साफ यू–१७ च्याम्पियनसिप आजदेखि

चितवनको सनराइज सहकारीका सञ्चालक पक्राउ,छ सय बचतकर्ताको रकम हिनामिना

चितन । चितवनको सनराइज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक ठगीको आरोपमा पक्राउ परेका छन् । छ सय बढी बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्ष नरेन्द्र कुमार रिमाल र सचिव योगेन्द्र पाण्डे पक्राउ परेका हुन् ।
लामो समयदेखि फरार रहेका उनीहरुलाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोतीबाट आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनीहरुलाई नवलपरासीको छिपछिपे सहकारीमा पनि रकम हिनामिना गरेको आरोप लागेको छ । 

चितवनको लायन्सचोक, विकासचोक, चनौली र पार्वतीपूरमा कार्यालय स्थापना सहकारीले कारोबार गर्दै आएको थियो । करिब एक बर्षभन्दा अघिदेखि सहकारीका सञ्चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार, अहिलेसम्म सनराईज सहकारीका छ सयभन्दा बढी बचतकर्ताले ठगीको भन्दै उजुरी दिएका छन् ।

उनीहरुको करिब ३३ करोड रुपैयाँ रकम सहकारीमा फसेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी श्रीराम भण्डारीले जानकारी दिए । उजुरी दिने क्रम जारी रहेकाले यो रकम अझै बढ्न सक्ने उनले बताए । यस सहकारीका सञ्चालक समितिका अध्यक्ष रिमाल सहित उपाध्यक्ष सन्तोषि केसी, सचिव योगेन्द्र पाण्डे र कोषाध्यक्ष कृष्णप्रसाद ज्ञवाली विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  १० : ०० बजे