‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

गाजा आक्रमणमा ३६ आफन्तको मृत्यु

गाजा क्षेत्र ।  इजराइली बमबारीबाट विस्थापित तबातिबी परिवार रमजानको पहिलो शुक्रबार राति सँगै खाना खान मध्य गाजामा जम्मा हुँदाको दृश्य चाँडै रक्तपातमा बदलियो । 

महिलाहरूले उपवासको खाना तयार गर्दा उनीहरू बसेको भवनमा हवाई आक्रमण हुँदा परिवारका ३६ सदस्यको मृत्यु भएको आक्रमणमा बाँचेकाहरूले बताएका छन् । 

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको समान सङ्ख्या जानकरी गराउँदै इजराइललाई नुसेरतमा भएको आक्रमणको दोषी ठहराएको छ । इजराइली सेनाले घटनाको जाँच गरिरहेको बताएको छ ।  

    “यिनी मेरी आमा, बुवा, काकी र मेरा भाइहरू हुन्”, हमलामा परी दोस्रो हातमा चोट लागेका १९ वर्षीय मोहम्मद अल–तबातिबीले देर अल बलाहमा रहेको अल–अक्सा शहिद अस्पतालमा आँसु बगाउँदै भन्नुभयो, “उनीहरूले हामीलाई घरभित्रै हमला गरे । मेरो आमा र काकी उपवासको खाना पकाउँदैहुनुहुन्थ्यो, सबैको मृत्यु भयो ।”

अस्पतालको आँगनमा शवहरू थुप्रिएपछि ट्रकमा कोचेर समाधिस्थल पुर्याउनुपर्ने उहाँले बताउनुभयो । शव व्यवस्थापन सामग्रीको अभावमा मृतकहरूलाई रगतले लतपतिएको सेतो कपडामा बेरेर राखिएको एएफपी टेलिभिजनले प्रसारण गरेको छ । 

सोमबारदेखि सुरू भएको मुस्लिमहरूको पवित्र महिना रमजानको पहिलो शुक्रबार पवित्र अल–अक्सा मस्जिद क्षेत्र तनावपूर्ण भए पनि इजराइली कब्जामा रहेको पूर्वी जेरुसेलममा भने शान्तिपूर्ण रह्यो । 

गाजा क्षेत्रमा भने स्थिति फरक थियो । नुसेरतमा शुक्रबार राति भएको हवाई आक्रमण उत्तर गाजा क्षेत्रदेखि दक्षिणमा रफासम्म भएको ६० घातक हवाई आक्रमणमध्ये एक भएको हमासद्वारा सञ्चालित सरकारको प्रेस कार्यालयको प्रतिवेदनले जनाएको छ । 

 “यो रक्तपातपूर्ण रात हो । विनाशको हदलाई हेर्नुहोस्”, हमासद्वारा सञ्चालित सरकारी मिडियाका कर्मचारी सलामा लारुफले भन्नुभयो । 

गत अक्टोबरमा दक्षिणी इजरायलमा हमासको अभूतपूर्व आक्रमणबाट गाजामा युद्ध सुरू भएको हो । एएफपीको तथ्याङ्कअनुसार घटनामा एक हजार एक सय ६० नागरिकको ज्यान गएको थियो । 

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार हमासलाई समाप्त पार्न इजराइलको प्रतिशोधात्मक सैन्य अभियानमा कम्तीमा ३१ हजार पाँच सय ५३ व्यक्तिको ज्यान गएको छ । 

गाजाका २४ लाख बासिन्दाले शरण लिएको रफामा इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शुक्रबार सैन्य कारबाही गर्ने योजना स्वीकृत गरेको बताएपछि थप रक्तपातको त्रास फैलिएको छ । यद्यपि कुनै योजना सञ्चालन हुनुअघि नै हवाई आक्रमण जारी छ । शनिबार बिहान हवाई आक्रमणमा परी मस्जिदका मुएजिन इस्सा दुहैर र उनका दुई छोराले ज्यान गुमाएका थिए । 

मध्यगाजास्थित नुसेरतमा भएको हवाई आक्रमणमा परी ज्यान गुमाएका आफ्ना ३६ सदस्यको सङ्ख्या बढ्दो रहेको युसेफ तबातिबीले बताउनुभयो । “घटनामा परेका केहीलाई हामीले अझै उद्धार गर्न सकिरहेका छैनौँ, हामीसँग उद्धार गर्ने उपकरणको अभाव छ”, धुलो हात टकटक्याउँदै उहाँले भन्नुभयो ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ७ : २५ बजे