सुनको मूल्यमा नयाँ कीर्तिमान

प्रधानमन्त्रीलाई विश्वासको मत दिन नागरिक उन्मुक्तिको ह्वीप

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं संसदीय दलकी नेता रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा मतदान गर्न ह्वीप जारी गर्नुभएको छ ।

उहाँले बुधबार बस्ने भनिएको प्रतिनिधि सभा बैठकमा चार जना सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिनुभएको छ ।

‘मिति २०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्वीप जारी गरिएको ब्यहोरा अनुरोध छ ।’ पत्रमा भनिएको छ ।

सरकारमा जाने/नजाने विषयमा पार्टीमा विवाद भइरहेका बेला अध्यक्ष श्रेष्ठले ह्वीप जारी गर्नुभएको हो ।

उहाँका श्रीमान् रेशम चौधरी संघ सरकारमा नजाने र कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने अडानमा हुनुहुन्छ भने रञ्जिता एमाले-माओवादी गठबन्धनमा जाने पक्षमा हुनुहुन्छ । जसका कारण उहाँहरूबीच चर्को मतभेद हुँदै आएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ८ : ५५ बजे