राजनीति, शिक्षा र जनताको चेतना

"समृद्ध र शान्त देश बनाउन परिपूर्ण लोकतन्त्रलाई सुदृढ गर्दै सबै नयाँ पुस्तालाई सकारात्मक र रचनात्मक सोच र व्यवहार गर्न सक्ने बनाउनु पर्छ। यसका लागि शिक्षा व्यवस्थासँगै प्रशासनिक, न्यायिक र आर्थिक संरचनामा संरचनात्मक परिवर्तन अनिवार्य भएको छ।" 

शिक्षाको चरित्र बदली नगरी सुधारको प्रयास मात्रै गर्नु भनेको यथास्थितिलाई निरन्तरता दिनु हो। यथास्थितिमा सुधारमा रमाउनु भनेको शिक्षामा पश्चिमा चिन्तन प्रणालीको प्रभाव अझ बढाउनु हो। अहिले पश्चिमा चिन्तन प्रणालीको प्रभाव बढाउने लक्ष्यका साथ क्रियाशील पात्र र प्रवृत्तिको नेतृत्वमा शिक्षाको गुणस्तर बढ्ने परिकल्पना गर्नु भनेको समय, श्रोत र साधनको सदुपयोग हुन नदिएर नयाँ पुस्तालाई निरन्तर भ्रमित बनाइरहनु र परदेशिन प्रेरित गरिरहनु हो।

 

"कुनै देश ध्वस्त बनाउनु छ भने त्यो देशको शिक्षा ध्वस्त बनाउनु पर्छ।" (नेल्शन मण्डेला) आज नेपालमा जनताको चेतना विशिष्ट बन्न नदिने नियतका साथ रूपमा शिक्षामा सुधारको कुरो गरिदैछ भने सारमा त्यसले शिक्षा ध्वस्त बनाउने काम गरिरहेको छ। आज शिक्षामा सुधार होइन आमूल परिवर्तन आवश्यक छ। बढ्दो पलायन संस्कृतिबाट नयाँ पुस्तालाई टाढा राख्ने शिक्षा व्यवस्था र राज्यको नीति चाहिएको छ। राज्य सञ्चालनमा मुख्य भूमिका खेलिरहेका पात्रहरूमा नागरिक निर्यात गरेर वस्तु आयात गर्न सिकाउने शिक्षा र सघाउने राज्यको नीति त्याग्ने बुद्धि र सामर्थ्य देखिनु पर्छ।

 

"आँखाले त्यो कुरा मात्र देख्छ, जुन कुरा बुझ्न मन तयार छ।" यो सत्यलाई मनन गरेर जनताको मनस्थिति विशिष्ट बनाउन राज्यले शिक्षामा आमूल परिवर्तन गर्दै लगानी बढाउनु पर्छ। यसका साथै जनतालाई सही सूचना र गुणस्तरीय शिक्षाबाट निरन्तर प्रशिक्षित पनि गरिरहनु पर्छ। जसले जनताको चेतना र देशको राजनीति स्तरीय बनाउन सहयोग गर्नेछ। अनिमात्र जनतामा राज्यप्रति विश्वास बढ्छ र पलायन मनोविज्ञान कमजोर भएर देशमै केही गरौं भन्ने भावना बलियो बन्न थाल्नेछ। त्यसैले राजनीतिक परिवर्तन गरेर मात्रै जनताको मनोविज्ञान सकारात्मक बनाउन सकिन्न। यसका लागि शिक्षा व्यवस्थामा नै आमूल परिवर्तन गर्नैपर्छ।

 

राजनीति नीतिहरूको राजा हो भने शिक्षा राजनीतिको जननी हो र जनताको चेतना शिक्षाको उपज हो।  यो यथार्थ बुझेर नेतृत्वले आफ्नो भूमिका बढाउनु र क्षमता पनि देखाउनु पर्छ। त्यसैले भनिएको हो, "राजनीतिक नेतृत्व भनेको दृष्टिकोणलाई यथार्थमा रूपान्तरण गर्ने क्षमता हो।" हामीले बुझ्नुपर्छ; राजनीति, शिक्षा र जनताको चेतना एकअर्काको क्षमता र प्रदर्शनका आधारमा बलियो बन्छ। एउटा कमजोर हुँदा अर्को स्वतः निस्प्रभावी हुन्छ।अहिले नेपालमा भएको पनि त्यही हो। 

 

