साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मौलिकता, शिक्षा र आधुनिकता

नेपालमा अहिले मौलिक र ऐतिहासिक पहिचानसँगै आधुनिक जीवन पद्धति र सामाजिक अभ्यासका पक्षमा बहस हुन थालेको छ। त्यो बहस शिक्षाको दर्शन, राष्ट्रिय उद्देश्य, नीति, विधि र पद्धतिमा केन्द्रीत हुन नसक्दा ऐतिहासिकता र मौलिकता झल्कने र विकासमा आधुनिकता टल्कने सम्वृद्धिको नाराले अपेक्षित नतिजा दिन सकेको छैन्। किनभने “शिक्षा घर र घरको भाषाबाट सुरू गर्नुपर्छ। हामीले हाम्रा सन्तानलाई घर र शिक्षालयबाट भाषा, संस्कृति र संस्कारसँगै देश चिनाएनौंभने त्यसले हाम्रा पहिचानहरू मात्र कमजोर बनाउँदैन्, सम्वृद्धिको यात्रा र राष्ट्रियता पनि कमजोर बनाउँछ। समस्या राजनीतिमा मात्र होइन शैक्षिक तथा सामाजिक व्यवस्थामा पनि छ।” भन्ने कुरालाई मुख्य सरोकारवालाहरूले अन्तरमनबाट मनन गर्न सकेको पाईंदैन्।

खराब सामाजिक व्यवस्था, असान्दर्भिक शिक्षा प्रणाली र अस्थिर राजनीतिक चिन्तनका कारणले राजनैतिक क्रान्ति र संवैधानिक परिवर्तनपछि पनि प्रतिक्रान्ति हुने डर कायम भइरह्यो र राज्यले जनअपेक्षाहरूको यथोचित सम्बोधन गर्न नसक्दा जनतामा राज्यप्रति सकारात्मक सोच र रचनात्मक व्यवहार हुन सकिरहेको छैन्। त्यसैले समाज र देशको चित्र र चरित्र आधारभूत रूपमा गतिशील र प्रगति शील बनाउन सबभन्दा पहिला शिक्षाको दर्शन र चरित्रमा आमूल परिवर्तन अनिवार्य आवश्यकता भएको छ।

शिक्षा व्यक्तिको वैयक्तिक स्वतन्त्रता र प्रगतिसँगै देशको चौतर्फी विकाससँग सम्बन्धित हुन्छ। त्यसैले शिक्षामा हुने सबैखाले विभेदहरूलाई अस्वीकार गर्दै सबैका लागि गुणस्तरीय शिक्षा उपलब्ध गराउन राज्यले सोबमोजिम नीति र लगानी सुनिश्चित गर्नुपर्छ। अनि मात्र देशले अपेक्षित दिगो प्रगतिको यात्रा नियमित गर्न सक्छ। हामीले बुझ्नुपर्छ, मुलुकमा राजनीतिक संस्कृति, सामाजिक चेतना, आर्थिक र भौतिक विकासको स्तर हाम्रो शैक्षिक दर्शन, उद्देश्य, नीति र यसको अभ्यासहरूले निर्धारण गर्छ।

“मानिसहरू जसले आफ्नो इतिहास, उत्पत्ति र संस्कृति जान्दैनन् तिनीहरू जरा नभएको रूख जस्तै हो।” (मार्कस सन् १८८७–१९४०) किनभने यी सबै कुरा व्यक्तिको पहिचानसँग जोडिएको हुन्छ। फेरि पहिचान भन्नाले भाषा, संस्कृति र धर्मसहित देशले दिने परिचयलाई जनाउँछ। आफ्नो भाषा, संस्कृति र धर्मको जगमा उभिएको र सिकाईलाई सुरू गरेको विद्यार्थीको शैक्षिक भविष्य उज्वल हुन्छ। त्यसैले भन्ने गरिन्छ, विद्यालयको भाषामा विद्यार्थीहरूको शैक्षिक भविष्य अडिएको हुन्छभने घरको भाषामा अपनत्व जोडिएको हुन्छ। अपनत्व पहिचानसँग गाँसिएको हुन्छ।

