देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

माधव नेपाल : कल्पवृक्षको भ्रम कि ‘विष वृक्ष’को क्रम ?

कुनैवेला एकताको लगन गाँठोमा बाँधिएका एमाले र माओवादी अदालतको फैसलाबाट दुवै  दल पूर्ववत् अस्तित्वमा आएपछि पारपाचुके अझै सम्पूर्ण रुपमा भईसकेको छैन । एमाले र माओवादीविच एकता प्रक्रियाले पुर्णता नपाउदै विचारअनुसारको भान्सा छुट्याउने दौडधूप जारी छ । साविक नेकपा अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीलाई हुदै नभएका आरोप लगाएपछि, पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीबाट षणयन्त्रपूर्वक हटाउने साविक नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रयासलाई  माधव नेपालले पनि साथ दिएपछि  शुरु भएको दौडधूप कर्णाली प्रदेशसभामा भएको मतदानमा केही एमाले सांसदले‘फ्लोर क्रस’जस्तो घीनलाग्दो हर्कतमा आईपुगेको छ ।

प्रमुख प्रतिपक्षलाई समेत विश्वासमा लिएर राज्य सञ्चालन गरिरहेका प्रधानमन्त्रीमाथि छापामार शैलीमा अन्तरघात भएपछि पनि प्रधानमन्त्री  उक्त चक्रव्यूह तोड्न सफल हुनु, के पी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपा(एमाले) दशौं महाधिवेशनको तयारीमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्नु,एमालेको असन्तुष्ट समूह नवौं महाधिवेशनले निर्वाचित गरेको पार्टी नेतृत्वलाई असफल बनाउन माओवादी सुप्रिमो प्रचण्डसंग नियमित साँठगाँठ र षणयन्त्र हुनु, तृणमूल तहमा पार्टी बनाउन र जोगाउन अहोरात्र खटेका तमाम एमाले कार्यकर्ता र मतदाता विभाजित हुन अस्वीकार गरिरहनु आजको नेपाली बाम राजनीतिका वास्तविकता हो ।

नेकपा(एमाले)मा अहिले केही अशोभनीय दृश्य देखिएका छन् । करिब डेढ दशक  जनताको बहुदलीय जनवादको प्रमुख 'व्याख्याकार' बनेर बल्खु दरवारमा हालीमुहाली गरेका, के पी ओलीको निशर्त सहयोगमा प्रधानमन्त्री बनेका माधव नेपाल अहिले उछिट्टिएर हिजो आफैंलाई पटक-पटक ‘विष वृक्ष’ भनेर अपमानित गर्ने प्रचण्डलाई नेता मान्न पुगेका छन् ।

कुनैबेलाका माओवादी सुप्रिमो पुष्पकमल दाहाल 'प्रचण्ड'ले आजका मितिसम्म आफूले माओवाद त्यागेको औपचारिक रुपमा घोषणा गरेका छैनन् । माओवादको वैचारिक जगमा भएको दशबर्षे माओवादी जनयुद्धलाई अहिलेसम्म जयजयकार गर्न छाडेका छैनन् । माओवादी जनयुद्धको सकारात्मक-नकारात्मक पक्षको द्वन्दवादी समीक्षा गर्न पटक्कै तयार छैन । उनीहरुको विचारमा 'जनयुद्ध' मात्र महान हो, र यो अवधिमा माओवादी आन्दोलनका कुनै कमजोरी छैनन् । हिजो द्वन्दवादको दुहाई दिने माधव नेपालको भित्री मनले यो कसरी मान्छ ? नेता माधव नेपालले यो जीवनको उत्तरार्धमा  

माधव नेपालका आफ्ना एक नम्बरका नेता पुष्पकमल दाहाल 'प्रचण्ड' अद्यापि कम्युनिष्ट पार्टीमा दुई लाईन संघर्ष चलिरहन्छ भन्ने माओको विचारमा विश्वास गर्दछन् । दुई लाईन संघर्षबारे माओको व्याख्या यस्तो छ-" पार्टी भनेको 'विपरीतहरूको एकत्व' हो । पार्टीमा एकातिर नेतृत्वदायी सर्वहारा वर्गीय मार्क्सवादी-लेनिनवादी-माओवादी तप्का हुन्छ भने अर्कातिर खराब विचार र दृष्टिकोण भएको, जुन अन्ततोगत्वा समाजमा विद्यमान अर्को वर्गको प्रतिनिधित्व गर्दछ, तप्का हुन्छ ।"

माओ भन्दछन्-"पार्टीभित्र मार्क्सवाद र अवसरवादविचको संघर्ष विभिन्न चरणमा चलिरहन्छ, यसको समाधानको लागि विभिन्न उपायको अवलम्बन गर्नुपर्दछ ।"

अब प्रश्न उठ्दछ,एकता गरेर छुट्टै पार्टी बनाउन कस्सिएका माओवादी केन्द्र र माधव समूहमा कुन पक्षचाँहि 'सर्वहारा वर्गीय मार्क्सवादी-लेनिनवादी-माओवादी' हो र कुन पक्षचाँहि 'अर्को वर्गको प्रतिनिधित्व गर्ने अवसरवादी' हो ? यो वैचारिक प्रश्न हो, क्षणिक गाला जोडाईको प्रश्न होईन ।

  एमाले र माओवादी केन्द्र एकता भएदेखि नै माधव नेपालले बजाएको एकोहोरो बाँसुरी 'विधि र पद्धति'को बाँसुरी हो । उनले त आफूलाई 'विधि र पद्धति'को कल्पवृक्षको रुपमा प्रस्तुत गर्दै आएका छन् । मुट्ठीभर नेता कार्यकर्तामा यो भ्रम बाँकी पनि छ । तर विडम्वना, अहिले माधव नेपालले ओलीभन्दा नजिक ठानेका 'प्रचण्ड'लाई विधि पद्धति कुन चराको नाउँ हो थाहा छैन । एउटा दृष्टान्त हेरौं ।

