वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको सान्त्वना जित

काठमाडौं । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले परजित गरेको हो । वेस्ट इन्डिज ‘ए’ले दिएको १७३ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरको थियो ।

नेपालका लागि अनिल शाहले ५८ र आसिफ शेखले ५१ रन बनाउँदै अर्धशतकीय पारी खेलेका थिए ।

त्यस्तै, कुशल भुर्तेलले १३, कुशल मल्लले अविजित ३७ र दीपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।

त्यस्तै, वेस्ट इन्डिजका बलर ओबेड म्याककोयले ३ र म्याथुज फोर्डले एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो ।

वेस्ट इन्डिज ‘ए’ का लागि एलिक एथानाजले सर्वाधिक ४२ रन बनाएका थिए भने कप्तान रोस्टन चेजले ३३ रन बनाएका थिए । त्यसैगरी, जोन्सन चार्लेजले २४, म्याथ्युज फोर्डले २३ रन बनाएका थिए ।

त्यसैगरी, नेपाली बलर सागर ढकाल र सोमपाल कामीले ३/३ विकेट लिएका थिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए ।

योसँगै वेस्ट इन्डिज ‘ए’ ले ३-२ ले टी-२० सिरिज जितेको छ । योसँगै नेपाली क्रिकेट टिम विश्वकपका लागि आइतबार अमेरिकातर्फ प्रस्थान गर्ने तालिका रहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ३ : ४२ बजे