गलेश्वर (म्याग्दी),। म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि बासस्थान र आहाराको अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन् । जिल्लाको मालिका र मङ्गला गाउँपालिकाका विभिन्न ठाउँमा डढेलो लागेपछि वन्यजन्तु बासस्थान र आहाराको खोजीमा गाउँ पसेका स्थानीयले बताएका छन् ।
“खेतबारीमा लगाएको बाली र तरकारीखेती बँदेल र बाँदरले नष्ट गरे, हुँदाहुँदा अब त घरभित्र नै पसेर हैरान पार्न थालेका छन्”, मङ्गला–५ का किसान टीकानाथ कँडेलले भन्नुभयो । कँडेलका अनुसार बँदेल, दुम्सी र बाँदर गाउँमा मात्रै होइन घरभित्र नै छिर्न थालेका छन् ।
मालिकाको वडा नं ६ उपल्लो दुखु, वडा नं १ निस्कोट र वडा नं २ रुममा पनि वन्यजन्तुका कारण गाउँलेले सास्ती व्यहोर्नु परिरहेको छ । मालिका–६ उपल्लो दुखुकी डिलकुमारी रोका भन्नुहुन्छ, “यो बालीनाली यिनलाई नै लगाइदिएजस्तै भयो ।” खेतबारीको बालीनाली खाएर नपुगेर बाँदरले घरभित्र राखेको भकारी तथा भान्छामा पकाएको खानेकुरासमेत खाइदिन थालेको उहाँले बताउनुभयो ।
खेतबारीमा बाँदर र बँदेलले तथा घरआँगनमा बाँदरले दुःख दिएर बालीनाली नोक्सान पारेका किसान बताउँछन् । दिनदिनैजसो वन्यजन्तुले बालीनाली सखाप पार्न थालेपछि पश्चिम म्याग्दीका किसानको हैरानी बढेको छ । वन्यजन्तुले बस्ती÷बस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो ।
वनक्षेत्र नजिकका बस्तीमा निकै दुःख दिने बाँदर जङ्गलमा डढेलो लागेपछि बँेंसीका बस्तीमा समेत पसेर दुःख दिन थालेका मङ्गला–५ छिस्वाङका निकेश पुनले बताउनुभयो । दिनभरि झाडीमा लुकेर बस्ने बँदेलले राति परेपछि बालीनाली नोक्सान गर्ने गरेको उहाँको भनाइ छ । बँदेलले रातिमात्र बाली नोक्सान गर्छ । ठूलै समूहमा देखिने बाँदरले भने बस्तीबाट अलि टाढाको खेतका बाली दिउँसै पनि खाएर, माडेर नोक्सान गर्ने गरेका उहाँ बताउनुहुन्छ । जिल्लाको पश्चिमतर्फका बस्तीमा बँदेल आतङ्क बढ्दै गएको किसान बताउँछन् । बँदेलले कैयन बच्चा यतै हुर्काइसकेका मालिका–१ का किसान टेकबहादुर विकले बताउनुभयो ।
दुम्सी आफ्नो बस्तीमा छ््यासछ््यास्ती देखिने गरेका उहाँको भनाइ छ । बँदेल जिल्लाका तल्ला बस्तीसम्म देखिए पनि बालीनालीमा उपद्रो मच्चाउने बाँदर भने वन क्षेत्र वरिपरिका बस्तीबाट तल झर्दैनन् । डढेलो लागेपछि वन क्षेत्रमा खानेकुराको अभाव हुनु, बासस्थान नासिनु र सिकारीको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्ती÷बस्ती पसेका स्थानीय किसानले बताएका छन् । —
प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार १ : ३६ बजे
प्रतिक्रिया