साफ यू–१७ च्याम्पियनसिप आजदेखि

रेडियो श्वेत शार्दूलमा तीन महिने पत्रकारिता प्रशिक्षण सुरु

​​​​​​​​​​​​​​काठमाडौं । रेडियो श्वेत शार्दूलमा पत्रकारिताका विद्यार्थीहरूका लागि तीन महिने इन्टर्नसिप कार्यक्रम सोमबारदेखि सुरु भएको छ । सहभागीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै रेडियोले ‘इन्टर्नसिप कार्यक्रम–२०२४’ औपचारिक रूपमा सुरु गरेको हो ।

मदन भण्डारी फाउण्डेसनको नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवम् फाउण्डेशनका कार्यवाहक अध्यक्ष उषाकिरण भण्डारीले सहभागीहरूलाई स्वागत गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले पत्रकारिताका विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान र अभ्यासको कमी हुन नदिन रेडियो श्वेत शार्दूलले काम गरिरहेको बताउनु भयो । श्वेत शार्दूलसँग प्राविधिक रूपमा  आधुनिक उपकरण र आवश्यक पूर्वाधारयुक्त स्टुडियो भएकोले तीन महिनाको अभ्यास पछि सहभागीहरूले व्यावसायिक फड्को मार्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।

‘यो इन्टर्नसिप कार्यक्रम सिद्धान्त र अभ्यासको मिलन हो,’  भण्डारीले सहभागीहरूलाई सफलताको शुभकामना दिनुहुँदै भन्नुभयो । उहाँले समाजलाई व्यावसायिक पत्रकारको खाँचो रहेकोमा इन्टर्नसिप कार्यक्रमबाट उत्पादन हुने जनशक्तिले त्यसको अभावलाई केही हदसम्म परिपूर्ति गर्नु पर्ने बताउनुभयो ।

वैशाख तीन गतेदेखि सुरु भएको इन्टर्नसिपमा मदन भण्डारी मेमोरियल, बज्र इन्टरन्याशनल, रत्नराज्य लगायतका क्याम्पसहरूबाट १२ जना पत्रकारिताका विद्यार्थीहरू सहभागी छन् । दुई दर्जन भन्दा बढी आवेदकहरूबाट आवश्यक योग्यता पुगेका १२ जनालाई छनौट गरिएको इन्टर्नसिप कार्यक्रमका संयोजक सुप्रिया राईले बताउनुभयो ।

रेडियो श्वेत शार्दूलका कार्यकारी प्रमुख अमरध्वज लामाले सहभागीहरूलाई स्थापित रेडियो तथा टेलिभिजन स्टेसन र अनलाइन मिडियाको अवलोकन भ्रमण गराउनुका साथै व्यावसायिक रूपमा सफल पत्रकारहरूसँग  निरन्तर भेटघाट र अन्तरक्रिया गराइने जानकारी दिनुभयो ।

सो अवसरमा मदन भण्डारी मेमोरियल कलेजका सहायक क्याम्पस प्रमुखहरू कमल न्यौपाने, प्रज्वलमान श्रेष्ठ र चक्रपथ डट कमका सम्पादक दिनेश घिमिरेले सहभागीहरूलाई स्वागत गर्दै सफलताको कामना गर्नुभयो ।

 

मदन भण्डारी फाउण्डेशनद्वारा प्रवर्द्धित एवम् मदन भण्डारी मेमोरियल कलेजद्वारा सञ्चालित रेडियो श्वेत शार्दूल काठमाडौंको नयाँबानेश्वरबाट प्रसारित हुने शैक्षिक(सामुदायिक रेडियो हो । ९३।६ मेगाहर्जमा प्रसारित हुने यस रेडियोलाई हाम्रो पात्रो एप, स्टेसनको वेभसाइट र सामाजिक सञ्जालबाटसमेत सुन्न सकिन्छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ६ : ०६ बजे