साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

संस्कृति विभागको औचित्य

नेकपा एमालेका विभागहरूमध्ये भाषा,कला,साहित्य संस्कृति विभाग सर्वाधिक महत्त्वपूर्ण रहेको छ । किनकि यसले समाजको गुणात्मक रूपान्तरण गर्नेजस्तो अत्यन्त अहं सवाल संबहन गर्छ । यो विभाग अमुक साहित्यिक मञ्च र महासङ्घजस्तो कविता र विचार गोष्ठी मात्रै गर्ने संस्था होइन । तर काम भने त्यस्तै मात्र भइरहेको छ । यो विभाग त जबज अनुसार अहिलेको  परिस्थितिमा तत्काल  सांस्कृतिक रूपान्तरण के कसरी गर्नु पर्छ , हाम्रो समाजमा व्याप्त सामन्ती सांस्कृतिक  अवशेषहरू के के हुन् ?  तिनको कुप्रभाव कहाँ कहाँ के कस्तो रहेको छ भनेर गम्भीर अध्ययन गर्ने विभाग  हो ।

जबजले निर्देश गरेको  सांस्कृतिक रूपान्तरणमा कलात्मक हस्तक्षेपको अर्थ र महत्त्व मातहतलाई बुझाउने काम संस्कृति विभागको हो ।  जबजमा उल्लेख गरिएको सामाजिक कुरीति, अन्धविश्वास  र रुढीगत धारणाहरूलाई सामाजिक सांस्कृतिक सुधार आन्दोलन   चलाई हटाउँदै लाने कुरा गरिएको छ । यस कुरालाई महासङ्घ   सम्बद्ध आम स्रष्टाहरूलाई अर्थ्याउने कुरा नै विशेष काम हो । यस्ता अहम् महत्वका तत्कालीन र दीर्घकालीन विषयमा खोज गर्ने र त्यसलाई मातहत संस्थाहरूमा हस्तान्तरण गर्नु पर्ने हो  । जबजमा उल्लिखित आन्दोलन भन्नाले भौतिक लडाइँ मात्र होइन यो त बर्षाैदेखि हाम्रा गिदीमा लिदीसरह जब्बर बनेर जमेर रहेको समग्र पछौटे चिन्तन पखाल्ने कुरा  हो ।

पछौटे चिन्तन र चरित्रग्रस्त जडतालाई भत्काउने खालको बौद्धिक  अभियान नै   यस सन्दर्भमा आन्दोलन हो । यस खालका पछौटे चिन्तन  घटाउन र हटाउन अग्रगामी विचारको मनमनमा बीजारोपण  गर्नु आन्दोलन हो । यस्ता विषयमा बौद्धिक विलाश मात्र नगरी  व्यवहारमा उतार्ने सवाल पनि हो । अहिले धेरैजसो माथिल्लै तहका  नेताहरूले बिरालो बाँध्ने खालको व्रतबन्ध, क्रिया कर्म, जन्मोत्सव र  श्राद्ध आदि गरिरहेको देख्नुपर्छ । उपर्युक्त संस्कार र संस्कृतिका सकारात्मक पक्षबारे पटक्क जानकारी भएजस्तो लाग्दैन ।  यस्ता कुरामा गहन अध्ययन र अन्वेषण गरेर सांस्कृतिक रूपान्तरणमा सहयोग पु¥याउनु पर्छ भन्ने जबजको सोच विज्ञ जन र विभागले बोध गर्नु प¥यो । निकट विगतमा  कोसी प्रदेशको संस्कृति विभाग प्रमुख हुँदा यस विषयमा गहन काम गर्न मैले धेरै प्रयत्न  गरेँ तर विषयबोध गर्ने नेतृत्वका अभावमा काम अगाडि बढ्नै सकेन ।  

