्मक सुधार नगरेसम्म हरेक वर्ष आउने बजेटले आमूल परिवर्तन ल्याउन नसक्ने बताए । 

छलफलमा निजी क्षेत्रका तर्फबाट भने सुस्ताएको अर्थतन्त्रलाई माथि उकास्नु पर्ने र गुमेको आत्मविश्वास फिर्ता ल्याउनुपर्ने आवश्यकतामा जोड दिइयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नयाँ बजेटले निजी क्षेत्रका अपेक्षा पुरा गर्ने आश गरिएको बताए । अहिले बजारमा माग र आपूर्ति कम हुँदा हरेक क्षेत्र सुस्ताएको भन्दै उनले कम्तीमा एक सय जनालाई रोजगारी दिने उद्योगलाई विशेष सुविधा ल्याउनु पर्ने बताए । आफ्नो काम देखाउन सरकारी एजेन्सीले निजी क्षेत्रलाई दुख दिइरहेको उनको गुनासो छ ।

नेपाल उद्योग परिसघका अध्यक्ष राजेश कुमार अग्रवालले नेपालले आगामी आर्थिक वर्षमा कोभिड अगाडीका नीतिहरू पुनः फर्काउनु पर्ने आवश्यकता रहेको बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आर्थिक शिथिलता अन्त्य गर्ने खालको बजेट आवश्यक रहेको बताए । निजी क्षेत्रको मनोबल माथि नउठेसम्म सरकार समेत सफल हुन नसक्ने उनको भनाइ छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैङ्कमा लगानीयोग्य रकम थुप्रिने तर अर्थतन्त्र चलायमान नहुने अवस्थाले लगानीकर्तामा आत्मबल नभएको संकेत गर्ने बताए । बैङ्क तथा वित्तीय संस्था परिसंघ (सीबीफिन)का अध्यक्ष उपेन्द्र पौडेलले अहिलेका विद्यार्थीले मुलुक भित्र सम्भावना नदेखिरहेको अवस्थामा सरकारले उनीहरूलाई लक्षित गरी बजेट बनाउनु पर्ने सुझाव दिए । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत निर्माणले केबल बिजुली मात्र नबलेर सडक, बजार विस्तार र रोजगारी एकसाथ सिर्जना हुने भन्दै बजेटले विशेष प्राथमिकता यस क्षेत्रलाई दिनुपर्ने सुझाव दिए । 

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करणकुमार चौधरीले सरकारले अटो मोबाइल क्षेत्रलाई बिर्सिएको गुनासो गरे । उनले अहिले विद्युतीय सवारी र अन्य सवारी साधनमा दोहोरो बुझाइ रहेको भन्दै समग्रमा अटो मोबाइल क्षेत्र नै समस्यामा रहेको उल्लेख गरे । 

सो कार्यक्रममा अर्थमन्त्री पुन र अर्थ सचिव मधुकुमार मरासिनीले आशावादी बन्न अनुरोध गरे । अर्थमन्त्री पुनले बजेट निर्माणका क्रममा धेरै क्षेत्रसँग अन्तर्क्रिया गरिएको र सो क्रममा अर्थतन्त्र शिथिल छ भन्ने सुनिएको उल्लेख गरे । तर, गत वर्षभन्दा परिस्थिति सुधारोन्मुख रहेको भन्दै उनले आशावादी रहेर बजेट बनाइरहेको जानकारी दिए । 

निजी क्षेत्रको आत्मविश्वास उठाउने गरी बजेट आउने भन्दै उनले निजी क्षेत्रले समेत यसमा साथ दिनुपर्ने बताए । मनोबल उठ्न नसक्नुका कारण खोजेर सरकारले सहजीकरण गर्ने उनको भनाइ छ । वित्तीय नीति र मौद्रिक नीतिमा तालमेल मिलाउनु पर्ने सुझावमा आफू सहमत रहेको उनको भनाई छ ।

अर्थ सचिव मधुकुमार मरासिनीले छलफलमा उठेका अधिकतम विषयवस्तुलाई ध्यानमा राखेर बजेट निर्माण गरिने आश्वासन दिए । विगतदेखि नेपाल उस्तै समस्यामा रुमलिएको परिस्थितिले केही न केही उपचार गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले यसमा अर्थ मन्त्रालय गम्भीर रहेको समेत बताए । समस्याको पहिचान र त्यसको निदानमा आफ्नो ध्यान केन्द्रित रहेको भन्दै उनले सुरुमा समस्या थाहा पाउने र त्यसपछि ठोस उपचार खोजिने बताए । 

 

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ३ : ४९ बजे