२०७० सालको दोश्रो संविधानसभाको निर्वाचनपछि तत्कालीन एमाओवादी पार्टीलाई विधि-पद्धतिमा चलाउने भनेर विराटनगर सम्मेलनमा जानु अघि एमाओवादी पार्टी हेडक्वार्टरले एउटा विधान जारी गरेको थियो । तर विराटनगर सम्मेलनमा त्यो विधानका कुनै धारा उपधाराको प्रयोग गरिएन । विराटनगर सम्मेलनमा प्रचण्ड स्वघोषित अध्यक्ष बने र सम्मेलनपश्चात् बनेको केन्द्रीय समितिले अध्यक्ष बाहेक अरु पदाधिकारीमा “सबै उम्मेदवार सबै मतदाता” को आधारमा निर्वाचन गरियो, जुन विधानको कुनै धारामा उल्लेख थिएन । प्रचण्ड आफ्नो सुविधाअनुसार चले, विधान विर्से । प्रचण्डको आदेशलाई कानुन मान्दै आएकाहरुले त्यसैमा सही थपे ।

बैंकको जागिर खाँदाखाँदै कम्युनिष्ट आन्दोलनमा आएका माधव नेपाल पार्टीको खर्च आम्दानी पारदर्शी र संस्थागत गर्ने मामिलामा अब्बल छन् भन्ने विश्वास गरिन्छ । एमालेलाई आर्थिक रुपमा पारदर्शी बनाउन उनको योगदान पनि छ ।

तर प्रचण्डको स्वभाव विलकुल भिन्न छ । उनी युद्धकालीन अवस्थामा हतियारको प्रभावले उठृको अकूत चन्दा र शान्ति प्रक्रिया पश्चात् इच्छापूर्वक दिइएको चन्दाले  अधिकांश नेता कार्यकर्ताको रहन सहन, बानी व्यहोरा र इमान्दारीमा समेत कायापलट ल्याइदियो । दस वर्ष सम्म हतियारलाई अन्तिम सत्यको रुपमा बुझेको पार्टीमा शान्ति प्रक्रियामा आए पछि शक्तिको स्रोत केवल पैसा मात्र हो भन्ने गलत अवधारणा सर्वत्र फैलियो । आफ्नो गुट मजबुत बनाउन समेत नेताहरुले रकमको इस्तेमाल गर्ने गलत परिपाटीको समेत सुरुवात भयो । पार्टीले आफ्नो जीवनको सम्पूर्ण व्यवस्थापन गर्छ भन्दै आश्वस्त पारिएका लडाकूहरुलाई घर त फर्काइयो तर उनीहरुलाई आत्मनिर्भर बन्नुको सट्टा नेताहरुले बेलाबखत दिने रकमको आसे कार्यकर्ताको रुपमा व्यवहार गर्न थालियो ।

पार्टीका कुनै सांगठनिक गतिविधि वा अभियान संचालन गर्नुपूर्व “परिचालन खर्च” माग्ने र दिने परिपाटीलाई संस्थागत गरियो । कार्यकर्तामा नेतासंग अथाह पैसा हुन्छ भन्ने अवधारणाको विकास हुन पुग्यो । सोचे जति पैसा दिन नसक्ने नेता कार्यकर्ताको नजरमा “नेता” रहेन । माओवादी भित्र देखिएको व्यापक असन्तुष्टि विचार र संगठनमा भन्दा पैसामा केन्द्रित रह्यो । माओबादीमा आर्थिक विषय संबन्धित तहका नेताको तजबीजको विषय बन्दै आयो । प्रचण्डसंग छुट्टिएका किरण,बाबुराम र विप्लवले प्रचण्डले सम्पूर्ण श्रोत र साधनको एकलौटी केन्द्रीकरण गरेको तथ्य तथ्याङ्क सार्वजनिक गरिरहे । पार्टीको पैसामा माओवादी अराजकता अकल्पनीय छ ।

कर्णाली प्रदेशमा भएको घटनाले प्रष्ट संकेत गरेको छ-नेपाली राजनीतिका एक चतुर खेलाडी माधव नेपाल जीवनको उत्तरार्धमा प्रचण्डको छातामुनि पुगेर भए पनि ओलीलाई ‘देखाईदिने’ मुडमा छन् । योजनामा छन् ।

बीस बर्षभन्दा घोकेको जनताको बहुदलीय जनवादको डि-लर्निङ गरेर माओवादका राता किताब पल्टाएरै भए पनि एमालेलाई खुईल्याउने खेलमा छन् ।

दशकौं आफूले हृदयदेखि नै दुत्कारेको माओवादी जनयुद्धको मुठ्ठी उठाएर जयजयकार गरेरै भए पनि,स्वघोषित मदन भण्डारी प्रचण्डसंगको मिलिभगतमा भए पनि मदन भण्डारी र जबजको योगदानलाई मटियामेट पार्ने दाउमा देखिन्छन् ।

एक्काईंशौं शताब्दीका सचेत नेपाली जनताले उनको कुनै पनि दाउ, खेल वा प्रपञ्चलाई साकार हुन दिने छैनन् । किनभने नेपाली जनतालाई अब थाहा भयो,माधव नेपाल कुनै बेलाका एमालेका कल्पवृक्ष थिए होलान् तर उनी आज विष वृक्षमा रुपान्तरित भईसकेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ११ : ०५ बजे