साफ यू–१७ च्याम्पियनसिप आजदेखि

घुम्ती शिविरमार्फत अपाङ्गता परिचयपत्र वितरण

म्याग्दी।  म्याग्दीको धवलागिरि गाउँपालिकाले परिचयपत्र र सहायता सामग्री वितरण गर्न सञ्चालन गरेको घुम्ती शिविरबाट दुई सय सातजना अपाङ्गता भएका सर्वसाधारण लाभान्वित भएका छन् । 

 यही चैत १९ देखि २३ गतेसम्म पाँचवटा वडामा आयोजना गरिएको घुम्ती शिविरमा ७७ जनालाई अपाङ्गता परिचयपत्र र एक सय ३० जनालाई सहायता सामग्री वितरण गरिएको हो । शारीरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडास्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले जानकारी दिनुभयो । 

 वडा २ मा पाँच, वडा नं ३ मा १४, वडा नं ४ मा १४, वडा नं ६ मा आठ र वडा नं ७ मा ३६ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । ९५ जना अपाङ्गलाई लट्ठी, पाँचजनालाई वैशाखी, नौजनालाई ब्लाइन्ड स्टिक (ह्वाइट क्यान), छ जनालाई कम्बोड कुर्ची र १५ जनालाई कम्मर पेटी उपलब्ध गराइएको उहाँले बताउनुभयो ।  

 अर्को चरणमा ह्विल चियर प्रयोग गर्ने अपाङ्गता भएकालाई ह्विल चियर पनि वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनुभयो । गाउँपालिकाको कार्यालयमा पुगेर लिनुपर्ने सेवा सर्वसाधारणले वडामै सेवा पाउँदा सहज भएको बताएका छन् । 

 गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत सुवेदी, बेनी अस्पतालका चिकित्सक डा रोशन आचार्य, वडाध्यक्ष, कार्यपालिका सदस्य, गाउँपालिकाका कर्मचारी देव पुन, स्वास्थ्य शाखाका सहसंयोजक अनिशा आचार्यले परिचयपत्र र सहायता सामग्री वितरण गर्नुभएको थियो । 

 वडामै निवेदन सङ्कलन गरी अपाङ्गता समन्वय समितिको बैठक बसेर निर्णय गरी परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष पुनमगरले अशक्तहरुलाई झन्झटरहित तरिकाले परिचयपत्र उपलब्ध गराउन वडामा पुगेको बताउनुभयो । 

 अपाङ्गता भएका नागरिकहरुले परिचयपत्रका आधारमा सार्वजनिक यातायातलगायत क्षेत्रमा पाउनुपर्ने छुट सुविधा नपाएको विषयमा गाउँपालिकासँग गुनासो गरेका छन् । 

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  २ : ४१ बजे