‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पाकिस्तानको १४ औं राष्ट्रपतिमा जरदारी

काठमाडौं । पाकिस्तानको १४ औं राष्ट्रपति पदमा आसिफ अली जरदारी निर्वाचित हुनुएको छ ।

शनिबार भएको निर्वाचनमा इमरान खान समूहका उम्मेदवार महमूद खान अचकजाईलाई पराजित गर्दै जरदारी राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो । जरदारीले ४११ मत पाउनुभयो भने अचकजाईले ११८ मत मात्रै पाउनुभयो ।

नवाजको पार्टी पीएमएल–एन र बिलावलको पार्टी पीपीपीले मिलेर आसिफ अली जरदारीलाई उम्मेदवार बनाएको थियो ।

जरदारी सन् २००८ मा पनि राष्ट्रपति बन्नुभएको थियो । इमरान समर्थक एसआईसी पार्टीले महमूद खान अचकजाईलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।

राष्ट्रपति निर्वाचनमा मतदानका क्रममा पाकिस्तानको राष्ट्रिय सभाका केही सदस्यले इमरान खान जिन्दावादको नारा लगाएका थिए ।

जरदारीले आफ्नो पार्टी पीपीपीसहित नवाजको पार्टी पीएमएल–एन र ३ अन्य पार्टी एमक्यूएम–पी, बीएपी, आईपीपीको समर्थन पाउनुभएको थियो ।

मौलाना फजल–उर–रहमानको पार्टीले आम निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै संसदसँग सम्बन्धित सबै निर्वाचन बहिष्कार गरेकाले राष्ट्रपतिको निर्वाचनमा भाग लिएन ।

पाकिस्तानी मिडिया द डनका अनुसार नयाँ राष्ट्रपतिले आइतबार सपथ लिनुहुनेछ । यसअघि शुक्रबार राष्ट्रपति आरिफ अल्वीलाई गार्ड अफ अनरसहित पदबाट बिदाइ गरिएको थियो ।

जरदारी को हुन् ?

आसिफ अली जरदारी पाकिस्तानका पूर्वराष्ट्रपति हुनुहुन्छ । उहाँ देशको पहिलो महिला प्रधानमन्त्री बेनजिर भुट्टोका पति र पीपीपी अध्यक्ष बिलावल भुट्टोका पिता हुनुहुन्छ । जरदारी भ्रष्टाचार, बैंक घोटाला, अपहरण र हत्याको आरोपमा करिब साढे आठ वर्ष जेल बस्नुभएको थियो ।

बेनजिरले आफ्नो राजनीतिक इच्छामा जरदारीलाई पार्टीका नेताको रूपमा आफ्नो उत्तराधिकारीको रूपमा नाम दिनुभएको थियो । २००७ मा भुट्टोको हत्या पछि, नवाजको पार्टीले पीएमएल–एनसँग गठबन्धनमा चुनाव लड्यो र जनरल परवेज मुशर्रफलाई सत्ताबाट हटायो । यसपछि जरदारी ६ सेप्टेम्बर २००८ मा पाकिस्तानको राष्ट्रपति बन्नुभएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ८ : ५५ बजे