जुनसुकै अवस्थामा प्रेस स्वतन्त्रताका पक्षमा उभिन्छौँ : अध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपाली पत्रकारहरुको हकहित र प्रेस स्वतन्त्रता रक्षाका लागि नेपाल पत्रकार महासङ्घ सधँै तयार रहेको बताउनुभएको छ ।

आज काठमाडौँमा संवाद डबलीले आयोजना गरेको ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र हाम्रो भूमिका’ विषयक अन्तरक्रियामा बोल्नुहुँदै अध्यक्ष पोखरेलले प्रेस स्वतन्त्रताका पक्षमा पत्रकार महासङ्घ जुनसुकै परिस्थितिमा पनि उभिने बताउनुभएको हो । उहाँले भन्नुभयो, “संसारमा सबैभन्दा बढी सहादत केका लागि प्राप्त गरेका छन् भने स्वतन्त्रताका लागि गरेका छन्, प्रेस स्वतन्त्रताका पक्षका हामी जुनसुकै परिस्थितिमा पनि उभिन्छौँ ।”

यसैगरी उहाँले स्वतन्त्रताको संरक्षण गर्ने सन्दर्भमा अदालतपनि सँगै होस् भन्ने चाहना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई संसद्, सरकारले झस्काउँदै आएको थियो, हामीले सरकारले केही गरेपनि न्यायालय छ भन्दै ढुक्क थियौँ अब अदालतले पनि झस्काउँछ की भन्ने भान भएको छ ।” 

सोही कार्यक्रमका वक्ता एवं नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पछिल्लो समय नेपाली पत्रकारिता तथा प्रेस स्वतन्त्रतामाथि विभिन्न बाहनामा आक्रमणको प्रयास भइरहेकाले त्यसका विरुद्ध सम्पूर्ण पत्रकार एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले सत्य र सही सूचनाका आधारमा समाचार लेख्न पत्रकारहरुले डराउन नपर्ने धारणा राख्नुभयो ।

प्राध्यापक चिरञ्जीवी खनालले पत्रकार समाजका ऐना भएकाले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने बाहनामा प्रेस स्वतन्त्रतामाथि हुने आक्रमण निन्दनीय भएको बताउनुभयो ।     अधिकांश वक्ताहरुले प्रेस स्वतन्त्रताका पक्षमा सबैले एकजुट हुनुपर्ने धारणा राख्नुभएको थियो । पछिल्लो समयमा न्यायालयबाट प्रेस स्वतन्त्रामाथि गरेको कदमको सन्दर्भलाई लिएर अन्तरक्रिया आयोजना गरिएको थियो । 
 

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ९ : ५२ बजे