काठमाडौँ। केही साता यता नेकपा एसका अध्यक्ष माधव नेपालले अहिलेको सत्ता गठबन्धन प्रति असन्तुष्टिको आगो चर्कै गरि ओकल्न थाल्नुभएको छ। पछिल्लो समयमा त उहाँले अहिलेको समीकरण भत्काएर एमाले बाहेकको समीकरण बनाउने सम्मको चेतावनी दिनुभएको थियो।
गएको उपनिर्वाचनमा दुई क्षेत्रबाटै पार्टीको धरौटी समेत जफत भएको नेपालको आवाजमा किन यति विधि असन्तुष्टिको आगो निस्केको होला भन्ने अनुमान गर्न गाह्रो थियो।
उपचुनावको परिणामले नेकपा एसको आगामी निर्वाचनको हैसियत समेत पूर्व सङ्केत गरेको छ। त्यसैले कसैसँग आगामी चुनावमा पनि अस्तित्व रक्षाका लागि विगतमा जस्तै टाँसिएर केही सिट हात पार्नु नेकपा एसलाई बाध्यता परेको छ। त्यसैले एमाले र सत्ता गठबन्धन माथि खनिएर माधव नेपालले काँग्रेस सभापति देउवालाई ‘मुसुमुसु मुसुमुसु’ हाँस्न लगाएको यस बेला आएर प्रमाणित भयो।
जसपा काँग्रेस लगायतका दलहरूलाई लिएर अहिलेको सत्ता गठबन्धनको विकल्प खोज्ने नेकपा एसका अध्यक्ष माधव नेपाल र जसपा नेपालको सपना त्यस बेला तोडियो जुन बेला जसपा नेपाल आफैमा विभाजन भयो। यो विभाजन पछि माधव नेपालको असन्तुष्टिको आगोमा दमकल ठोकियो। अव त्यो आगो आफै भित्र निभ्ने लक्षण देखियो। किन कि माधव नेपालको असन्तुष्टिको आगोले कतै पनि केही सल्काउन नसक्ने हैसियत निर्माण भयो जब जसपा नेपाल विभाजन भयो। जसपा विभाजन पछि अव प्रचण्ड नेतृत्वको सत्ता गठबन्धन नेकपा एस र जसपा नेपाल (उपेन्द्र यादव नेतृत्वको) बाहेक पनि सुविधा जनक बहुमत छ।
अध्यक्ष उपेन्द्र यादव अमेरिकामै भएको बेलामा जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित बनेको छ । वरिष्ठ नेता अशोक राईको नेतृत्वमा पार्टी विभाजित बनेको हो । राई नेतृत्वको जसपाले अहिलेको सरकारलाई समर्थन गर्ने र यो समीकरण टिकाई राख्ने भनाई सार्बजनिक गरेका छन् ।
विभाजन भएको जसपामा अशोककुमार राई, नवलकिशोर साह, रज्जु ठाकुर, हसिना खान, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ र प्रदीप यादव रहेका छन् । सो पार्टीका सङ्घीय परिषद्का अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार राई नेतृत्वको जसपाका सांसदको सङ्ख्या ८ पुग्ने छ। तर निर्वाचन आयोगमा भने गएको आइतबार ७ जनाले मात्र हस्ताक्षर गरेका छन् ।
जसपामा अकस्मात् विभाजन आउनुको कारण मध्ये एउटा सत्ता समीकरण पनि हो । फागुन २१ गते प्रचण्डले काँग्रेस नेतृत्वको गठबन्धन तोडेपछि माधव नेपाललाई वैकल्पिक गठबन्धनबाट प्रधानमन्त्री बनाउन काँग्रेसले गरेको प्रस्ताव लुकेको छैन ।
प्रतिनिधिसभामा १० सिट रहेका माधव नेपाल ओलीसँग दूरी बढाउँदै काँग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा जोडिनुभएको छ । वैकल्पिक गठबन्धनमा काँग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जनमतको ६, नागरिक उन्मुक्ति र लोसपाका ४–४ जोड्दा १३८ सांसदको गणित थियो ।
तर, नेता राईको नेतृत्वमा ७ सांसदले पार्टी विभाजन गरेपछि त्यो सम्भावना तुहिएको छ । अध्यक्ष उपेन्द्र यादव माधव नेपालसँग मिलेर प्रचण्ड सरकार ढाल्न लागेपछि पार्टी विभाजन भएको दाबी गरिएको छ । अब उपेन्द्र यादवसँग ५ सांसद मात्रै छन् ।
काँग्रेसले माधव नेपाललाई अघि सारेर वैकल्पिक समीकरण बनाउन पहल गरिरहेको बेला विभाजन भएको जसपाले एमाले–माओवादी गठबन्धनलाई साथ दिने भएको छ ।
आयोग पुगेका नेता राजेन्द्र श्रेष्ठले विधान विपरीत नेतृत्व चलेकाले आफूहरू छुट्टिएको बताउनुभयो । मन मौजी तरिकाले निर्णय गर्ने प्रवृत्ति बढेकाले आफूहरूले पहिलेदेखि विरोध गर्दै आएको उहाँले प्रस्ट्याउनुभयो ।
पार्टी विभाजनको क्रम जसपामा पुगेर मात्र रोकिने लक्षण देखिएको छैन। माधव नेपाल नेतृत्वको नेकपा एसमा पनि विगत लामो समय देखि असन्तुष्टि गुम्सिएको छ। जसपा विभाजनपछि यसको आगो नेकपा एसमा सल्कने राजनीति विश्लेषकहरूको भनाई छ।
यसैबिच जसपा विभाजनपछि त्रसित बन्नुभएका नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सोमबार संसदीय दलको आकस्मिक बैठक बोलाउनुभएको छ। ।
उक्त बैठक दिउसो १ बजेका लागि बोलाइएको हो । केही दिन अघि आफू प्रधानमन्त्री हुने कुराले कसै कसैको पेट भतभती पोलेको अभिव्यक्ति दिनुभएका नेपालले जसपा जस्तै आफ्नो पनि दल पनि विभाजन हुने भयले बैठक बोलाइएको हो
प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार १० : ४१ बजे
प्रतिक्रिया