साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सवारी दुर्घटनामा परेका कमेडियन सुशान्त बस्यालको अवस्था गम्भीर, भेन्टिलेटरमा उपचारहुँदै

काठमाडौं ।  सवारी दुर्घटनामा परेका युवा कमेडियन सुशान्त बस्यालको अवस्था गम्भीर रहेको बताइएकाे छ । शुशान्तलाई मध्यपुर ठीमी अस्पतालको भेल्टिलेटरमा राखेर उपचार भइरहेको बताइएको छ ।  हिजो बिहान ३ बजेतिर नगरकोटबाट फर्किदै गर्दा निर्देशक विशाल भण्डारीसहित ६ जना चढेको कारले विपरित दिशामा रोकिएको टिप्परलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा कलाकार  बस्यालको  टाउकोमा गहिरो चोट लागेको थियो । अचेत अवस्थामा रहेका बस्याललाई चिकित्सकले एनेस्थेसिया दिएर २४ घन्टा अब्जर्भेसनमा राखेका थिए । अहिले पनि उनी अचेत नै छन् । चिकित्सकले बस्याललाई बचाउन प्रयासरत रहेको आज ब्रिफिङ गरे ।

बस्याल कमेडी च्याम्पियनको दोस्रो सिजनका प्रतिस्पर्धि हुन् । अहिले प्रशारण भइरहेको तेस्रो सिजनमा उनी प्रोडक्सन टीममा छन् ।

दुर्घटनामा परेका अन्य तीनजना पनि मध्यपुर ठीमी अस्पतालमा उपचाररत छन् । उनीहरू खतरमुक्त रहेको स्रोतले बतायो । घाइते भएका कमेडियन पवन भट्टराईको चिउँडो र मुखमा चोट लागेको छ । उनी आसामका कलाकार हुन् । भट्टराई कमेडी च्याम्पियनको दोस्रो सिजनका प्रतिस्पर्धि थिए भने कमेडी क्लव विथ च्याम्पियनका नियमित सदस्य थिए ।

प्रकृती गिरीको हात भाँच्चिएको छ । यस्तै रजनिस अर्यालको नाकमा चोट लागेको छ । उनीहरू दुवै कमेडी च्याम्पियनको जारी सिजनका प्रतिस्पर्धि हुन् ।

दुर्घटनामा परेका निर्देशक विशाल भण्डारी र पुजन अधिकारी भने प्रहरी हिरासतमै छन् । मदिरासेवन गरेर गाडी चलाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको थियो । दुवैलाई सामान्य चोटपटक लागेको छ । दुर्घटना कसरी भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।  टिप्पर चालक सागर पौडेललाई पनि प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  १२ : ४१ बजे