साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कुम्भ मेला  र धार्मिक सांस्कृतिक राष्ट्रवाद 

जनताबिना राष्ट्र र राज्यको कल्पना सम्म गर्न सकिन्न ।  जनता नै देशका बहुआयमिक विषय,क्षेत्र,विधा  र पक्षसित प्रत्यक्ष सम्बन्धित हुन्छन् ।  जनता आर्थिक भौतिक कला साहित्यिक क्षेत्रका  मूल आधार हुन् । जनताबिना धर्म, संस्कृति र संस्कारको प्रदुर्भाव  नै हुँदैन ।  कुनै पनि देशका आआफ्ना धार्मिक तथा सांस्कृतिक महत्वपूर्ण पक्ष हुन्छन् । 

अझ नेपाल विश्वका सर्वप्राचीन  धार्मिक सांस्कतिक मूल्य र महत्ताको देश हो । यही देशमा जन्मिई,हुर्किई पढी बढी मर्ने बेलामा भारतको वनारस बास गरेर त्यहीँ मर्दामात्र स्वर्ग प्राप्त हुन्छ भन्ने अत्यन्त गलत भाष्यका भ्रममा धेरै वर्ष  नेपाली परे । यसलाई आधार बनाएर प्राज्ञ तथटा वरिष्ठ साहित्यकार बालकृष्ण पोखरेलले धर्म कमाउन जाने बाबुसित गन्थन  निबन्ध नै लेख्नु भयो । नेपालका हिमनदीबाट अनेक नदी भारततिर बग्छन् । यहाँको  समग्र प्रकृति प्राकृतिक सम्पदा सबै शुद्ध, पवित्र र जीवनदायी छन् । आखिरमा मर्ने बेलामा  नेपालको पवित्र जल,जमिन र जङ्गललाई उपेक्षा गर्ने संस्कार अहिले पनि केही बाँकी होला ।  अनि वनारसको  अत्यन्त प्रदूषित जललाई गङ्गाजललाई अमृत  सरह ठान्ने चरम रुढीवादी संस्कारप्रति  पोखरेलले आफ्नो निबन्धमा दृढ असहमति व्यक्त गरेर धार्मिैक सांस्कृतिक राष्ट्रवादको पक्षपोषण गर्नु भएको छ । वैदिक सनातन,बौद्ध,किराँत आदि धार्मिक सांस्कृतिक सर्व प्राचीन स्थल नेपाल हो । जलामय भएका अवस्थामा मानव सभ्यता हाम्रै  उच्च हिमाल, हिम श्रृङ्खला र पहाडहरुमा भएको हो । वेदको रचना, व्यास, पाणिनी, शिवको आश्रय स्थल कैलाश, पर्वत पुत्री पार्वती आदि  अनेक धार्मिक सांस्कृतिक तथ्यहरूले यसलाई पुष्टि गर्छन् । धर्म र संस्कतिको सर्व प्राचीन तीर्थ स्थल हाम्रै अज्ञानताका कारण पछि परेको हो । हाम्रै हीनता गन्थीका कारण कतिपय हामी हाम्रो अयोध्या र रामलाई हाम्रो होइन भन्न रुचाउँछौँ । यहाँ उल्लेख गरिएको धार्मिक सांस्कृतिक राष्ट्रवाद प्रगतिशील हो । यो कुनै अन्धवाद र अतिवाद होइन । यथार्थ, वास्तविकता र ठोस प्रमाणका  आधारमा हाम्रा धार्मिक सांस्कृतिक धरोहरलाई हाम्रो भनेका हौँ र कुनै पनि सच्चा राष्ट्रवादीले हाम्रा मूल्य र महत्तालाई किमार्थ उपेक्षा गर्दैन । यही कुरालाई गहन रुपमा मनन गरेर पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष के.पी. शर्मा ओलीले राम र अयोध्याको यथार्थ सत्य उद्घाटन  गरिदिनु् भएको हो । तर चरम मूढाग्रही र पूर्वाग्रहीहरु आफैँलाई धिक्कार्न मजा मान्छन् र यसमा पनि हीनताबोध ग्रस्त  कथित बुद्धिजीवी देख्दा लाज नै लजाउँछ । तर वास्तविकतााधारमा भन्दा  कुम्भ मेला धार्मिक सांस्कृतिक राष्ट्रवादको एउटा मेरुदण्ड हो ।   

