सुनको मूल्यमा नयाँ कीर्तिमान

गृहमन्त्रीको निर्देशन- विमानस्थलमा यात्रुहरुलाई दुःख, कष्ट दिने प्रवृत्ति सुधार्नुस्

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विमानस्थलमा यात्रुहरुलाई अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट, हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न आग्रह गर्नुभएको छ ।

काठमाडौंको कालिकास्थानस्थित अध्यागमन विभागका कर्मचारीहरुसँगको भेटमा मन्त्री लामिछानेले विमानस्थलमा सहानुभूति सहित सकारात्मक व्यवहार गरी सेवाग्राहीलाई परिवर्तनको अनुभूति दिलाउन कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

‘विदेशीका लागि अध्यागमन देशको मुहार हो । मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा बन्दैन । अध्यागमन सुधारका योजना ल्याउनुस् । मन्त्रालय निर्देशन होइन सहकार्य गर्न तत्पर छ,’ उहाँले भन्नुभयो ।

केही खराव मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेको उल्लेख गर्दै लामिछानेले खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्न आग्रह पनि गर्नुभयो । अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रविधिमैत्री बनाउन, जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन चुनौती रहेपनि सुधार गर्न सकिने आधारहरु प्रश्तुत गर्नुभयो ।

कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाई र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न निर्देशन दिनुभयो ।

सो अवसरमा विभागका महानिर्देशक कोषहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतिबारे जानकारी गराउनुभएको थियो ।

 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ५ : ०२ बजे