कुनै पनि प्रकारको गरिबी अन्त्य गर्न हामीले सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्नुपर्छ। यसका साथै हामीले प्रगतिशील लोकतान्त्रिक राजनीतिक शक्तिलाई बलियो बनाएर नीतिहरूलाई प्रगतिशील बनाउनु पर्छ। खासगरी नयाँ पुस्तालाई सशक्त बनाउन हामीले उनीहरूले पाउने शिक्षाको चरित्र पनि राज्यको चरित्रअनुरूपको बनाउन सक्नुपर्छ। अन्यथा राज्यको चरित्र एकातिर नयाँ पुस्ताको गतिविधि अर्कातिर भएर देशमा अराजकता र स्वछन्दता बढीरहन्छ। यो आज देशको वस्तुगत अवस्था हो। बौद्धिक दरिद्रता अपराधको जननी हो भनिन्छ। यो यथार्थ हामीले बुझ्न सकिरहेका छैनौं भन्ने कुरा हाम्रा बोली र व्यवहारहरूले देखाइरहेको छ।

 

"ज्ञान नै शक्तिको श्रोत हो। शिक्षा ज्ञानको महाशक्ति हो भने सकारात्मक र रचनात्मक जनमनोविज्ञान असल अर्थात प्रगतिशील लोकतान्त्रिक राजनीतिको बलियो आधार हो।" तर आज जनमनोविज्ञान भ्रमित भएको छ। भ्रमित जनमनोविज्ञानले राजनीतिमा असल र खराब छुट्याउने भन्दा खराबलाई असल देख्न थालेको छ। यसले देशको राजनीति प्रदुषित बन्दैछ र विचारहीन राजनीति अनि चरित्रहीन र नैतिकहीन पात्रको चर्चा भइरहेको छ। यसले देशको परिस्थिति हिजोभन्दा आज असुरक्षित बनिरहेको छ।  शिक्षाविद् अलि इज्जद्दीन भन्छन्, "हामी विश्वास गर्छौं कि शिक्षाले एउटा राम्रो संसारलाई आकार दिन सक्छ जहाँ मानिसहरू र  विश्वमा समृद्धि र सद्भावमा कायम हुन्छ।" तर हाम्रो शिक्षाले हाम्रो चेतना हिजोको भन्दा आज कमजोर बनाइरहेको छ। हाम्रो मनोविज्ञान भ्रष्ट पनि बनाउँदैछ। 

 

आज त्यो ज्ञान, शिक्षा र मनोविज्ञानमाथि प्रश्न उठेको छ। यो प्रश्नको सही उत्तर नखोज्दासम्म देशको अवस्थामा सकारात्मक र गुणात्मक परिवर्तन हुने देखिएन। त्यसैले शिक्षा व्यवस्थामा आमूल परिवर्तन नगरी न प्राप्त ज्ञानले शक्ति दिन्छ न त शिक्षा त्यो शक्तिको श्रोत बन्छ न त सामाजिक मनोविज्ञान प्रगतिशील लोकतान्त्रिक राजनीतिको बलियो आधार नै बन्नसक्छ। यसबाट स्पष्ट हुन्छ, हाम्रो शिक्षाले हामीलाई ठीक ढंगले दीक्षित र प्रशिक्षित गरिरहेको छैन्। त्यसैले त हामी २१औं शताब्दीमा पनि भ्रमहरूबाट प्रभावित र निर्देशित भइरहेका अनि खराबका पछि कुदिरहेका छौं। प्रगति खोज्न प्रतिगमनको त उन्नति खोज्न दासताको साहारा लिदैछौं। फेरि खराबलाई अघि लगाएर सुशासन र समृद्धि खोज्दैछौं। त्यसैले समस्या हाम्रो चेतमा नै छ न कि हाम्रो शासन व्यवस्थामा।

 

शिक्षक, शिक्षा क्षेत्रका सरोकारावाला र राजनीतिक नेतृत्वहरूले बुझ्नुपर्छ, शिक्षाको गुणस्तर राम्रो बनाउन नसक्दासम्म न जनताको मनोविज्ञान सकारात्मक र रचनात्मक बन्नसक्छ न त देशको राजनीति नै प्रगतिशील लोकतान्त्रिक बनेर देशको अवस्थामा गुणात्मक सुधार ल्याउन सक्छ। यो लेखक विश्वास गर्छ, राजनीतिमा शुद्धीकरण गर्नुभन्दा अघि जनताको मनोविज्ञान शुद्धीकरण हुनुपर्छ। जनता भ्रमहरूबाट मुक्त हुनुपर्छ। जनताले खराब र असल छुट्याउने क्षमता देखाउनु र प्रगतशील लोकतान्त्रिक राजनीतिक विचार र नेतृत्व चिन्न र चुन्न सक्नुपर्छ। त्यसैले शिक्षाको चरित्र पुर्वीय चिन्तन प्रणालीको जगमा विकास गर्नुका साथै खराब पात्र र प्रवृत्तिलाई चिनेर तिनको बहिष्कार गर्ने क्षमता हामीमा विकास हुनुपर्छ। अन्यथा न देशको अवस्था बदलिन्छ न त जनअपेक्षाहरू नै पुरा हुनेछ।