 धर्म संस्कृतिका मूल आधार जनता हुन् । त्यसैले कुम्भ मेला,बोलबम आदि जस्ता धार्मिक सांस्कृतिक पक्षहरु नेपाली राष्ट्रियताका आधार हुन् । हुनत बराह क्षेत्र लाई कुम्भ मेलाका रुपमा अगाडि बढाउने सोच पूर्व प्रधानमन्त्री नगेन्द्र प्रसाद रिजालको पनि नाम आउँछ तर नेपालका प्रथम जगद्गुरु बालसन्त मोहन शरण देवाचार्यको भूमिका सर्वोपरि रहेको तथ्यबाट प्ुष्टि हुन्छ  ।  उहाँले नै उल्लेख गरेका र लेखकले खोज गरेका आधारमा यो कुरा पुष्टि हुन्छ । जगत् ग्ुरुले नै उल्लेख गरे अनुसार इटहरी ६ निवासी स्वं ताल्चाभण्डेला लगायतले  तन,मन,वचन र धनले कुम्भ मेलाको स्थापनार्थ भरपूर सहयोग गरेको बताउनु भएको छ । 

 २०८० साल चैत्र २७ देखि ऐजन बैशाख २७ गते सम्म बाह्रबर्से  कुम्भ आयोजनाको आयोजना भइरहेको छ । यो मेला  बराहक्षेत्र नगरपालिकास्थित चतरा धाममा सम्पन्न भइरहेको छ । हरेक १२  वर्षमा पूर्ण कुम्भ मेला लाग्ने परम्परा  सांस्कृतिक धार्मिक पर्यटनसित  पनि सम्बन्धित रहेको छ ।  
 
संस्कृति मानवीय जीवनको सर्वाधिक महत्वपूर्ण विषय हो ।  मानवीय जीवन संस्कृतिको केन्द्र हो । मानवीय  भौतिक वा अभौतिक श्रमद्वारा संस्कारित कृति संस्कृति हो । यो प्रकृतिको पुनर्रचना हो । संस्कृतिका भौतिक र आत्मिक पक्ष हुन्छन् । संस्कृतिको आत्मिक पक्ष अन्तर्गत धर्म र संस्कृति पर्दछ ।   

महामना मोदनाथ प्रश्रितका अनुसार ऋग्वेदका कैयौँ ऋचाहरु नेपालको हिमाली र पहाडी भूभागमा नै भएको हो । यहीँ ऋषिमुनिहरुको औषध शास्त्र,गुरु कुल ज्ञान,ध्यान,आचार विचार आदि विषयमा सभा भएको बताइन्छ । तर समय क्रममा भौगोलिक अनुकूलताको खोजी गर्दा  सम्म,फाँटिला र सुगम स्थानमा बसेर संस्कृति र धर्म सम्बन्धी यावत् पक्षहरूको निर्माण,प्रबद्र्धन,परिस्कार तथा  पुनरुत्पादन गर्न सजिलो भएको हुनुपर्छ । 
   पानीजस्तै जीवन पनि सुगम स्थानमा संचित,समाहित र सङ्गृहित हुन्छ, त्यसैकारण उच्च हिमाली श्रृङ्खलाहरूबाट तराई र मधेसका वा भारतवर्षका स्थानमा धर्म र संस्कृति थुरिएको मान्ने आधार छन् ।  

