एमालेलाई गगनको प्रस्ताव– ३० सिटे दलले तर्साउने खेल बन्द गर्न सहकार्य गरौं

बाँके। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशलाई राजनीतिक स्थायित्वका लागि नेकपा एमालेसँग सम्वादका लागि प्रस्ताव गर्नुभएको छ । 
पूर्व–पश्चिम संवाद यात्राका क्रममा आइतवार बाँकेको खजुरामा आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले निर्वाचन प्रणाली सुधारका लागि एमालेसँग सहकार्यको प्रस्ताव गर्नुभएको हो । 
‘नेकपा एमालेसँग संवाद गरौं, सरकारका लागि होइन । संवाद भन्दा बित्तिकै केपी ओलीजीलाई के लाग्छ भने सरकार बनाउनेभन्दा पनि निर्वाचन प्रणाली सुधारका लागि’, थापाले भन्नुभयो ।
चुनाव अघि गठबन्धन नगर्ने निर्णयमा एमालेलाई सहमत गराउन सके ३० सिटको दलले कहिले कांग्रेस र कहिले एमालेलाई तर्साउने खेल सधैंका लागि अन्त्य हुने थापाको दाबी छ ।  

‘कांग्रेसले गरेको जस्तै एमालेलाई पनि निर्वाचन अगाडि गठबन्धन नगर्ने निर्णयमा पुग्ने अवस्थामा पुर्‍याऔं । सकिन्छ भने संविधान बदलौं, नभए कानून बदलौं । राजनीतिक दलसम्बन्धी कानून संशोधनको चरणमा रहेको समयमा कांग्रेस र एमाले मिल्यौ भने चुनाव अघि पसर खोलेर धन्दा चलाउने । २०–३० सिटेले कहिले कांग्रेस कहिले एमालेलाई तर्साउने खेललाई सधैंलाई बन्द गरौं’, महामन्त्री थापाले भन्नुभयो  । 

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ४ : ०९ बजे