साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पिच गरेको १५ दिनमै उक्कियाे  पूर्व पश्चिम लोक मार्ग कञ्चनपुर –कमला ४ लेन सडककाे कालोपत्रे

​​​​​​​सिराहा । पूर्व पश्चिम लोक मार्गको कञ्चनपुर –कमला ४ लेन सडकको कालोपत्रे ठाउँ ठाउँमा उप्किन थालेको छ । कम्तीमा १२ वर्षसम्म नभत्किने ग्यारेन्टी भनिएको सडक कालोपत्रे गरिएको १५ दिनमै धाँजा फाट्न थालेपछि स्थानीय बासिन्दाहरूले कमसल काम गरिएको टिप्पणी गर्न थालेका छन् ।  चाइना रेल्वे नं. २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले निर्माण गरिरहेको  कालोपत्रे सडकमा धाँजा फाट्ने मात्र नभई खण्ड खण्डमा कैयौँ किलोमिटरमा  जोल्डिङ्ग (बम्पिङ्ग) हुन थालेको हाे ।

धनगढीमाई नगरपालिका वडा नं. १० मुसहर्निया गाउँ क्षेत्रमा कालोपत्रे गरिएको एक साता भित्रै धाँजा फाटेको देखियो । कन्सलट्यान्ट कार्यालय लहान र आयोजना निर्देशनालय मिर्चैयाले रिपोर्ट गरेपछि चाइनिज कम्पनीले धाँजा फाटेको स्थानमा कालोपत्रे काटेर पुनर्निर्माण ग¥यो तर तीन पटक मर्मत गर्दा पनि सो स्थानमा पुन कालोपत्रे चर्किएको छ । त्यसैगरी २७ नं. कलभर्टदेखि जिरो माइलसम्म गरिएको कालोपत्रे सडकमा बम्पिङ्ग ( जोल्डिङ्ग ) देखिएको छ । स्थानीय पत्रकार आशिष विश्वकर्मा भन्छन् , सो क्षेत्रमा गाडी चलाउँदा ग्राभेल सडक जस्तै जोल्डिङ्ग हुन्छ । अन्तर्राष्ट्रिय मान्यता अनुसार कालोपत्रे सडकमा ३ एमएम भन्दा बढी बम्पिङ्ग हुन हुँदैन । तर जिरोमाइल सडकको नयाँ कालोपत्रेमा १५ देखि २० एमएमसम्मको बम्पिङ्ग छ । 

​​​​​​​

त्यसैगरी मिर्चैया नगरपालिका र  कर्जन्हा नगरपालिका क्षेत्रमा पनि ठाउँ ठाउँमा सडकमा धाँजा फाटेको देखिन्छ । कालोपत्रे निर्माण गरेको एक साता भित्रै सडक चर्केको देखिन थालेपछि चाइनिज कम्पनीको व्यापक आलोचना हुन थालेको छ । सडक चर्केको स्थान वगहा गाउँ नजिक चाइनिज कम्पनीले सडक भत्काएर टालटुल गर्न थालेको छ । 

मिर्चैयाका पत्रकार विनय आजाद भन्छन्-  ‘४ लेनको सडकको मध्यभागमा लगाइएको डिभाइडरको कर्व स्टोन पनि धेरै स्थानमा बाङ्गोटिङ्गो लगाइएको छ । कालोपत्रेको जोर्नीहरू मिलेका छैनन् । वर्षाको पानी रसाएर कालोपत्रे चाँडै भत्किन सक्छ । नियमनकारी निकायले सूक्ष्म तथा प्रभावकारी अनुगमन गर्न आवश्यक छ । आजादले भने नयाँ कालोपत्रे सडक टालटुल पारेको हालतमा नेपाल सरकारले बुझिलिन मिल्दैन । 

यस सम्बन्धमा आयोजना निर्देशनालय मिर्चैया युनिटका प्रोजेक्ट मेनेजर उज्ज्वल श्रेष्ठ भन्छन् मेटेरियल र उपकरणमा समस्या छैन ।  पूर्ण गुणस्तर कायम गरिएको छ । हामी अनुगमन र निरीक्षण गरिरहेका छौँ ।  धेरै प्रकारले गुणस्तर परीक्षण पनि गरिएको छ ।  केही चाइनिज टेक्निसियनहरु अदक्ष ( सिकारु ) परेकोले केही भागमा कालोपत्रे बिग्रिएको छ । त्यस्ता अदक्ष कामदारहरू हटाइएको छ । बिग्रिएको भाग भत्काएर पुन निर्माण गर्ने चाइनिज कम्पनीले आश्वस्त पारेको छ ।  

प्रोजेक्ट मेनेजर श्रेष्ठले सर्त अनुसार सडक नेपाल सरकारलाई हस्तान्तर गरेपछि पनि एक वर्ष मर्मत सुधार र ५ वर्षसम्म आवश्यक मेन्टिनेन्सको जिम्मेवारी चाइनिज कम्पनीको रहन्छ । त्यसकारण कमसल र गुणस्तरविहीन काम हुने डर मान्नु पर्दैन । सडक धाँजा फाट्नु र चर्कनुको कारणको अध्ययन भइरहेको श्रेष्ठको भनाइ छ । उनले भने अहिलेलाई कालोपत्रेको काम रोकेका छौँ । प्राविधिक रूपमा आश्वस्त भएपछि मात्र थप कालोपत्रे गरिने छ । 