नेपालको  धर्मिक सांस्कृतिक सर्व प्रचीन पक्ष ओझेल पर्न दिनु हुन्न । सत्य पनि स्थापित गरे मात्र देशको समग्र विकासमा महत्वपूर्ण टेवा पुग्छ । धर्म संस्कार र संस्कृतिका क्षेत्रमा पुनःव्याख्या,पुन परिष्कार र परिमार्जन अपरिहार्य देखिन्छ । पुर्खाहरुले उपयुक्त विषयमा जे जस्ता व्याख्या गरे त्यसैका पूरै विश्वस्त भएर हुँदैन । आत्मा भनेको जीव,देश ,शरीर र प्राण हो । शिवराम आप्टेको संस्कृत हिन्दी शव्दकोशमा  यस सम्बन्धी अर्थ दिइएको छ । त्यसैले आत्मा भन्नाले परमात्मा वा ईश्वरको अंश होइन । बरु परमात्मा भनेको सबै जीवको आत्मा वा शरीरको समष्टि हो । त्यसैगरी देवता वा ईश्वर भनेको जसले बढी दिन्छ र जसले संरक्षण गर्छ त्यो हो । किनभने बायु,जल,थल ,सूर्य,चन्द,फलफूल, वनस्पति  आदिलाई हाम्रा पुर्खाहरुले देवता भने किनभने तिनले  मानव समाजलाई दिने मात्र काम गर्छन् । शिवले मानव समाजको सुरक्षाका लागि गरल पान गरे र न देवता कहलिए ? अनि धर्म भनेको केवल ढोँग मात्र होइन सेवा हो । त्यसैले धार्मिक सांस्कृतिक विषयमा सतही ज्ञानले मात्र हुँदैन । यसलाई समाज र देशकै हित र उत्थानमा लगाउनु पर्छ । भाग्यवादी होइन कर्मवादी बन्नुपर्छ । अर्वाचीन पुराण समाजकी अध्यक्ष  मिथिला दाहाल पोखरेल,इटहरीले बराह क्षेत्रको कुम्भ मेला परिसरमा यस सम्बन्धी छलफल चलाइन् । यसमा वरिष्ठ बुद्धिजीवी योगराज गाउँले,वरिष्ठ पत्रकार राजेन्द्रराज तिम्सिना,प्रा.डा.टुनराज भट्टराई, मोरङ जिल्लाका एमाले नेता  रुपेश खतिवडा लगायत व्यक्तित्वको सहभागिता थियो । पोखरेलका अनुसार अर्वाचीन पुराणा १८ पुराणका समाजोपयोगी सबै सारतत्व समाहित छन् । यस पुराणका निम्न लिखित सूक्तिहरुले यसको अर्थ आशय र तात्पर्य स्पष्ट पार्छन् ,

विद्या पौरुष नै फल्छ भाग्य फल्दैन धर्तीमा 
भाग्यको भ्रममा पारी गर्न पाइन्न शोषण 
चौरासी लाख जुनी होइन यही जुनी राम्रो 
श्रम गरेदेखि यही धर्ती बन्छ, स्वर्ग हाम्रो । 

