बुवाको दाहसंस्कार गरेर फर्किँदै गर्दा परिवार नै खस्यो त्रिशूलीमा

काठमाडौं । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खसेर मृत्यु भएका पाँच जना मलामी गएर फर्कँदै गरेको खुलेको छ । दुर्घटनामा परी मृत्यु भएका पाँचै जना काठमाडौँबाट बुबाको दाहसंस्कार गरी गोरखा फर्कँदै थिए ।

पशुपति आर्यघाटमा  बुबाको अन्तिम संस्कार गरेर  क्रिया बस्नको लागि गोरखा फर्कँदै गर्दा दुर्घटना हुँदा उनीहरूले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार  ट्याक्सीमा सवार सबै मलामी हुन । ट्याक्सीमा मृतककी श्रीमती, छोरा, बहिनी, दिदी, भान्जा र ज्वाइँ सवार थिए । 

आज बिहान इच्छाकामना गाउँपालिका –५ मा पर्ने पृथ्वी राजमार्गको मिलधारा नजिकबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खस्दा ट्याक्सीमा सवार पाँचै जनाको मृत्यु भएको थियो । मृतक मध्ये ४ जना एक परिवारका हुन् ।

 मृत्यु हुनेमा गोरखा नगरपालिका ७ का ४१ वर्षका हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षकी अञ्जना रोकाय र ९ वर्षका बालक आगमन नगरकोटी रहेका छन् । १८ वर्षका दिवस रोकाए भने त्रिशूली नदीमा हराइरहेका छन् । उनीहरू एकै परिवारका भएको खुलेको छ ।

बुबाको हिजो पशुपतिमा दाहसंस्कार गरी आज बिहानै गोरखाका लागि आउँदै गरेको बेला दुर्घटना गोरखा नगरपालिका–७ का वडाध्यक्ष विष्णु प्रसाद श्रेष्ठले बताए । दुर्घटना भएको ट्याक्सी ज्वाइँले चलाएको पाइएको उहाँले बताउनुभयो ।   इलाका प्रहरी कार्यालय मुग्लिनका इन्स्पेक्टर विशाल तामाङका अनुसार गाडी चालक ३५ वर्षका अर्जुन शिर्मल रोकाय परिवारका ज्वाइँ हुन् । मृत्यु हुने ७० वर्षीया जुनकिरी रोकाय शिर्मलका सासू हुन् भने अन्य दुई ४१ वर्षकी हरिमाया रोकाय र २८ वर्षकी अञ्जना जुनकिरीकी छोरी हुन् ।९ वर्षका बालक आगमन नगरकोटी जुनकिरीकी छोरीकी छोरा हुन् ।  जुनकिरीका अर्का नाती १८ वर्षका दिवस अझै हराइरहेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  १० : ०२ बजे