सिद्धान्ततः स्विकारिएको के होभने जानेको वा घरको वा मातृभाषाबाट शिक्षाको सुरूवात गर्दे नजानेको वा नयाँ भाषाको माध्यमबाट पठनपाठन गर्ने अवसर पाएका बालबालिकाहरूको शैक्षिक प्रगति अथवा उपलब्धि अन्य बालबालिकाहरूको भन्दा विशिष्ट हुन्छ। त्यसैले घरको भाषामा अपनत्वमात्र होइन शैक्षिक भविष्य पनि जोडिएको हुन्छ। यसले नयाँ पुस्तालाई स्वअनुशासनमा बस्न र स्वअध्ययनमा रमाउँदै सिक्न प्रेरित गर्छ र समाजमा असल संस्कारको विकास गर्दै पठनपाठन संस्कृति बसाल्दै सम्वृद्ध देशको सम्मानित नागरिक बन्न बनाउन सहयोग पनि गर्छ।

अहिले नेपालको शिक्षाको दर्शन, राष्ट्रिय उद्देश्य, नीति, कानुन र प्रणाली कुनै पनि कोणबाट देशमुखी छैन्। शिक्षा नागरिक निर्यातमुखी भो किनकी शिक्षाले देशका लागि नागरिक तयार गर्ने लक्ष्य नै लिएन। आजको शिक्षाको जगमा देश सम्वृद्ध नागरिक सम्मानित बनाउन सकिन्न भन्ने चेत हामीमा अझै आएन। जसले गर्दा शिक्षा सम्वृद्धिको आधार बन्न र मौलिकता जोगाउँदै आधुनिक नेपाल बनाउन सकिएन। अब प्रश्न उठ्छ, शिक्षामा आमूल परिवर्तन कहिलेरुनेपालमा कस्तो शिक्षा अथवा भोलिको शिक्षा कस्तो हुनुपर्छ भनेर राजनीतिक मात्र होइन प्राज्ञिक चर्चा पनि भएको पाईंदैन। किनभने राजनीतिक र प्राज्ञिक नेतृत्वहरूले मौलिकता, शिक्षा र आधुनिकताबिचको अन्तरसम्बन्ध बुझेनन्।

सरोकारवालाहरूका बीचमा शैक्षिक मुद्दामा केन्द्रीत भएर विचारविमर्श, मस्तिष्क मन्थन र यसको प्रचार प्रसार अपेक्षित रूपमा भएको पाईंदैन्। किनभने प्राज्ञिक वर्गले शैक्षिक मुद्दालाई कुनैपनि कोणबाट प्राथमिकता दिएका छैनन्। यस्तो लाग्छ, उनीहरूको अन्तरमनमा शिक्षाको महत्त्व र आवश्यकता अंकुरण नै हुन सकेको छैन्। त्यसैले त हिजोभन्दा आज शैक्षिक उपलब्धी निरासाजनक हुँदा पनि प्राज्ञिक वर्ग मौन छन् अर्थात चिन्तित देखिदैनन्। फेरि प्रायः सबैजसो सरोकारवालाहरूका सन्तानहरू कि त नेपालमा छैनन् कि त उनीहरू यहाँको सार्वजनिक शिक्षालयमा पढ्दैनन्। त्यसैले त उनीहरू सार्वजनिक शिक्षा ध्वस्त हुँदा पनि चिन्तित छैनन्।

सम्वृद्ध नेपाल (नयाँ नेपाल) बनाउने नै होभने शिक्षा नयाँ र आर्थिक नीति देशमुखी हुनपर्छ। जसले देशको मौलिकता र आवश्यकतालाई सम्बोधन गर्दै आधुनिक नेपाल अर्थात नयाँ नेपाल बनाउने बलियो र दिगो आधार तयार गर्न सक्छ। चाणक्यले भने जस्तै रितिरिवाज र परम्पराहरूको अभ्यास गर्नु भनेको खरानी पूजा गर्नुमात्र होइन बरू खरानीभित्र रहेको आगोलाई जोगाई राख्नु हो। जसलाई हामीले हाम्रो पहिचानका रूपमा बुझ्नुपर्छ। देशको गुणात्मक भौतिक विकास र नागरिकको मानसिक विकासका लागि पनि शिक्षा गुणात्मक हुनैपर्छ। सबैका लागि गुणस्तरीय शिक्षाका लागि मौलिकता र आधुनिकताको सन्तुलित र व्यवस्थित प्रयोग हुने वातावरण बनाउनु पर्छ।