   पुराणहरुका बारेमा नयाँ खोज जरुरी छ र तिनमा निहित समाजोपयोगी र जीवन सापेक्ष सन्दर्भहरु समाजमा प्रवाहित गर्नु पनि उत्तिकै आवश्यक छ । 
  बरबार अध्ययन र अनुसन्धान गरे मात्र सत्यतथ्य उजागर हुन्छ । चन्द्रमालाई पुरातनपन्थी  पाराले भगवान् भगवान् मानिरहेका हामी नवीन अध्ययन केही वर्ष अघिदेखि नेपालको धार्मिक तथा सांस्कृतिक ऐतिहासिक पक्षका बारेमा  प्रथम जगत् गुरु बालसन्तले  गम्भीर अध्ययन गर्नुभयो । त्यस आधारमा यस पावन क्षेत्रमा २०५९ सालमा पहिलो पूर्णकुम्भ मेलाको आयोजना गरिएको थियो ।  नेपालका धार्मिक सांस्कृतिक राष्ट्रवादलाई उत्खनन,उत्प्रेरण,अभिप्रेरण तथा संरक्षण गरे मात्र मौलिक पहिचान सुरक्षित हुन्छ । धन भएर मात्र हुन्न त्यसलाई चिह्न र चिनाउन सक्नुपर्छ । हरेक सकारमा नकार प्रवेश गर्न खोजेजस्तै यस कुम्भमेलाका बारेमा नकारात्मक कोणबाट चर्चा गर्ने एकाध कथित सन्तको कमी पनि छैन । त्यस्ता नकार समय क्रममा बिलाउँछन् । 
धार्मिक सांस्कृतिक राष्ट्रवादी अभियान  पञ्चायत कालमा पनि सुरु भएको  थियो ।  धरानस्थित पिण्डेश्वरलाई  बाबा धामका रुपमा स्थापित र विकसित गरेको कुराले यसलाई पुष्टि गर्छ । यस्ता विषयलाई कवि मान वज्राचार्य र पथिक कवि लक्ष्मी आचार्यको उत्पे्ररक भूमिका महत्वपूर्ण रहेको छ ।  

नेपालको धार्मिक प्राचीनता यही चतरा कुम्भ मेलासम्बन्धी सत्यतथ्य खोजबाट प्रमाणित भएको देखिन्छ । सनातन धर्मशास्त्र र पुराण अनुसार अमृत प्राप्तिका लागि समुद्र मन्थन गरिएको प्रसंग आउँछ । पुराण अनुसार देव र  दानवले मिलेर मन्दराचल पर्वतलाई मदानी र वासुकी नागलाई नेतीको रूपमा प्रयोग गरी क्षीर सागरमा मन्थन गरिएको थियो । स्कन्ध पुराणमा उल्लेख भएअनुसार उक्त क्षार समुद्र कलौ नेपालीका पुरी अर्थात् कलियुगमा नेपाल पुरी भनेर चिनिने स्थानमा रहेको ग्रन्थबाट अवगत हुन्छ । यसरी समुद्र मन्थन गर्दा १२ वटा कुम्भ प्रकट भएका मध्ये ४ वटा कुम्भ चाहिँ भारत भूमिमा स्थापित भएका र बाँकी ८ वटा लोकान्तरमा स्थापित भए भनिन्छ । यिनै लोकान्तरमा स्थापित ८ मध्ये पाँचौँ कुम्भ चाहिँ देवताहरूको क्रीडास्थल नेपालको हिमालयहरूको पाश्र्ववर्ती भूमिमा रहेको बताइन्छ । यसलाई कुम्भ मेला आयोजकद्वारा तयार पारिएको खोजपूर्ण प्रचार सामग्रीबाट अवगत हुन्छ । समुद्र मन्थन गर्दा प्राप्त अमृतपान गर्ने बारेमा देवता र दानवका बीच विवाद बढ्यो ।  भगवान् विष्णुुले मोहिनी रूप धारण गरेर दानवहरूलाई मोहित पारे,देवताहरूलाई मात्र अमृत पान गराउन अमृत कलश उठाउँदा उक्त कलशको घाँटीमा अमृतको तर जमेर पिण्ड बनेको देखियो । विष्णु भगवान्ले उक्त पिण्डलाई कलशबाट अलग गरी देवताहरूलाई अमृत पान गराउनु भएको जानकारी पाइन्छ । उक्त पिण्डबाट देवताहरूले शिवलिङ्ग बनाएर रुद्राक्षारण्यको बीच भागमा लगी पिण्डेश्वर महादेव नामकरण गरी धार्मिक स्थलको स्थापना गरे । यही रुद्राक्षारण्य हाल धरान नगरपालिका अन्तर्गत विजयपुरमा पर्दछ र यहाँ अद्यापि पिण्डेश्वर महादेव मन्दिर स्थापित रहेको छ । अर्को एक प्रसंगमा अमृतको घडा देवता र दानवका बीच खोसाखोस हुँदा पिण्डेश्वरमा अमृतको तर खसेको तर भारतका केही स्थलमा चाहिँ अमृत थोपा मात्र खसेको भनिन्छ । तसर्थ अमृतको थोपा मात्र खसेको शास्त्रीय प्रमाणका आधारमा भारतका नासिक,उज्जैन,प्रयाग र हरिद्वारमा लाग्ने कुम्भमेला लाग्ने गरेको हो । तर  अमृतको थोपा खसेको र अमृतको बाक्लो तर वा पिण्ड नै खसेको पिण्डेश्वर सर्वाधिक महत्वपूर्ण हुने नै भयो । यही तर वा पिण्डबाट शिवलिङ्ग उत्पत्ति भएको पिण्डेश्वरको पावन  परिसरमा अवस्थित सप्तकोशी निकट बरानह क्षेत्रमा  कुम्भमेला लगाउनु धार्मिक,  ऐतिहासिक तथा पौराणिक दृष्टिले सही देखिन्छ । यस्तै खालका विशिष्ट परिचानका धार्मिक सांस्कृतिक तथा पुरातात्विक वैभव र विभूतिको संरक्षण र संम्वर्धन  देशको पहिचान र श्रबिृद्धिका लागि अपरिहार्य हुन्छ ।   