 

जबसम्म हामी पश्चागमनउन्मुख शिक्षा तथा सामाजिक व्यवस्थाबाट प्रशिक्षित भइरहनु पर्ने परिस्थिति कायम रहन्छ तबसम्म देशमा अतितमुखी सोच हावी भइरहन्छ। देशमा राजनैतिक तथा संवैधानिक स्थिरता कायम भएर समृद्ध देश सुखी नागरिक बनाउने राजनीति बलशाली बन्ने परिस्थिति बन्दैन्। शिक्षाले हाम्रो मनोविज्ञान सकारात्मक बनाएर देशमै केही हुन्छ भन्ने आशा जगाएर नयाँ पुस्तालाई देशभित्रै उत्पादन तथा सेवा क्षेत्रमा सक्रिय हुन सिकाइरहनु पर्छ।

 

देश समृद्ध र जीवन सुखी बनाउन हाम्रो मनस्थिति सकारात्मक र आसावादी अनि व्यवहार रचनात्मक हुनुपर्छ। यसका लागि हामी भविष्यमुखी शिक्षा र सामाजिक , प्रशासनिक, न्यायिक र आर्थिक व्यवस्थाबाट निर्देशित भइरहनु पर्छ। हाम्रा क्षमताहरू देशको समृद्धिमा प्रयोग गरिरहनु पर्छ। यो नियमित र निरन्तर चलिरहने प्रक्रिया हो। यो कुरो हामीले बुझ्नुपर्छ, हामी युवा भावना र आचरणका साथ सक्रिय भइरहन सक्यौं भने उत्पादन प्रणालीमा योगदान गर्ने हुन थाल्छौं। त्यसैले निर्धक्कसँग भन्न सक्नुपर्छ, आजको समय राजनीति, शिक्षा र जनताको चेतनामा सकारात्मक र गुणात्मक परिवर्तनका लागि सबभन्दा उत्तम समय हो किनभने हामी यो भन्दा खराब अवस्थामा पुग्ने कुनै ठाउँ छैन्।

 

सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूको व्यापक दुरूपयोग गरेर व्यवस्था विरोधीहरूले जनतामा लोकतान्त्रिक गणतन्त्रभन्दा राजतन्त्रात्मक व्यवस्था नै ठीक भन्ने जनमनोविज्ञान विकास गर्न खोजिदैछ। लोकतान्त्रिक गणतन्त्रवादीहरूले पनि आफ्ना व्यवहार र आचरण अनि राज्य संयन्त्रहरूलाई लोकतान्त्रिक गणतन्त्रअनुरूप बनाउन र चलाउन सकेका छैनन्। जसका कारणले जनतामा पनि व्यापक आक्रोश बढ्दैछ। यही जनआक्रोशको जगमा राजनीति गर्नेहरू पनि जोरस्वरका साथ क्रियाशील भइरहेका छन्। 

 

त्यसैले यतिखेर हामीले राजनीतिको रूप पक्ष हेरेर होइन, सार पक्ष बुझेर पनि राजनीतिको टिप्पणी र विश्लेषणहरू गर्नुपर्ने भएको छ। अहिले रातारात लोकप्रिय देखिएका पात्रहरूको चरित्र, व्यवहार र विगत अत्यन्त विवादास्पद भएको कहीं कतै लुकेको छैन्। नेपालमा आयातित मुद्दा स्थापित गर्न विभिन्न माध्यमहरूबाट बाह्य लगानीहरू भइरहेका छन्। ति लगानीहरूबाट हाम्रा प्राज्ञिक वर्ग अनि सञ्चार माध्यमहरू प्रभावित भएको पाईन्छ। तिनले असल विचार र मुद्दालाई स्थापित गर्न भन्दा आयातित विचार र मुद्दालाई स्थापित गर्न आफ्ना क्षमता र भूमिकाहरू प्रयोग गर्नलाई रमाएको देखियो। जसले राजनीति अस्थिर बनाएर नियन्त्रित अस्थिरता बढाउने काम गरेको छ। यो खालको प्राज्ञिक वर्ग तयार गर्ने शिक्षा व्यवस्थामाथि प्रश्न उठाउनु पर्ने भएको छ। खराब शिक्षा सुधार्न राजनीतिले मुख्य भूमिका खेल्नुपर्ने समय आएको छ। अनिमात्र जनताको चेतनाले परिपूर्ण लोकतन्त्रको पक्षमा उभिने सामर्थ्य देखाउँछ। अन्तमा “फरक मान्छेको सोचमा छ किनभने भर्याङ त्यही हो, जसले माथि पनि पुर्याउँछ, तल पनि।” आज राजनीति त्यस्तै भएको छ। शिक्षाले जनताको चेतना उत्कृष्ट बनाउन सकेको छैन्।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  २ : ३७ बजे