गण्डकीमा राप्रपाको साथ खाेज्दै ओली,राष्ट्रवादी शक्तिहरू एकजुट हुन आग्रह

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गण्डकी प्रदेशको सरकार बनाउन राप्रपाको साथ खोज्नुभएको छ ।  

पार्टी कामको सिलसिलामा पोखरा आउनुभएका ओलीले  शुक्रबार राप्रपाका नेताहरूसँग भेटेर  प्रदेश सरकार बनाउन सहयोग गर्न  आग्रह गर्नुभएको हो । 

एमाले कास्कीको नवनिर्वाचित कमिटीलाई शपथ गराउन शुक्रबार पोखरा आउनुभएका ओलीले लेकसाइडमा राप्रपा संसदीय दलका नेता पञ्चराम गुरूङसँग भेटघाट गर्नुभएको हो । 
राप्रपा गण्डकीका अध्यक्ष एवं सांसद गुरुङसँग ओलीले  राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्ने भन्दै सरकार बनाउन सहयोग माग्नुभएको हो । 

राप्रपा सांसद गुरूङले  केन्द्रको निर्णय अनुसार आफुहरु चल्ने बताउनुभयो ।  गण्डकीको वस्तुस्थिति केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनलाई ब्रिफिङ गराइसकेको भन्दै उनले केन्द्रबाट निर्णय नहुँदासम्म कसैलाई सघाउन नसक्ने दोहोर्‍याउनुभयो।
गण्डकीमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डेको सरकार जोगाउन होस् वा एमाले मओवादी गठबन्धनको सरकार बनाउन राप्रपा निर्णायक छ। 

६० सदस्य रहेको गण्डकी प्रदेश सभामा सरकार बनाउन ३१ मत चाहिन्छ। गण्डकीमा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८ राप्रपाको २ र स्वतन्त्र चुनाव जितेर नेकपा एकिकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ उर्फ दीपक मनाङे सांसद छन्।

माओवादीबाट सभामुख बनेका कृष्ण धितालले सरकार बनाउन मत दिन पाउँदैनन्। यसले गर्दा एमाले र माओवादीको मात्र २९ मत पुग्छ। राप्रपाले साथ दिएको खण्डमा ३१ मत पुग्छ। 

यता, कांग्रेस सरकार टिकाउन पनि कांग्रेसको २७, दिपक मनाङे र माओवादीको चुनाव चिन्ह लिएर जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र राप्रपाको २ सांसदको साथ चाहिन्छ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ३ : ०६ बजे