सुनको मूल्यमा नयाँ कीर्तिमान

सत्ता गठबन्धन २०८४ सालको चुनावसम्मै रहन्छ : ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले-माओवादीसहितको वर्तमान सत्ता गठबन्धन २०८४ सालको चुनावसम्मै कायम रहने बताउनुभएको छ । यस्तै सकारात्मक अवस्था रहिरहे भविष्यमा वामपन्थी एकतासमेत हुने उहाँले बताउनुभयो ।

प्रेस चौतारी नेपाल कैलालीले आइतबार धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले अहिलेको गठबन्धन विधिसम्मत र सकारात्मक हिसाबले बनेको जिकिर गर्दै काँग्रेससहितको गठबन्धन टुट्नु नै महत्त्वपूर्ण रहेको बताउनुभयो ।

नयाँ गठबन्धनमा मन्त्रालय भागबण्डा गर्दा एमालेले कुन–कुन मन्त्रालय पायो भन्ने कुरा महत्त्वपूर्ण नभएको बताउँदै पोखरेलले भन्नुभयो, ‘यही नयाँ गठबन्धनलाई सकारात्मक ढंगले अगाडि बढाउनुपर्छ भनेर लागेका छौँ । अवाञ्छित ढंगले खडा गरिएको काँग्रेससहितको गठबन्धन टुट्न सकारात्मक कुरा हो । सरकारमा कुन र कति मन्त्रालय पाउँछौँ भन्ने कुरा महत्त्वपूर्ण होइन ।’

‘१० पुस २०७९ मा बनेको अहिलेकै गठबन्धन दुर्भाग्यबस टुटेको थियो । तर अहिले हामी फेरी त्यही ठाउँमा पुगेका छौँ । मुलुकलाई सकारात्मक दिशातर्फ लैजान पहल सुरु भएको छ,’ पोखरेलले भन्नुभयो ।

काँग्रेससँगको गठबन्धन टुटेपछि नयाँ ढंगले राजनीति अघि बढेको बताउँदै उहाँले यो गठबन्धन अगामी २०८४ को निर्वाचनसम्मै कायम रहने दाबी गर्नुभयो । संरचनागत ढंगले अघि बढ्ने क्रममा भविष्यमा यस्तै अवस्था भए वामपन्थी एकताको कुरा पनि हुनसक्ने भए पनि अहिले नै त्यो बारेमा नसोचेको उहाँको भनाई थियो । 

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १२ : ३१ बजे