साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

बाँसबारी प्रकरणमा तानिए कांग्रेस सांसद विनोद चौधरी, बयान लिने सीआईबीको तयारी

काठमाडौं । तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपिएको भन्दै अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रतिनिधिसभा सदस्य समेत रहेका चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई पनि अनुसन्धानको दायरामा तानेको छ ।

सीआईबीले नेपाली कांग्रेसका सांसद चौधरीको बयान लिने तयारी गरेको छ । बाँसबारीको सरकारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले चौधरीको बयान लिने तयारी गरेको हो । सीआईबी प्रमुख किरण बज्रचार्यले आइतबार वसन्त चौधरी, गंगादेवी चौधरी र महेशकुमार अग्रवाललाई वयानमा बोलाउने तयारी भइरहेको जानकारी दिएकी छन । त्यस लगत्तै सांसद चौधरीसँग बयान लिने तयारी भइरहेको उनले जानकारी दिएकी छन् । बाँसबारीमा चौधरीको समेत दुई सय कित्ता शेयर रहेको प्रमाण सार्वजनिक भइसकेको छ ।

गत माघ १८ गते सीजी होल्डिङ्ग्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीसहित तीन जनालाई पक्राउ गरेर सीआईबीले बाँसबारी जग्गा प्रकरणमा औपचारिक अनुसन्धान अघि बढाएको थियो । अरुण चौधरी ग्रुपका अध्यक्ष विनोदका भाइ हुन् । अरुणसहित त्यसबेला पक्राउ परेका तीन जना हाजिरी जमानीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएपछि छुटे पनि सीआईबीले यो प्रकरणको अनुसन्धान जारी राखेको छ । त्यही क्रममा चौधरी ग्रुपका अध्यक्ष विनोद, उनका भाइ वसन्त चौधरी, आमा गंगादेवी चौधरी र भिनाजु महेशकुमार अग्रवाल पनि अनुसन्धानको दायरामा तानिएका हुन् ।

चौधरी परिवारमाथि बांसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा कीर्ते र ठगी गरेर हडपिएको आरोप छ । चौधरी अहिले दुवईमा छन् । उनी आइतबार फर्केलगत्तै बयानमा बोलाउने तयारी छ ।

२०४३ भदौ १३ गते कारखाना सञ्चालक समितिको ४०१ औँ बैठकले त्यसबेला विनोदसहित चौधरी परिवारका सदस्यहरूले खोल्न लागेको प्रस्तावित कम्पनी, च्याम्पियन फुटवेयर लिमिटेडको नाममा २५ प्रतिशत शेयर लगानी गर्ने र आफ्नो नाममा रहेको १० रोपनी जग्गा फुटवेयरलाई बिक्री गर्ने निर्णय गरेको थियो । 

सञ्चालक समितिको निर्णयका आधारमा कारखानाको स्वामित्वमा २ हजार कित्ता, लुनकरणदास चौधरीको २१ सय, विनोद चौधरी, अरुण चौधरी, वसन्त चौधरी र महेशकुमार अग्रवालको २००–२०० कित्ता तथा गंगादेवी चौधरीको नाममा १०० कित्ता शेयर रहेको देखाएर २०४३ साल कात्तिक २७ गते उद्योग विभागमा च्याम्पियन फुटवेयर लिमिटेड दर्ता गरिएको थियो ।

२०४३ पुस ३० गते नेपाल औद्योगिक विकास निगमको परियोजना छनोट समितिको बैठकबाट फुटवयेरको नाममा प्रति वर्ष १० लाख जोर क्यानभास जुत्ता उत्पादन गर्ने क्षमताका लागि २ करोड ७५ लाख रुपैयाँ र शेयर अन्डरराइटबापत ३९ लाख ७५ हजार रुपैयाँ ऋण दिने निर्णय गरिएको थियो । त्यसपछि सरकारको अनुमतिबेगर २०४४ भदौ ५ गते मालपोत कार्यालयले कारखानाको नाममा रहेको ६ रोपनी सरकारी जग्गा फुटवयेरको नाममा रजिस्ट्रेसन पास गरेको थियो । फेरि २०४४ मंसिर १८ गते पनि सरकारको अनुमति नलिई कारखानाको नाममा रहेको थप ४ रोपनी सरकारी जग्गा मालपोतले फुटवयेरको नाममा रजिस्ट्रेसन पास गरिदिएको कागजातले देखाउँछन् ।

त्यसबीच फुटवेयरले तीन वर्ष मात्र जुत्ता उत्पादन गरेर त्यसपछि उत्पादन बन्द गरेको थियो । जुत्ता उत्पादन हुन छाडेपछि २०५१ वैशाख १ गते फुटवेयरमा रहेको कारखानाको शेयर अर्थ मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयको नामसारी गरिएको थियो। तर त्यहीबीच, २०५२ साउन ११ गते त्यो शेयर चौधरी ग्रुपकै सदस्य अरुण चौधरीलाई ३६ लाख रुपैयाँमा बिक्री गरिएको भेटिएको थियो ।

फुटवेयरमा सरकारको नाममा रहेको शेयर हात पारेपछि चौधरीले २०५४ साल पुस ४ गते फुटवेयरलाई लिमिटेडबाट निजी कम्पनी अर्थात् ‘प्राइभेट लिमिटेड’ बनाएका थिए । त्यसपछि फुटवेयरको नाम पनि परिवर्तन गरेर सीजी चाँदबाग रेसिडेन्सी प्रालि बनाइएको थियो । यो प्रालिमा अहिले अरुण चौधरी, उनकी श्रीमती शीला चौधरी र सञ्जय ठाकुरको स्वामित्व छ । स्वामित्व उनीहरूको देखिए पनि त्यहाँ विनोद चौधरीले नेतृत्व गर्ने चौधरी ग्रुपको ‘सिस्टर अर्गनाइजेसन’ का रूपमा रहेको सीजी एजुकेसनले चाँदबाग स्कुल सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ७ : १७ बजे