जुम्लामा भीरबाट लडेर ७० भेडा मरे

जुम्ला, २५ वैशाख : जुम्लाको तातोपानी गाउँपालिका-७ बारागाउँको थुमलचौरमा भालुले लखेट्दा भीरबाट लडेर ७० भेडा मरेका छन् ।

स्थानीय मगे रावत र सिउल रावतका ७० भेडा गए राती भीरबाट लडेर मरेको बारागाउँका शिक्षक अमर रावतले जानकारी दिनुभयो । मगे र सिउल दाजुभाइ हुन् ।

अस्थायी प्रहरी पोस्ट ताम्ती टोप्लाका अनुसार उनीहरुका एक सय दुई भेडामध्ये भीरबाट लडेर मरेको ७० वटा भेडा भेटिएका छन् । ३१ भेडा बेपत्ता छन् । गोठ रित्तो भएपछि भेडापालक रावत दाजुभाई घरखर्च कसरी धान्ने भन्ने चिन्तामा छन् ।

पीडित  रावत दाजुभाईलाई राहतका लागि आवश्यक सहयोगका लागि समन्वय गरिरहेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ७ : ०६ बजे