‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

क्विटोस्थित दूतावासमा प्रहरी आक्रमणपछि मेक्सिकोले इक्वेडरसँगको कूटनीतिक सम्बन्ध तोड्यो

क्विटो (इक्वेडर)। भ्रष्टाचारको आरोपमा दोषी ठहर भएपछि राजनीतिक शरण मागेका इक्वेडरका पूर्वउपराष्ट्रपतिलाई गिरफ्तार गर्न प्रहरी मेक्सिकाली दूतावासमा प्रवेश गरेपछि मेक्सिकोका राष्ट्रपतिले तुरुन्तै इक्वेडरसँगको कूटनीतिक सम्बन्ध तोड्ने कदम चाल्नुभएको छ ।

डिसेम्बरदेखि मेक्सिकाली दूतावासमा बस्दै आउनुभएका जर्ज ग्लासलाई गिरफ्तार गर्नका लागि इक्वेडरको प्रहरी राजधानी क्विटोस्थित दूतावासमा प्रवेश गरेपछि राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्रेडोरले शुक्रबार साँझ इक्वेडरसँगको कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गर्नुभयो ।

घुसखोरी र भ्रष्टाचारको आरोपमा दोषी ठहराइएका ग्लास सम्भवतः इक्वेडरमा सर्वाधिक वाञ्छित व्यक्ति हुनुहुन्छ र इक्वेडरका अधिकारीहरूले अहिले पनि उहाँविरुद्ध थप आरोपहरूको अनुसन्धान गरिरहेका छन् । इक्वेडरको राजधानीमा मेक्सिकाली कूटनीतिक मुख्यालयबाहिर ढोका फोरेर ग्लासलाई लिन प्रहरी मुख्य आँगनमा प्रवेश गरेको थियो ।

“यो सम्भव छैन, यस्तो हुन सक्तैन, यो पागलपन हो”, क्विटोमा मेक्सिकाली कन्सुलर खण्डका प्रमुख रोबर्टो क्यान्सेकोले दूतावास बाहिर उभिएर स्थानीय प्रेसलाई भन्नुभयो, “उनीहरूले ग्लासलाई मार्न सक्छन् भनेर म अत्यन्त चिन्तित छु, यस्तो गर्ने कुनै आधार छैन, यो सम्पूर्णरूपमा मानकभन्दा बाहिर छ ।”

आफ्नो फैसलाको बचाउ गर्दै इक्वेडरका राष्ट्रपतिले एक विज्ञप्तिमा भन्नुभयो, “इक्वेडर एक सार्वभौम राष्ट्र हो र हामी कुनै पनि अपराधीलाई स्वतन्त्र रहन अनुमति दिने छैनौँ ।”

मेक्सिकाली राष्ट्रपति लोपेज ओब्रेडोरले ग्लासको हिरासतलाई ‘तानाशाही कार्य’ र ‘अन्तर्राष्ट्रिय कानून र मेक्सिकोको सार्वभौमिकताको घोर उल्लङ्घन’ भन्दै जवाफ फर्काउनुभयो ।

मेक्सिकोको विदेश सम्बन्ध सचिव एलिसिया बार्सेनाले सामाजिक सञ्जाल एक्समा प्रहरी दूतावास प्रवेश गर्ने क्रममा धेरै कूटनीतिज्ञलाई चोट लागेको भन्दै यसले कूटनीतिक सम्बन्धमा भियना महासन्धिको उल्लङ्घन गरेको बताउनुभयो ।

भियना महासन्धिअन्तर्गत कूटनीतिक परिसरहरू ‘अभेद्य’ मानिन्छन् र स्थानीय कानून प्रवर्तन एजेन्सीलाई राजदूतको अनुमतिबिना कूटनीतिक परिसरमा प्रवेश गर्ने अनुमति छैन । विकिलिक्सका संस्थापक जुलियन असान्जे सात वर्षसम्म लन्डनस्थित इक्वेडरको दूतावासभित्र बस्नुभएको छ । त्यसैले बेलायती प्रहरी उहाँलाई पक्राउ गर्न दूतावासभित्र प्रवेश गर्न सकेन ।

बार्सेनाले मेक्सिकोले अन्तर्राष्ट्रिय कानून उल्लङ्घनका लागि इक्वेडरको जिम्मेबारीलाई निन्दा गर्न मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने जानकारी दिनुभयो । उहाँले मेक्सिकाली कूटनीतिज्ञहरू इक्वेडर सरकारबाट उनीहरूको घर फिर्तीका लागि आवश्यक ग्यारेन्टी प्राप्त गर्न पर्खिरहेको बताउनुभयो ।

इक्वेडरको विदेश मन्त्रालय र गृह मन्त्रालयले यसबारेमा तत्काल कुनै जवाफ दिएका छैनन् । क्विटोमा मेक्सिकाली दूतावास शुक्रबार राति प्रहरीको सुरक्षामा रह्यो ।

एक दिनअघि मेक्सिकोका राष्ट्रपतिले इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआ निर्वाचित भएको गत वर्षको निर्वाचनलाई इक्वेडरले ‘धेरै दुर्भाग्यपूर्ण’ ठानेको बताएपछि दुई मुलुकबीच तनाव बढेको थियो । जवाफमा इक्वेडर सरकारले मेक्सिकाली राजदूतलाई अवाञ्छित व्यक्ति घोषणा गरेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ७ : २९ बजे