‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

गाजामा १०० जना मारिएपछि इजरेलको अन्तर्राष्ट्रिय आलोचना

गाजामा राहत सामग्री प्राप्त गर्ने प्रयासमा रहेका कम्तीमा ११२ जना मारिएको र ७६० जना घाइते भएको बताइएको छ।

एउटा ठूलो भीड गाजाको दक्षिण पश्चिमी तटीय सहरमा राहत सामग्री बोकेका ट्रकहरूको लस्करतर्फ अघि बढेको थियो। उक्त स्थानमा इजरेली सैन्य ट्याङ्कहरू पनि थिए।

इजरेलको सेनाले आफ्ना ट्याङ्कहरूले गोली चलाएको तर ट्रकहरूको लस्करमा आक्रमण नगरेको बताएको छ। कतिपय प्यालेस्टिनी नागरिकहरूले इजरेली फौजले आफूहरूमाथि गोली चलाएको आरोप लगाएका छन्।

एक जना प्यालेस्टिनी प्रत्यक्षदर्शीले ड्राइभरहरूले राहत सामाग्री बोकेका लरीहरू अघि बढाउन खोज्दा किचिएर धेरै जनाको ज्यान गएको  बताए।

इजरेलले खिचेको हवाई दृश्यमा सयौँ मानिसहरू लरीको आसपास भएको देखिएको छ। कतिपय भिडिओहरूमा राहत सामग्री बोक्ने रित्ता लरीहरू र गधाले तान्ने गाढामा मानिसहरूको शव बोकिएको जस्ता विचलित बनाउने दृश्य देखिएका छन्।

इजरेलमा हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले मृतक र घाइतेको सङ्ख्या पुष्टि गर्दै इजरेल माथि “नरसंहार”को आरोप लगाएको छ।

यो घटनाबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌ले एउटा बैठक आह्वान गरेको छ।

खानेकुरा लिनका लागि आतुर भीड माथि “इजरेली सेनाले गोली चलाएको घटना अनुचित” भएको फ्रान्सले बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले घटनाबारे चिन्ता व्यक्त गर्दै यस्ता गतिविधिले युद्धविरामका लागि भइरहेका पहल बिथोल्ने बताएका छन्।

स्वास्थ्य सहयोग उपलब्ध गराउँदै आएको एउटा परोपकारी संस्था एमएसएफले घटनालाई “विध्वंसकारी” भन्दै तत्काल “दिगो युद्धविराम”का लागि आह्वान गरेको छ।

गाजामा हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले युद्धमा मारिने मानिसहरूको पछिल्लो सङ्ख्या सार्वजनिक गर्नुभन्दा केही घण्टा अघि मात्रै यो घटना भएको हो।

हमासका अनुसार युद्धमा ३० हजार मानिसहरूको मृत्यु भैसकेको छ।

यसैबीच संयुक्त राष्ट्रसङ्घले करिब ३,००,००० मानिसहरूको बसोबास रहेको गाजाको उत्तरी क्षेत्रमा भोकमरीको जोखिम रहेको चेतावनी दिएको छ।

गत अक्टोबर ७ मा हमासले इजरेली भूमिमा प्रवेश गरेर गरेको आक्रमणमा १,२०० जनाभन्दा बढी मृत्यु हुनुका साथै २५३ जना बन्धक बनाएपछि इजरेलले गाजाका विभिन्न क्षेत्रमा हमास लक्षित स्थल आक्रमण गरिरहेको छ। -बीबीसी 

 

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ९ : २२ बजे