 कम्तीमा  संस्कार र संस्कृति सम्बन्धी  तिनमा निहित जीवनोपयोगी नवीन तथ्य जनसमक्ष  लिखित र मौखिक रूपमा प्रवाह रूपान्तरणको काम सुरु हुन्थ्यो ।  संस्कार सम्बन्धी पुरानै परम्परामा नवीन पक्ष आबद्ध गरेर  ओझेल परेका र पारिएका समाजोपयोगी  समग्र सत्य,तथ्य र वास्तविकता उजागर हुन्थ्यो । जननेता मदन भण्डारी धार्मिक, सांस्कृतिक,शैक्षिक साहित्यिक आदि विभिन्न विधा र विषय तथा विभिन्न उमेर समूहका व्यक्तिहरूलाई प्रभावित पार्ने क्षमताको हुनुहुन्थ्यो र बाम आन्दोलनमा आम जनतालाई आबद्ध गराउन सफल हुनुहुन्थ्यो ।  पार्टी अध्यक्ष ओलीले नै पनि कराग्रे वसते लक्ष्मीको नवीन वस्तुपरक व्याख्या गर्नुभयो । उहाँले सर्वे भवन्तु सुखिनः जस्ता धार्मिक सांस्कृतिक सूक्ति र उक्तिलाई राजनीतिक क्षेत्रमा उपयोग गर्ने कुरा गर्नु भएको थियो । अहिले पार्टीले नेताहरूलाई  विभिन्न प्रदेश र जिल्ला र नगरमा मिसन ८४ अन्तर्गत विशेष जिम्मेवारीका साथ परिचालन गरेको देखिन्छ । तर प्रायः नेताहरू भण्डारी र ओलीबाट सिकेर आआफ्ना कार्यक्षेत्रमा  प्रभावकारी वैचारिक अभियान सञ्चालन गर्ने मेसो पाएको देखिन्न ।  जानेदेखि समयको भरपुर सदुपयोग गरेर औपचारिक र अनौपचारिक रूपमा बोलेर, लेखेर, धेरै प्रभावशाली काम गर्न सकिन्छ । नेता   त बत्ती  बलेझैँ बलिदिए  भएभरका पुतली झुम्मिन्थे र मिसन ०८४ सफल पार्न धेरै सहयोग पुग्थ्यो । तर  खटिएका प्रायः नेता कार्यक्षेत्रमा ज्वाइँझैँ गमक्क, र गजधम्म परेर बसेको देखिन्छ । फूलजस्तो  जहाँ फुले पनि  त्यहीँ सुवास र सौन्दर्य छर्ने बेहोरा भए पो पार्टी प्रभाव विस्तारित हुन्छ ।      

जननेता मदन भण्डारीले  वैदिक सनातन लगायत संस्कार र संस्कृतिका अनेकौँ महत्त्वपूर्ण पक्षहरूको जगेर्ना गर्ने कुरा गर्नु हुन्थ्यो र उहाँले  तिनमा निहित कैयौँ विकृतिलाई कलात्मक हस्तक्षेप मार्फत निष्प्रभावी पार्न सकिने कुरा पनि उल्लेख गर्नु भएको छ । जबज भनेको राजनीतिक सत्ता र सरकार केन्द्रित दस्ताबेज मात्र होइन, यो सांस्कृतिक रूपान्तरणसित घनिष्ठ रूपमा जोडिएको अनमोल सिद्धान्त हो भन्ने कुरा एमाले संस्कृति  विभागले नै नबुझेपछि के गर्नु ?  भण्डारीलाई धर्मको सही व्याख्या गरिएको छैन भन्ने थाहा थियो । उहाँलाई अग्नि पुराण ज्ञान कोष हो भन्ने पनि थाहा थियो । भण्डारीलाई उहिल्यै  जात, पात, उँच र नीचजस्ता विभाजनकारी र चरम रुढीगत मान्यता थिएन भन्ने पनि थाहा थियो ।   

