साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

हेटौँडा अस्पतालमा डायलायसिस सेवा शुरु हुने

मकवानपुर – हेटौँडा अस्पतालमा वैशाखको दोस्रो हप्तादेखि मिर्गौलाको डायलायसिस सेवा शुरु हुने भएको छ । 

    सो सेवा सञ्चालन गर्नका लागि ३ वटा डायलायसिस मेसिन जडान गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । मिर्गौला रोगबाट पीडित बिरामीलाई उपचारमा सहजता ल्याउनका लागि हेटौँडा उपमहानगरपालिकाले दुई र शिवम् सिमेन्ट उद्योग प्रालिले एक गरी तीन वटा डायलायसिस मेसिन खरिद गरी अस्पताललाई उपलब्ध गराइसकिएको हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले राससलाई जानकारी गराउनुभयो । उहाँले जिल्लाका विभिन्न गाउँपालिकाबाट डेढ सयभन्दा बढी मिर्गौला रोगबाट पीडितले डायलायसिस सेवा लिन सम्पर्कमा आइसकेको बताउनुभयो । 
    
    उहाँका अनुसार रोटरी क्लब अफ हेटौँडाले अबको केही हप्ताभित्रै थप दुई वटा डायलायसिस मेसिन उपलब्ध गराउने भएको छ । मुटु रोगको शल्यक्रिया तथा नवजात शिशुको आपतकालीन उपचारका लागि विशिष्ट कक्षको निर्माण र सम्बन्धित विशेषज्ञ चिकित्सक उपलब्ध गराउन अस्पतालले सङ्घीय सरकार र प्रदेश सरकारसँग माग गरेको बताइएको छ । यसैगरी आगामी आर्थिक वर्षको पुस मसान्तसम्ममा मुटु रोगसँग सम्बन्धित उपचार सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि हेटौँडा अस्पतालका प्रमुख चिकित्सक डा.प्रविण श्रेष्ठले जानकारी दिनुभयो । 

‘राजनीति प्रपोगण्डाको लागि पत्रकारितालाई प्रयोग गर्न नहुने’

    नेपाल पत्रकार महासङ्घ मकवानपुरद्वारा आज हेटौँडामा आयोजित एक कार्यक्रमका वक्ताहरुले राजनीति प्रपोगण्डाका लागि पत्रकारितालाई प्रयोग गर्न नहुने आवश्यकतामा माथि जोड दिनुभयो ।

    नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले स्वयं पत्रकार नै राजनीतिक प्रपोगण्डाका लागि प्रयोग भएको कारणबाट राष्ट्रियता र प्रेस स्वतन्त्रतामाथि अतिक्रमण बढ्दै गएको बताउनुभयो । उहाँले शान्ति सुरक्षाको उचित प्रबन्ध, भौतिक पूर्वाधार निर्माण र आर्थिक समृद्धिका लागि प्रदेश सरकारले आफ्नो क्षमता प्रदर्शन गर्न नसकेको आरोप लगाउनुभयो । 

    नेकपा माओवादी केन्द्रका जिल्ला प्रचार विभाग प्रमुख कमानसिंह लामाले देशको सार्वभौमिकता र प्रेसको स्वतन्त्रतामाथि बाह्य शक्तिले आँच पु¥याउँदै आएकामा अब पत्रकारले मुलुकको पहरेदारका रूपमा सूचना प्रवाह गर्नुपर्ने बताउनुभयो ।

    महासङ्घका केन्द्रीय सदस्य सुनिल खड्का र जिल्ला अध्यक्ष मणिराज गौतमले प्रत्येक पत्रकारलाई स्वतन्त्र र व्यावसायिक भूमिकाबाट क्रियाशील हुन आग्रह गर्ने बताउनुभयो । सो अवसरमा महासङ्घको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउनुहुने प्रमुख निर्वाचन अधिकृत ध्रव प्रसाईँ चौलगाईँ तथा निर्वाचन अधिकृतद्वय ऋषि केवी र मधु आचार्यलाई प्रशंसापत्र प्रदान गर्नुभयो । यसैगरी उद्योगपतिद्वय महेन्द्र राउत, कृष्णकुमार अग्रवाल र समाजसेवी केदारप्रसाद चौलागाईँलाई पनि प्रशंसापत्र प्रदान गरिएको महासङ्घका जिल्ला अध्यक्ष गौतमले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ११ : ०० बजे