शिक्षालाई हरेक कोणबाट विकासको एउटा मुख्य आधारभूत तत्त्वको रूपमा लिईन्छ। शिक्षाले जनताको उत्पादकता र रचनात्मकतामात्र बढाउँदैन् उद्यमशीलता र प्राविधिक उन्नतिलाई पनि बढावा दिन्छ। यसका साथै शिक्षाले आर्थिक तथा सामाजिक प्रगति र आयको समतामुलक वितरणमा सुधार गर्न एक महत्वपूर्ण भूमिका खेल्छ।

आधुनिकता गलत होइन, मौलिकता छोड्नु अवश्य गलत हो।
शिक्षाले मौलिकता र आधुनिकता बीच सन्तुलन मिलाउन सहयोग गर्नुपर्छ। यसका लागि शिक्षाले हरेक नागरिकलाई शिक्षितमात्र होइन, वास्तविक अर्थमा साक्षर पनि बनाउनु पर्छ। हामीले शिक्षा र साक्षरताको ठीक परिभाषा पनि गर्न सक्नुपर्छ। साक्षरताको परम्परागत परिभाषाबाट बाहिर निस्केर यसको अर्थ र महत्त्व बुझ्नु र बुझाउनु पर्छ। अनिमात्र शिक्षा र साक्षरताको महत्त्व अनि त्यसले पार्ने प्रभावहरूका बारेमा हामी स्पष्ट हुन सक्छौं। मान्छे शिक्षित भएर पनि साक्षर नहुन सक्छ भन्ने यथार्थ स्विकारेर सबै साक्षर शिक्षित हुन्छन् तर सबै शिक्षित साक्षर नहुन पनि सक्छन् भन्ने यथार्थलाई बुझेर शिक्षा र साक्षरतालाई व्याख्या गर्नुपर्छ। 

भनिन्छ, निरक्षरता उन्मूलन गर्न हामीले सबैका लागि गुणस्तरीय प्रारम्भिक शिक्षामा ध्यान केन्द्रित गर्दै विद्यालय तहको शिक्षादेखि विश्वविद्यालयसम्मको शिक्षालाई पनि स्तरीय बनाउँदै सबैको सहज पहुँच सुनिश्चित गर्नुपर्दछ। निराक्षर उन्मूलन गर्नका लागि मात्र होइन गरिबीको उन्मूलन गर्न प्रारम्भिक र उच्च शिक्षा महत्वपूर्ण मानिन्छ। नेपाल सम्वृद्ध बनाउन हाम्रो चेतना सम्वृद्ध र अभ्यास परिस्कृत हुनुपर्छ। यसका लागि हाम्रो शिक्षा तथा सामाजिक व्यवस्थाको दर्शन र अभ्यासमा पनि समयानुकुल परिमार्जन गर्दै कार्यान्वयन गर्ने अभियान चलाउनु पर्छ। यो अभियान सुरू गर्न त्यति सजिलो छैन किनभने हाम्रो राजनीतिक तथा प्रशासनिक अभ्यास र प्राज्ञिक चिन्तन शैक्षिक मुद्दामा केन्दीत हुन सकेको छैन। त्यतिमात्र होइन, हाम्रो शिक्षाको दर्शन र राष्ट्रिय उद्देश्य, नीति र अभ्यासहरू पनि सान्दर्भिक र व्यावहारिक छैन्। अर्थात शैक्षिक दर्शन र उद्देश्यमा म्याकुल्ले नीतिको प्रभाव कायम छ।

प्राज्ञिक वर्गहरूले हाम्रो शिक्षामा म्याकुल्ले नीतिको प्रभाव र दबावका विपक्षमा लेख्न र बोल्न आँट गरिरहेका छैनन्। राष्ट्रिय स्वार्थमा शैक्षिक दर्शनको व्याख्या र शिक्षाको राष्ट्रिय उद्देश्य देशमुखी बनाउनमा आफ्नो प्रभाव प्रयोग गर्नमा भन्दा बाह्य स्वार्थमा आफ्नो क्षमताहरू प्रयोग गरेर घरबार चलाउनमा नै गर्व ठानेका छन्। जसले गर्दा शिक्षा तथा सामाजिक व्यवस्थाका बारेमा जनता भ्रमित हुँदा आफ्नो मौलिकताविनाको क्षणिक झिलिमिलीमा रमाई रहेका छन्। 

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  १० : ४५ बजे