 दासी पुत्र विदुर पानी सम्म नचल्ने जातका  सन्तान त्यो समाजमा कर्मले सम्मानित भएका  हुन् र १८ पुराणका रचयिता  भनिएका व्यास जन्मले उच्च कुल र घरानाका होइनन् भन्ने पनि  मदनलाई थाहा  नहुने कुरा थिएन । गहिरो अध्ययन गरेपछि थाहा हुनु स्वाभाविक छ । त्यसैले वैदिक सनातन वा हिन्द,बौद्ध र किरात धर्मभित्र नै मानव समाजलाई सभ्य र भव्य बनाउने पक्षहरू छन् तर त्यहीँ चरम रुढीवादी चिन्तन र चरित्र पनि विद्यमान छन् । यस्ता सकार र नकारका मान्यताहरूको चर्चा गरेर भण्डारी धार्मिक जनताका बीच छलफल चलाउनु हुन्थ्यो । उहाँ धार्मिक संस्कार र संस्कृति का सकारात्मक पक्ष उल्लेख गरेर  चित्त बुझ्दो गरी सम्झाउनु हुन्थ्यो । यसरी हरेक तह,तप्का र उमेर समूहका मानिसलाई  रूपान्तरित गर्नु हुन्थ्यो  ।  किनभने उहाँमा समाजलाई गुणात्मक रूपान्तरण गर्ने विषयमा पर्याप्त   ज्ञान थियो ।  अनि पो पार्टी नेता र कार्यकर्तामा समाजलाई गुणात्मक  रूपान्तरण गर्ने विषयको राम्ररी बोध हुन्छ । 

 विगत कालमा गरिएका  धर्म, संस्कार र संस्कृतिको गरिएको  उल्टा  व्याख्या सुल्ट्याउने हो भने त्यो  समाज रूपान्तरणको महत्त्वपूर्ण महान् विषय र सामग्री बन्ने देखिन्छ । किन भने धर्म र धार्मिक समारोहमा आम जनताको व्यापकतम उपस्थिति हुन्छ । धर्मका नाममा दान दिने मात्र होइन सर्वस्व अर्पण गर्ने पनि मनग्गे हुन्छन् । तिनलाई धर्म र संस्कृतिका समाज उपयोगी र जीवन पक्षहरू  राम्ररी बुझाउने हो भने त्यसले समाजको अग्रगमनमा साथ नै दिन्छ । मार्क्सले भौतिकवादको सुल्टो व्याख्या र विश्लेषण गरेर मार्क्सवादको प्रतिपादन  गरेकाले  भुलेभड्के विश्व समाजलाई उनले मार्क्सवादी बनाए ।  यति कुरा पनि नबुझेर संस्कृति विभाग बिलखबन्दमा परेको देख्दा सरम लाग्छ । पार्टी केन्द्रीय सदस्य  खगेन्द्र राई यस विभागको प्रमुख हुँदा केही महत्त्वपूर्ण वैचारिक सांस्कृतिक गहन  कार्यपत्र तयार भएका थिए ।  पार्टी र विभागमा आबद्ध सबैलाई परिभाषित कामको जिम्मा दिने र अनुगमन गरी काम गर्नै पर्ने अवस्था सिर्जना गरे काम धेरै उठ्ने थियो । तर जानेर हो कि नजानेर हो कामको मेलो पटक्क सरेको देखिन्न । कोसी प्रदेश फाउन्डेसनकी सदस्य  मिथिला पोखरेलले खास कामको आफूलाई जिम्मा दिन माग गरेको एक वर्ष भयो तर पाउनु भएको छैन ।  सिर्जनात्मक,वैचारिक र साङ्गठनिक काम गर्न जान्ने हो भने  पार्टी र हर मोर्चा प्रदेश र देशव्यापी बन्छन्  । गठन,पुनर्गठन,सम्मेलन र अधिवेशनमा मात्र सीमित भएपछि डेगिलो काम केही हुँदैन ।  मृत्यु शोकमा समवेदना प्रकट गर्ने र मलामी जाने देखावामा  काम गरेर मात्र हुँदैन । कम्तीमा  समवेदना प्रकट गर्न जाँदाका  बखत राजसा महासंघ,सुनसरीले जस्तै मृत्यु संस्कार विमर्श कार्यक्रम गरे यस सम्बन्धी विकास क्रमको जानकारी हुन्थ्यो ।  अब कसैले र कसैको पनि औचित्य काम र क्रियाकलापबाट सिद्ध गर्नुपर्छ । केही दिन अघि पार्टी अध्यक्ष ओलीले एमाले नेताहरूलाई  लक्षित गरी व्यक्त गर्नु भएका विचारबाट अहिलेको दयनीय दृश्य उजागर हुन्छ । उहाँका अभिव्यक्तिबाट पार्टीमा महागुरु भए गुरु जन्मिन्छन् गुरु भए ज्ञान पाउँछन् तर नाम मात्रका गुरुबाट कसैले केही सिक्नेवाला छैन ।  
 