पहिलो परत कालोपत्रे माथि दोस्रो परत थप्दा बीचमा अलकत्राको लेयर पातलो हालेको वा हाल्दै नहालेको कारण कालोपत्रे चर्केको स्थानीयहरूको भनाइ छ । यता ठेकेदार पक्षले पनि अलकत्राको मात्रा (लेयर) बढाउनु पर्ने भएकोले रकम थप गर्न नेपाल सरकारसँग माग गरेको बुझिएको छ । तर आयोजना निर्देशनालय मिर्चैयाले रकम थप्न नमिल्ने जवाफ दिएको छ ।        

एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकारले निर्माण गर्न लागेको सडक चाइना रेल्वे नं. २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले सडक निर्माणको ठेक्का लिएको हो । कञ्चनपुर –कमला सडक खण्ड ४७.४०० किलोमिटर लम्बाई रहेको छ ।  कुल ८ अर्ब ३८ करोड ९९ लाख ६८ हजार ७ सय ३७ रुपैयाँमा ठेक्का कबोल गरेको चाइना कम्पनीले नेपाल सरकारसँग २५ जुन २०२० मा सम्झौता गरेको थियो । २८ अक्टुवर २०२३ मा सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेर सडक नेपाल सरकारलाई हस्तान्तर गर्ने सर्त भए पनि चाइना कम्पनीले तोकिएको मितिमा काम सम्पन्न गर्न सकेन । त्यसपछि २७ डिसेम्बर २०२४ सम्मका लागि पहिलो पटक म्याद थप गरिए पनि हालसम्म मात्र ४६.२ प्रतिशत मात्र निर्माण कार्य सम्पन्न भएको आयोजना निर्देशनालय मिर्चैयाले जानकारी दिएको छ । अहिलेकै गतिमा काम भइरहेमा अबको १० महिनामा ५४ प्रतिशत काम सम्पन्न हुनेमा आयोजना निर्देशनालय मिर्चैयाका प्रोजेक्ट मेनेजर श्रेष्ठले शङ्का व्यक्त गरेको छन् । उनी भन्छन् ४ लेन कालोपत्रेको काम सम्पन्न भए पनि बजार क्षेत्रमा निर्माण हुने  ११ किलोमिटर सर्भिस लेन सम्पन्न गर्न भने थप समय लाग्ने देखिन्छ ।  

सडक निर्माण गर्न तीन तहको संरचना बनाइएको छ । निर्माण कार्य गर्न ठेक्का लिने पक्ष चाइनिज कम्पनी छ । अनुगमन तथा निरीक्षण गर्ने जिम्मा कन्सल्टेन्ट निकाय छुट्टै छ । अनुगमन कन्सल्टेन्टमा  कुन्हा इन्जिनियरिङ एन्ड कन्सलटेन्टिङ्ग साउथ कोरिया, विसिएल एसोसियट बङ्गलादेश र टिएनएस नेपाल  रहेका छन् । समन्वय र भुक्तानी गर्ने पक्ष नेपाल सरकारको सडक डिभिजन आयोजना  निर्देशनालय रहेको छ ।  

सडक निर्माण कार्यमा ढिलाइ भएकोमा चाइनिज कम्पनी र स्थानीय बीच तनाव बढेको छ । निर्माणाधीन सडकमा धूलो उडेर घर तथा पसलहरूमा बस्नै नसकिने वातावरण सृजना भएको भन्दै केही व्यक्तिहरूले गत माघ २१ गते मिर्चैयामा एक वरिष्ठ चिनियाँ अधिकारीलाई कुटपिट गरिदिए । घटना भएको दिनदेखि नै असुरक्षा भएको भन्दै ती अधिकारी चीन फर्किए । यता सडक निर्माण कार्यमा पनि झन् सुस्ता आएको छ । चिनियाँहरूले कुटपिट र हुलहुज्जत गर्नेहरू उपर कानुनी कारबाही नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म वरिष्ठ इन्जिनियरहरू कार्यक्षेत्रमा नफर्किने भएका छन् । स्थानीय प्रशासन र प्रहरीले आफूहरूको गुनासो नसुनेको चिनियाँहरूको भनाइ छ । 

आयोजना निर्देशनालयका मिर्चैयाका प्रोजेक्ट मेनेजर श्रेष्ठ भन्छन् नदीजन्य मेटेरियल आपूर्ति अभावका कारण पनि निर्माण कार्यमा ढिलाइ भइरहेको छ । नियमानुसार ठेक्का लिएर उत्खनन गर्दा पनि चिनियाँ नागरिकहरूलाई वन मुद्दा लगाइएको छ । पक्राउ गरिएको छ । श्रेष्ठ भन्छन् चिनियाँ प्राविधिकहरू हतोत्साहित भएका छन् ।  

 

    

 

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ७ : ३७ बजे