साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

राष्ट्रपति भण्डारी र समकक्षी हमिदबीच भेटवार्ता

ढाका – मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच गए राति दुईपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायत दुवै देशका उच्चपदस्थ अधिकारी सहभागी हुनुहुन्थ्यो ।

भेटवार्तापछि उहाँहरु राष्ट्रपति हमिदले सोही भवनमा आयोजना गर्नुभएको सांस्कृतिक कार्यक्रम र रात्रिभोजमा सहभागी हुनुभयो ।

बङ्गलादेशको राष्ट्रपति निवास बङ्ग भवनमा सोमबार राति भएको भेटवार्तापछि उहाँहरुको उपस्थितिमा दुई देशबीच पर्यटन, संस्कृति, स्यानिटाइजेशन र ट्रान्जिटका विषयमा समझदारीपत्र आदान प्रदान भएको थियो । 

बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बङ्गलादेशी राष्ट्रपति हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका आइपुग्नुभएको थियो । राष्ट्रपति भण्डारीले ढाकास्थित ‘नेशनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल–बङ्गलादेश सम्बन्ध र बङ्गबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नुभएको थियो । सो अघि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले पनि राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुभएको थियो ।

-विशेष प्रतिनिधि प्रकाश सिलवाल/रासस

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ६ : ५९ बजे