यसरी राष्ट्रवादी चिन्तनलाई बहुआयामिक रूपमा उजागर गर्न सकियो भने देशको उत्थानमा विशेष अभिप्रेरणा उत्पन्न हुन्छ । 

कुम्भमेला एक महिनासम्म विविध धार्मिक,सांस्कृतिक,विद्वत् सभा,योगाभ्यास,नेपाल भारतका सिद्धमहात्मा,मनीषी तथा विदूषीद्वारा विशिष्ट प्रवचन,वेद पुराण वाचन  लगायत अखण्ड भजनकीर्तन हुने आयोजकले जनाएका छन् । यसमा अब  भाग्यवादी होइन कर्मवादी प्रवचन र भजन अपरिहार्य हुन्छ । यसले नै जनमैत्री तथा  श्रममैत्री भावना जगृत गराउँछ । पुराणका पनि समाजोपयोगी जीवन सापेक्ष पक्षहरु उजागर गर्नु जरुरी देखिन्छ । ज्ञान कोशका रुपमा परिचित अग्नि पुराण वाचन  सर्वाधिक महत्वपूर्ण हुन्छ ।  

तसर्थ यो राष्ट्रवादी चेतको,आत्मिक तथा भौतिक उत्थानसित सम्बन्धित पूर्णकुम्भ मेलामा समस्त नेपालीले साथ सहयोग सक्रिय रूपमा गर्नु कर्तव्य हु्न्छ  । भारत लगायत कतिपय देशमा धर्म र संस्कृतिले त्यस सहरलाई आयआर्जन,रोजगारी दिएको देखिन्छ । यसले पर्यटनलाई ठूलो टेवा पु¥याउँछ । 

 देशको पर्यटन प्रवर्धनमा समेत ठूलो सहयोग पु¥याउने विषयलाई उचित महत्व दिनुपर्छ ।  बराह क्षेत्रस्थित कुम्भमेला परिसरमा भव्य किरातेश्वर  मन्दिरको तयारी चलिरहेको देखिन्छ । यस्ता  धार्मिक सांस्कृतिक समन्वय,सहिष्णुता,सहभाव तथा सहकार्यले नेपालीमा एकताको भावनालाई अरु सुदृढ बनाउनेछ ।    

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ५ : २५ बजे