पहिले हाम्रा पुर्खाहरूले तत्कालीन चेतना अनुसार आत्मा,परमात्मा,देवता,ईश्वर आदिको जे जस्तो व्याख्या र विश्लेषण गरे । त्यसैमा अब अल्झिएर हुँदैन । उनीहरूले सूर्य घुम्छ भनेको कुरा पछि गलत सिद्ध भयो । चन्द्रमालाई भगवान् भनेर पूजाआजा गरियो । यो पनि सही सिद्ध भएन । 

बामन शिराम आप्टेको प्रसिद्ध संस्कृति हिन्दी शब्द कोशमा  आत्माको अर्थ जीव,देश,शरीर र प्राण भनिएको छ । त्यसैले आत्मा अजर अमर छ र यो आत्मा परमपिता परमेश्वरको आमाको अंश हो भन्ने कुरा होइन । परमात्मा भनेको सबै मानव र जीवको आत्मा वा देहको समष्टि  हो ।  हाम्रा पुर्खाहरूले   जसले बढी दिन्छ, र मानव  समाजको भलाइका लागि आफूलाई समर्पित गर्छ , त्यसलाई देवता र भगवान् भनेका हुन्  । त्यर्सैले उनीहरूले वायु, जल, जंगल, अग्नि, सूर्य, वनस्पति  आदिलाई देवता मानेका हुन् । त्यसैले संस्कार र संस्कृतिका सम्बन्धमा हाम्रा पुर्खाका विचार धारणा र व्यवहारमा सकारात्मकता देख्न सक्नु पर्छ । 

उहिल्यै हाम्रा पुर्खाहरूले सभाभ्यो नम : अर्थात् सभा समारोहमा उपस्थित तथा सहभागीहरूलाई अभिभावन भने र गरे । यसको अर्थ जन सहभागिता र जनतालाई पहिलो प्राथमिकतामा राखेका हुन् अनि मात्र    सभापतिभ्यो नमः अर्थात् सभापति सहित मन्चासीनलाई नमन भने ।  

यहाँ त आफू नजान्ने अनि भनेको पनि नमान्ने अराजकताले रूपान्तरणको  काम एक पाइलो अघि बढेको छैन । यस सम्बन्धी अध्ययन र चिन्तन नै पहिलो काम हो । यसका आधारमा रूपान्तरण सम्बन्धी अध्ययन सामग्री तयार पार्न ध्यान दिनु विभागको सर्वोपरि महत्त्वपूर्ण काम हो । सांस्कृतिक रूपान्तरणको सोच नै नहुने यस विषयमा केही नै नगरी हामी कसरी रूपान्तरित हुन्छौँ ? सतिसालझैँ खडा हुने जनाधार तयार गर्न पटक्क ध्यान नदिई आयाराम र गयारामकै भरमा पर्ने हो भने कुनै पनि घोषित लक्ष्य हासिल हुन सक्तैन । यस्ता विषयमा राम्ररी ध्यान नदिई  मिसन ८४  सफल बनाउन सकिन्न ।  लागे पछि त भित्री मनदेखि नै लाग्नु पर्ने होइन र ?  

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  २ : ५३ बजे