दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नागढुङ्गा सुरुङ ‘चार दिनमा छिचोलिने’,अब २ मिटर खन्न बाँकी 

​​​​​​​काठमाडौं ।  झन्डै एक महिनासम्म अवरुद्ध भएको नागढुङ्गास्थित मूल सुरुङ छिचोल्ने काम वैशाखको पहिलो साताका लागि तय भएको छ । 

त्रिभुवन राजपथमा निर्माण भइरहेको नागढुङ्गा सुरुङ परियोजना अन्तर्गत मूल सुरुङ छिचोल्ने काम वैशाख ३ गतेका लागि तय भएको 

नागढुङा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले बताउनुभयाे ।

कुल २,६८८ मिटर लामो उक्त सुरुङ छिचोल्ने लक्ष्य चैत्रकाे पहिलो साताका लागि नै तय गरिएको थियो।

तर स्थानीय समुदायले केही मागहरू राख्दै एक महिनासम्म निर्माण कार्यमा अवरोध पुर्‍याएपछि मूल सुरुङ खन्ने काममा सम्पन्न गर्ने मिति सरेको थियो। मूल सुरुङ अन्तर्गत अब २ मिटर मात्रै छिचोल्न बाँकी  छ । 

कुल लागत २२ अर्ब रुपैयाँ रहेको यो परियोजना अन्तर्गत ६ अर्ब रुपैयाँ मुआब्जा वितरणमा खर्च भएकाे थियाे । मुआब्जासहित  सुरुङ निर्माणकाे काममा ११ अर्ब रुपियाँ जति खर्च भएकाे बताइएकाे छ । 

४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी सन् २०१९ मा ठेक्का लगाइएको उक्त परियोजनाको निर्माण सम्पन्न हुने मिति दुई पटक थप भएकाे छ।

२.६८८ किलोमिटर लम्बाइ भएको उक्त सुरुङमार्गमा ३.५ मिटर चौडाइका दुईवटा लेन रहने र दुवैतर्फ पानी बग्ने नालीहरू रहने जनाइएको छ।

त्यहाँ पुल, कल्भर्ट र अन्य संरचना १२ वटा हुने अनि दुवैतर्फ टोल स्थापना गरिने भनिएको छ।

चौबीसै घण्टा भेन्टिलेसन रहने भनिएको उक्त सुरुङमार्गमा आपत्कालीन उद्धार प्रणाली पनि स्थापना गरिनेछ।मूल सुरुङबाहेक सो सुरुङमार्गमा आपत्कालीन उद्धारमा प्रयोग हुने २५ सय ५७ मिटर लामो सहायक सुरुङ  रहनेछ। त्यसलाई खन्ने काम गएको वर्ष नै सम्पन्न भइसकेकाे छ । 

उक्त सुरुङको जुनसुकै स्थानमा कुनै घटना भएको खण्डमा बढीमा ७ मिनेटभित्र त्यहाँ पुग्ने गरी व्यवस्थापन गरिने सडक विभागको प्रगति विवरणमा उल्लेख छ।

उक्त पूर्वाधार अन्तर्गत निर्माण गरिने भनिएका ३ अन्डरपास, ४ बक्स कल्भर्ट, १ ओभरपास र तीनवटा पुलको निर्माण सम्पन्न भएको सो परियोजनाले जनाएको छ।

उक्त सुरुङ मार्ग अन्तर्गत जमिनमुनि र माथि चौबिसै घण्टा विद्युत् आपूर्ति हुने प्रणाली स्थापना गर्ने र कुनै पनि आपत्कालीन परिस्थितिमा तत्कालै उद्धार टोलीहरू खटाउने व्यवस्था गरिने छ । 

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ८ : ३५ बजे