बुद्धचित्तको बोट काटेको आरोपमा माला ब्यापारी मानबहादुर पक्राउ

बनेपा। रोशी गाउँपालिका–५ नागबेली स्थित ठाकुरानी तामाङको बारिमा रहेको बुद्धचित्त मालाको बोट काटेको आरोपमा माला ब्यापारी सिजन भनिने मानबहादुर लामा पक्राउ परेका छन् ।  उनलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरि अपराध अनुसन्धान महाशाखा लगेको विशेष स्रोतले पुष्टि गर्यो । प्रहरीले उनलाई पक्राउ गरेको र उनी विरुद्घ जाहेरीको तयारी भइरहेको अर्का ब्यापारी समिक त्रिपाठीले जानकारी दिए । त्रिपाठीले रुख मानबहादुरकै समूहले काटेको हुनसक्ने बताए । 

त्रिपाठी र मानबहादुर यस अघिका माला कारोबारका पार्टनर (साझेदार) हुन् । उनीहरुको अघिल्लो वर्षको माला लुटेको विषयमा परेको मुद्दा विचाराधिन छ । समिकले पैसा र माला दुबै लिएको र संझौता विपरित अर्कैलाई बेचेर रकम कुम्लयाएको मानबहादुरको आरोप थियो । अघिल्लो वर्ष गरेको लगानी पनि फिर्ता नभएको र यो वर्ष पनि अर्कैसँग मिलेर माला किनबेच भएसँगैको रिसिबीले मालाको बोट काटिएको हुनसक्ने आशंका छ । यद्यपी मालाको रुख काट्नमा मानबाहादुर उर्फ सिजनको हात रहे नरहेको खुलिसकेको भने छैन ।

गएराती अन्दाजी ०१ः ०० बजेको समयमा समुहमा आएका १५र२० जना अपरिचित ब्यक्तिले बुद्धचित्त मालाको रुख काटेका थिए ।  उनिहरुले सोही घरको ढोका र आगनमा ४ वटा घरेलु सकेट बम समेत राखेको पाइएको थियो । उक्र काटिएको रुख ठकुरानी तामाङको रहेको खुलेको छ । काटिएको रुख नजिकै  जनमुक्ति सेना नेपाल लेखेको ज्याकेटसमेत फेला परेको  थियो ।  

घरधनी शेरबहादुर तामाङले  बताएअनुसार, वार्षिक ३ करोड रुपैयाँमा सम्झौता गरेर बुद्धचित्तको रुखको माला बिक्री गरिएको थियो । सम्झौता अनुसार, विक्री भएको रुखमा उत्पादन हुने बुद्धचित्तको दाना उनीहरुले लैजाने थिए ।

उनले काभ्रेका सत्यमान लामा र सन्दीप त्रिपाठीलाई रुख बिक्री गरेको बताए ।  सत्यमान लामा र त्रीपाठी वर्षेनी जोडिने यो बोटको मालाका विषयमा सधै विवाद हुने गर्दथ्यो । यो बोटको मालाकै विषयले रोशी क्षेत्र बर्षेनी तनाबमा समेत पर्ने गरेको थियो । 

माला किनबेच गर्ने र एकले अर्काको रकम हिनामिना गर्ने, ठगी गर्ने, माला नै चोरी गर्ने, एउटालाई बेचेको माला अर्कोलाई पनि बेचिदिने, संझौता एउटाले गर्ने अर्कैले टिप्ने जस्ता विषय र यो बोटमा फल्ने सानो आकारको मालाको कारण यो बोट सधै काभ्रेमा चर्चाको विषय बन्थ्यो । मालाको कारोबारमा भइरहेको दुस्मनीले नै बोट काटिएको हुनसक्ने स्थानीयहरुको अनुमान छ । 

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १० : ५१ बजे